नेपाल सरकारबाट निर्देशन पाए चाहेजति इन्धन दिन पेट्रो चाइना तयार

चीनले केरुङसम्म ढु्वानी गरिदिने 
२०७२ पुस ६ ।  पेट्रो चाइनाको सहायक कम्पनी गोरमुड आयल रिफाइनरीका पदाधिकारीले चीनको केन्द्र सरकारबाट निर्देशन आए नेपाललाई चाहेजति इन्धन दिन सकिने बताएका छन् । कारोबार दैनिकका अनुसार उनीहरुले नेपालका नाकासम्म ढुवानी गरिदिने जानकारी पनि दिएका छन् ।

बेइजिङस्थित नेपाली दूतावासका आर्थिक मामिला (इकोनोमिक मिनिस्टर) विनोद आचार्य नेतृत्वको सम्भाव्यता अध्ययन टोलीले छिन्गाईस्थित वाणिज्य विभाग र रिफाइनरीका पदाधिकारीसँग गरेको छलफलमा यस्तो आश्वासन आएको हो ।

रिफाइनरीले आफ्नै ट्यांकर र बुलेटबाट केरुङसम्म ढुवानी गरिदिने बताएको छ । यसअघि अनुदानको पेट्रोल पनि पेट्रो चाइनाले केरुङसम्म ढुवानी गरिदिएको थियो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव तथा अध्ययन टोलीका सदस्य शिव त्रिपाठीले गोरमुड रिफाइनरीले आफ्नै बुलेट र ट्यांकरबाट झण्डै १८५० किलोमिटर टाढा केरुङसम्म ढुवानी गर्ने बताए । (अनलाइनखबरबाट)


प्रकाशित मिति: Monday, December 21, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।