इन्धन सम्झौता भाँड्न आयल निगमका कार्यकारी निर्देशक खड्काको गोप्य चलखेल

२०७२ मंसिर १५ । चीन सरकारलाई रुष्ट बनाएर नेपाल र चीनबीच हुनलागेको इन्धन सम्झौता रोक्ने खेल सुरु भएको छ । निकट भविष्यमा चीनको सरकारी पेट्रोलियम कम्पनी पेट्रो चाइना कर्पोरेसन र नेपाल आयल निगमबीच हुनलागेको सम्झौता भाँड्न नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले नै गोप्य चलखेल गरेको स्रोतले जनाएको छ । गत ३ गते नेपाल आयल निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय अन्तर्गतको भलबारी रुपन्देही डिपोबाट काठमाडौंमा चक्रपथ विस्तार आयोजनाको चिनियाँ निर्माण कम्पनी संघाई कन्स्ट्रक्सनको प्रयोजनको लागि काठमाडौंको हामा आयलको नाममा ‘बिलिङ’ भएर काठमाडौं आउँदै गरेको ना४ख ७१४५ नम्बरको ट्यांकर कार्यकारी निर्देशक खड्काको ग्राण्ड डिजाइनमा पक्राउ गराइएको निगम उच्च स्रोतले जानकारी दिएको छ ।

gopal khadka
चक्रपथ विस्तारको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी संघाई कन्स्ट्रक्सन र स्वयम्भू काठमाडौंको हामा आयल प्रालिबीच २०७० साल मंसिर ३० गते भएको इन्धन सम्झौताअनुसार उक्त कम्पनीलाई डिजेल उपलब्ध गराउने प्रयोजनका लागि हामा आयल प्रालिले गत कात्तिक ९ गते निगमको केन्द्रीय कार्यालयमा थानकोट डिपोमा पर्याप्त डिजेल नभएको कारण आफूहरुले संघाई कन्स्ट्रक्सनलाई डिजेल दिन नसकेको र सो कारण चक्रपथ विस्तार कार्य प्रभावित भएकोले निगमको भैरहवा डिपोबाट डिजेल उपलब्ध गराइदिन अनुरोध गर्दै निवेदन पेस गरेको थियो । डिजेल माग गर्दै लाइनमा बसेको हामा आयल प्रालिको उक्त निवेदनमा निगमका कार्यकारी निर्देशक खड्काले कात्तिक १५ गते तोक लगाउँदै भैरहवा डिपोलाई १२ हजार लिटर डिजेल उपलब्ध गराइदिन निर्देशन दिएका थिए ।

निगमबाट निवेदनमा तोक लागिसकेपछि हामा आयलले संघाई कन्स्ट्रक्सनलाई डेलिभरी दिने प्रयोजनको लागि १२ हजार लिटर डिजेल काठमाडौं ल्याउन रुपन्देहीको भलबारी डिपोमा ना४ख ७१४५ नम्बरको ट्यांकर पठाएको थियो । भलबारी डिपोमा करिब १९ दिन पालो कुरेर बसेको उक्त ट्यांकर गत ३ गतेमात्र १२ हजार लिटर डिजेल लिएर काठमाडौंको लागि हिँडेको अवस्थामा नवलपरासीको बर्दघाटबाट प्रहरीले पक्राउ गरेको थियो । स्रोतका अनुसार भलबारी डिपोमा डिजेलको रकम भुक्तानीलगायतका सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर काठमाडौं हिँडेको उक्त ट्यांकर पक्राउ गराएर कालोबजारीको झूठो प्रचार गरेर चिनियाँ कम्पनी संघाई कन्स्ट्रक्सन र चीन सरकारको बदनाम गराएर चीनसँग निकट भविष्यमा हुने इन्धन सम्झौता रोक्न कार्यकारी निर्देशक खड्काले योजना बुनेको निगम उच्च स्रोतको दाबी छ । 

उक्त ट्यांकर पक्राउकाण्डमा कार्यकारी निर्देशक ‘आफैँ धामी आफैँ बोक्सी’को भूमिकामा देखिएको निगमका एक निर्देशक बताउँछन् । स्रोतका अनुसार चीनसँग इन्धन आपूर्ति सम्झौता नगरी निजी कम्पनीलाई चर्को मूल्यमा पेट्रोलियम पदार्थको आपूर्ति गरेर अर्बौँ कुम्ल्याउने योजनामा रहेका खड्काले रुपन्देहीका केही पेट्रोलियम व्यवसायीहरुलार्ई परिचालन गरेर चिनियाँ कम्पनीविरुद्ध अफवाह फैलाउने र आफ्नो स्वार्थपूर्ति गर्ने योजनाका साथ उक्त ट्यांकर पक्राउ गराएका हुन् । रातोपाटीमा खबर छ ।

प्रकाशित मिति: Tuesday, December 01, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।