डेपुटी गभर्नरका लागि कार्यकारी निर्देशकहरुको राजनीतिक दौडधुप

२०७२ पुस ६ । नेपाल राष्ट्र बैंकमा अहिले रहेका दुई जना डेपुटी गभर्नरले अवकाश पाउन लागेसंगै नयाँ डेपुटी गभर्नर बन्नको लागि १६ जना कार्यकारी निर्देशकको दौडधुप चलेको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्त त्रिलोचन पंगेनीका अनुसार यही पुस ९ गते राष्ट्र बैंकका दुई डेपुटी गभर्नर गोपाल प्रसाद काफ्ले र महाप्रसाद अधिकारीले अवकास पाउने भएका छन्। 

अहिले राष्ट्र बैंकमा १६ जना कार्यकारी निर्देशक छन् । सबै कार्यकारी निर्देशक डेपुटी गभर्नरका लागि बराबर योग्य भएपनि १० जना जति कार्यकारी निर्देशकहरु राजनैतिक पहुँच भएका मानिन्छन्। अहिले १० जना  कार्यकारी निर्देशकहरु डेपुटी गभर्नर बन्नको लागि राजनैतिक भेटघाटमा सक्रिय भएका छन्। 

कार्यकारी निर्देशक मध्येबाट गभर्नरले चार जनाको नाम डेपुटी गर्भनरका लागि सिफारिस गर्छन् । गभर्नरले सिफारिस गरेकामध्ये २ जनालाई मन्त्रिपरिषद्ले नियुक्ति गर्नुपर्ने कानूनी व्यवस्था छ ।पाँच वर्षअघि डेपुटी गभर्नरहरु काफ्ले र अधिकारी क्रमशः कांग्रेस र एमालेको कोटाबाट डेपुटी गभर्नरमा नियुक्ति भएका थिए ।

यस वर्ष  सरकारमा एमाले रहेको छ भने गभर्नर कांग्रेस निकट मानिन्छन्। गभर्नर र अर्थमन्त्रीबीच सहमति हुन नसके डेपुटी गभर्नर नियुक्ति केही समय लम्बिन सक्छ। बिशेषगरी अहिले कांग्रेस र एमालेमा पहुँच भएका निर्देशकहरु डेपुटी गभर्नर बन्नको लागि दौडधुप गरिरहेका छन्। 

कार्यकारी निर्देशकहरुमध्ये त्रिलोचन पंगेनी, नारायण पौडेल, शिवनाथ पाण्डे र बिनोद आचार्य कांग्रेस निकट मानिन्छन्। अहिलेका कार्यकारी निर्देशकहरु मध्ये ज्येष्ठताका आधारमा त्रिलोचन पंगेनी सबैभन्दा अघि छन् भने शिवनाथ पाण्डे कनिष्ठ मानिन्छन्। तर डेपुटी गभर्नर पद ज्येष्ठताका आधारमा नभई राजनैतिक पहुँचका आधारमा चयन हुने पद हो। 

गभर्नर कांग्रेस निकट भएकाले त्रिलोचन पंगेनी, नारायण पौडेल, शिवनाथ पाण्डे र बिनोद आचार्य गभर्नरको प्राथमिकतामा रहेको स्रोतले बताएको छ। तर कार्यकारी निर्देशकमध्येबाट गभर्नरले चार जनाको नाम डेपुटी गर्भनरका लागि सिफारिस गर्ने र त्यसबाट  २ जनालाई मन्त्रिपरिषद्ले नियुक्ति गर्नुपर्ने कानूनी व्यवस्था रहेकोले एमाले निकट निर्देशकहरु डेपुटीमा नियुक्त हुने उत्तिकै संभावना रहेको छ। 

अहिले अर्थमन्त्री एमालेका बिष्णु पौडेल रहेका छन्।  डेपुटी गभर्नर नियुक्तिमा अर्थमन्त्रीको पनि महत्वपूर्ण भुमिका रहने गर्दछ। कार्यकारी निर्देशकहरु चिन्तामणि शिवाकोटी, भिष्मराज ढुंगाना, लक्ष्मी प्रपन्न निरौला  र जनकबहादुर अधिकारी एमाले निकट मानिन्छन्। निर्देशक शिवाकोटी प्रधानमन्त्री केपि शर्मा ओली निकट छन् भने अधिकारी माधव नेपाल निकट मानिन्छन्।

त्यस्तै सत्ता साझेदार एकिकृत नेकपा माओवादीले पनि डेपुटी गभर्नरको माग गरिरहेको छ। कार्यकारी निर्देशकहरु मध्ये डा. मिन बहादुर श्रेष्ठ एकिकृत नेकपा माओवादी निकट मानिन्छन्। त्यस्तै पिएचडी गरेका कार्यकारी निर्देशकहरुमध्ये  मिनबहादुर श्रेष्ठ पनि एक हुन्।  साथै डा. बिनोद आत्रेय र डा. शंकर प्रसाद शर्माले पनि पीएचडी गरेका  छन्। 

नरबहादुर थापा, हरिप्रसाद काफ्ले, महेश भट्टराई, शिवराज श्रेष्ठ, जनक बहादुर अधिकारी, डा. शंकर प्रसाद शर्मा, राजन बिक्रम शाह भने खुलेर राजनीतिमा नआएका कार्यकारी निर्देशकरुमा पर्दछन्। 

अहिले को कुन बिभागमा कार्यकारी निर्देशमा कार्यरत छन्?
१‍. त्रिलोचन पंगेनी - गभर्नर कार्यालय कार्यकारी निर्देशक तथा प्रवक्ता
२. नारायण पौडेल -  बैंक सुपरिबेक्षण बिभाग
३. शिबनाथ पाण्डे- नियमन बिभाग
४. डा बिनोद आत्रेय -लघुबित्त प्रबर्धन तथा सुपरिबेक्षण बिभाग
५ . चिन्तामणी शिवाकोटी- मुद्रा व्यवस्थापन बिभाग
६. भिष्मराज ढुंगाना- बिदेशी बिनिमय व्यवस्थापन बिभाग
७ . लक्ष्मी प्रपन्न निरौला- सामान्य सेवा बिभाग
८. जनक बहादुर अधिकारी- बित्त कम्पनी शुपरिबेक्षण बिभाग
९. डा मिनबहादुर श्रेष्ठ- राष्ट्र ऋण व्यवस्थापन बिभाग
१०.  नरबहादुर थापा- अनुसन्धान बिभाग
११. हरिप्रसाद काफ्ले-  बिकास बैंक सुपरिवेक्षण बिभाग
१२. महेश भट्टराई - भुक्तानी तथा फर्छयौट बिभाग
१३. बिराज श्रेष्ठ-  जनशक्ति व्यवस्थापन बिभाग
१४. प्रदिपराज पाण्डे - बित्त व्यवस्थापन बिभाग
१५. डा शंकर प्रसाद शर्मा-  संस्थागत योजना बिभाग
१६. राजन बिक्रम शाह- बैकिङ कार्यालय बिभाग
(सेतोपाटीबाट)

प्रकाशित मिति: Monday, December 21, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।