त्रिभुवन विश्वविद्यालय अनुत्तीर्ण हुँदै
- प्रेमराज जोशी
२०७२ पुस १६। एउटा विश्वविद्यालयको दीक्षान्त समारोह त्यसको प्रभावशालिताको प्रतिबिम्ब हो। जुन दिन विद्यार्थीमा मुख्यतः दुई कुरा हाबी हुन्छ, व्यावसायिक भविष्यको बाटो लाग्न योग्य भएको महसुस एकातिर हुन्छ भने अर्कोतिर साथीसंगी र कलेज/विश्वविद्यालयबाट अलग्गिनुपर्ने भावुकता। के यो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को हकमा पनि लागु हुन्छ?
त्रिविको ४१ औँ दीक्षान्त समारोहका दिन मेरो फेसबुक सर्कलमा एउटा बेग्लै चित्र देखिइरहेको थियो। दीक्षित हुने साथीहरूले उत्साह कम, विश्वविद्यालयप्रति आक्रोश ज्यादा पोखिरहेका थिए। कति त दीक्षित हुन जानुको अर्थ नभएकाले आफू नगएको लेखिरहेका थिए। त्यसैले होला पछिल्लो दीक्षान्त समारोहमा दीक्षित हुन योग्य ६१७१६ मध्ये जम्मा ७३४२ मात्र उपस्थित भए। आखिर त्रिविमा किन यस्तो भइरहेको छ? इतिहास, पूर्वाधार र जनशक्तिमा त्यति धेरै कमजोर नहु"दानहु"दै पनि किन विश्वविद्यालय भावनात्मक तथा विश्वासमा कमजोर बन्दै गइरहेको छ? किन विद्यार्थीमा संस्थाप्रति गर्वबोध र विश्वास छैन? त्यसो नहु"दा समग्र संयन्त्रमा के असर पर्छ?
न त परीक्षा तोकिएको समयमा हुन्छ न त नतिजा नै प्रकाशित हुन्छ! कतिसम्म भएको छ भने एउटै तहको कक्षा पनि पुरानो र नयाँ भन्दै समानान्तर चलिरहेको पाइन्छ। २ वर्षे स्नातकोत्तर पूरा हुन ५ वर्षसम्म त ३ वर्षे स्नातक ६ वर्षसम्म लागेका छन्।
हामीले पढ्न जान्ने भएदेखि अहिलेसम्म एउटा कुरा कहिल्यै छुटाएनौँ, त्यो के भने समय सबैभन्दा मूल्यवान छ। त्रिविले यो नैतिक शिक्षाको सबैभन्दा बढी खिल्ली उडाएको छ। हरेक पटक पदाधिकारी नियुक्त हुँदा होस् वा विश्वविद्यालय सिनेटको वार्षिक समीक्षा हुँदा शैक्षिक क्यालेन्डरको विषय कहिल्यै छुट्दैन। तर, व्यवहारतः कहिल्यै कार्यान्वयन पनि हुँदैन। न त परीक्षा तोकिएको समयमा हुन्छ न त नतिजा नै प्रकाशित हुन्छ! कतिसम्म भएको छ भने एउटै तहको कक्षा पनि पुरानो र नयाँ भन्दै समानान्तर चलिरहेको पाइन्छ। २ वर्षे स्नातकोत्तर पूरा हुन ५ वर्षसम्म त ३ वर्षे स्नातक ६ वर्षसम्म लागेका छन्। क्यालेन्डरको यही चक्र वैज्ञानिक नहुँदा एउटा तहबाट अर्कोमा जान अर्को एक वर्ष थप खर्च हुन्छ। अनि विद्यार्थी कलेज जान छाड्छन्, पास हुनका लागि केही महिना ट्युसन सेन्टर धाउँछन्। त्रिविको यही कमजोरीले गर्दा पूर्णकालीन विद्यार्थी हुने ठाउँ होइन यो भन्ने मानसिकता विद्यार्थीमा गडेको छ। त्रिवि ज्ञान र सीपका लागि भन्दा पनि कम्तीमा लोकसेवाका लागि सर्टिफिकेट जम्मा पार्ने ठाउँ बनेको छ।
विश्वविद्यालयको मेरुदण्ड मानिने शिक्षकले तबमात्र राम्रो प्रतिफल दिन सक्छन् जब उनीहरूमा वैज्ञानिक तवरले लगानी गरिन्छ र मर्यादित बनाइन्छ। लगानी र मर्यादित भन्ने कुरा अन्तर्सम्बन्धित पनि हुन्। त्रिविमा अहिले पार्टटाइम पढाउने शिक्षकको वर्चश्व यति धेरै छ कि उनीहरू ज्यान पाल्नकै लागि थुप्रैतिर कुद्नुपर्ने बाध्यता छ। पछिल्लो समय कलेजरूमा 'हेल्मेट टिचर' चल्तीको शब्दावली बन्न पुगेको छ। जतिसुकै खिल्ली उडाए पनि 'हेल्मेट टिचिङ' गर्नु शिक्षकको बाध्यता बनेको छ।
अभ्यासको जग नै राजनीतिक नियुक्तिको माध्यमबाट बिगारिसकेका छौँ, जसबाट न्यूनतम शिक्षणसम्मको अपेक्षा पनि गर्न सकिँदैन। उल्टै विश्वविद्यालयको गुणस्तर सबैभन्दा बढी तिनै शिक्षक र प्राध्यापकका राजनीतिले बिगारेका छन्। उनीहरूलाई पछिल्लो विश्वव्यापी लहरसँग अभ्यस्त गराउनु निकै आवश्यक छ भन्नेबारे सोचिएकै छैन।
विकसित देशका अभ्यासलाई हेर्ने हो भने, विश्वविद्यालयका शिक्षक भनेका त्यहाँका 'थिंक ट्यांक' हुन्छन्। पढाउनुसँगै उनीहरू राज्यका थुप्रै काममा सहयोगी हुनेगरी प्राज्ञिक अध्ययन र मूल्यांकनका काम गर्छन्। जस्तो, हालै नेपाल भ्रमण गरेका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) प्रमुख सिनिची किताओका जिम्मेवारीमा आउनुअघि प्राध्यापक थिए। चाहे 'सफ्ट पावर'का अवधारणाकर्ता अमेरिकी प्राध्यापक जोसेफ नाय हुन् चाहे नेपाल मामिलाका जानकार भारतीय विज्ञ प्राध्यापक एएडी मुनी, उनीहरू आफ्ना देशको नीति नै बनाउनेसम्मका हैसियत राख्छन्। चीनले त पछिल्लो समय आफ्नो विदेश नीति कार्यान्वयनमा प्राध्यापकहरूलाई अग्रमोर्चामा राख्ने गरेको छ। के हामीले हाम्रा प्राध्यापकलाई त्यसरी नै कहिल्यै हेर्यौँन त?
हामीले प्रायः त्यस्तो अभ्यासको जग नै राजनीतिक नियुक्तिको माध्यमबाट बिगारिसकेका छौँ, जसबाट न्यूनतम शिक्षणसम्मको अपेक्षा पनि गर्न सकिँदैन। उल्टै विश्वविद्यालयको गुणस्तर सबैभन्दा बढी तिनै शिक्षक र प्राध्यापकका राजनीतिले बिगारेका छन्। उनीहरूलाई पछिल्लो विश्वव्यापी लहरसँग अभ्यस्त गराउनु निकै आवश्यक छ भन्नेबारे सोचिएकै छैन। जसले गर्दा पुरातनवादी शिक्षण प्रणालीमै हाम्रा विश्वविद्यालय चलेको छ। केही विषय र क्याम्पसमा सेमेस्टर प्रणाली सुरु त गरिएको छ, तर अझै धेरैतिर वार्षिक परीक्षाकै भरमा मूल्यांकन हुन्छ। सुरु भएको केही वर्षमै सेमेस्टर लागु गरिएका विषयका क्यालेन्डरमा समेत समस्या आउन थालिसकेका छन्। यसबाट के स्पष्ट हुन्छ भने, सेमेस्टर प्रणाली फर्काउँदा राम्ररी गृहकार्य नै भएको छैन।
राम्रा विश्वविद्यालयका वेबसाइटमा सम्झनयोग्य पूर्व विद्यार्थीका सूची नै हुन्छन्, अझ दीक्षान्त मन्तव्य दिन तिनैमध्येकालाई निम्त्याइन्छ। त्यसो गर्नुको अर्थ हालका विद्यार्थी वा विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीको मनोबलसँग जोडिएको हुन्छ।
परीक्षामा नम्बर दिने वैज्ञानिक मापदण्ड नै छैन। कतिपय सामाजिक अध्ययनका विषयमा प्रथम श्रेणी नै नआइकन पनि गोल्ड मेडलिस्ट हुने गरेका छन्। मानविकीका विषयमा धेरै नम्बर त दिनै हुन्न भन्ने मानसिकताले शिक्षक ग्रसित छन्। जसले गर्दा यहाँबाट निस्किएका विद्यार्थी विदेशका राम्रा विश्वविद्यालयमा पढ्नु त परको कुरा आवेदन दर्ता गर्नका लागि समेत योग्य हुँदैनन्! लापरबाहीको हद कतिसम्म छ भने, धेरै घटनामा उत्तरपुस्तिका हराएपछि ढाकछोप गर्न सबैलाई न्यूनतम औसत अंक हालेर पठाइएका छन्।
पूर्व विद्यार्थी विश्वविद्यालयका पुँजी हुन् भन्ने त्रिविको संस्कारमै छैन। नेपालमा विश्वका विभिन्न देशका राम्रा विश्वविद्यालयमा पढेका विद्यार्थीका पूर्व विद्यार्थी समाज छन्। सार्वजनिक समारोहमा सगर्व आफू पढेको संस्थाको नाम लिन्छन् उनीहरू। विभिन्न कुनामा छरिएर उच्च ओहोदामा पुग्नु भनेको विश्वविद्यालयकै गरिमा बढ्नु हो भन्ने संस्कार उनीहरूमा रहेको देख्न पाइन्छ। त्रिवि पढेका थुप्रै व्यक्ति पनि देशविदेशमा राम्रा तह तथा ओहोदामा पुगेका छन्, तर त्रिविलाई त्यसतर्फ सोच्ने समय नै छैन। राम्रा विश्वविद्यालयका वेबसाइटमा सम्झनयोग्य पूर्व विद्यार्थीका सूची नै हुन्छन्, अझ दीक्षान्त मन्तव्य दिन तिनैमध्येकालाई निम्त्याइन्छ। त्यसो गर्नुको अर्थ हालका विद्यार्थी वा विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीको मनोबलसँग जोडिएको हुन्छ।
विश्वविद्यालयको ब्रान्ड बन्ने यसरी नै हो। ब्रान्डको अर्थ विश्वविद्यालयको उत्पादनप्रति व्यावसायिक बजारमा विश्वास बढ्नु पनि हो। पश्चिमा जगत्मा मात्र होइन अहिले भारतमै समेत राम्रा कम्पनीहरू विद्यार्थी ग्राजुयट नहुँदै आफूसँग अनुबन्धित गर्न विश्वविद्यालयसँग सहमति गर्छन् भने विश्वविद्यालय स्वयं आफ्ना उत्पादनलाई बजारसँग जोड्न खोजिरहेको हुन्छ । त्रिविको समग्र 'सिस्टम' यति नराम्रोसँग बिग्रिएको छ कि कम्तीमा केही वर्ष हामी त्यस्तो सपना देख्न पनि सक्दैनौँ।
राम्रा विश्वविद्यालयले जति ठूला सपना र लक्ष्य राख्छन् उत्तिकै ससाना कुरा पनि सोच्छन्। मार्कसिटभन्दा बाहिर विश्वविद्यालयले धेरै कुरा दिनुपर्छ भन्ने संस्कार विकास गर्न खोजिएको हुन्छ। विश्वविद्यालयको काम खासमा नेतृत्वकर्ता, विचारक, अन्वेषक जन्माउनु हो। जसका लागि मार्कसिटमा नदेखिने लगानी र वातावरण चाहिन्छ। त्रिवि भने राष्ट्रिय राजनीतिका लागि नेतृत्व विकासको शिशुकक्षा मानिने स्वतन्त्र विद्यार्थी युनियनको समेत आवधिक निर्वाचनलाई रोक्ने दाउ खोजिरहेको छ!
के बुझ्न ढिलो गर्नु हुँदैन भने, विश्वविद्यालयबाट निस्कँदा कुनै विद्यार्थी आफ्नो भविष्यको सपना देख्न सक्दैन भने त्यो विद्यार्थी होइन, विश्वविद्यालय नै अनुत्तीर्ण हुनु हो। जब हाम्रो विश्वविद्यालय नै असफलताको बाटोतर्फ लम्किन्छ, त्यहाँबाट निस्कने विद्यार्थीबाट के नै अपेक्षा गर्न सकिन्छ र!
(सौजन्य: नागरिक दैनिक)
प्रकाशित मिति:
Thursday, December 31, 2015
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।