समावेशी र समानुपातिक प्रणालीलाई स्पष्टसँग अङ्गीकार गरिएन, किन? एमाओवादीमा बहस

२०७२ मंसिर २२ । एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा नेताहरुले हिजो पनि अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आलोचनात्मक टिप्पणी राखे ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा हिजो १३ जना नेताले आआफ्ना भिन्न धारणा राखेका थिए । उनीहरुले समावेशी, समानुपातिक विषय उठाउने र त्यसलाई स्थापित गर्ने पार्टीले वर्तमान सरकारमा थारू, दलितलाई समावेश नगरेकामा केही नेताले आपत्ति प्रकट गर्दै सच्याउनुपर्ने विचार राखेका थिए ।
किन समावेशी र समानुपातिक प्रणालीलाई स्पष्टसँग अङ्गीकार गरिएन : एमाओवादीमा बहस
नेताहरुले संविधानसभाले संविधान जारी गर्नु सफलता भए पनि सबै वर्ग तथा क्षेत्रले अधिकार प्राप्त गर्न नसकेको, तराई मधेसको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने, सङ्घीय राज्य निर्माणमा देखिएको समस्या समाधान गर्न पार्टीले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले पार्टीले वर्गीय राजनीति छाडेर अन्यत्रै लागेका, पार्टीभित्र विभिन्न खालका विकृति भित्रिएको, पार्टीको ‘चेन अफ कमान्ड’मा समस्या आएको भन्दै तत्काल सुधार गर्न माग गरेका थिए ।

आधुनिक प्रविधि, वैदेशिक रोजगार तथा अन्य कारणले समाजमा फरक–फरक वर्गको उत्थान भएको भन्दै त्यसलाई हेर्ने दृष्टिकोणसमेत परिवर्तन गर्नुपर्नेमा केही नेताहरुले जोड दिएका थिए ।

पछिल्लो दिनमा मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता सङ्कटमा परेको भन्दै केही नेताले त्यसलाई प्रस्ट पार्नुपर्ने, अध्यक्ष दाहालको प्रतिवेदनमा ती विषय थप गर्नुपर्ने मत राखेको बुझिएको छ ।

यस्तै पार्टीलाई नयाँ आधारमा अगाडि बढाउनुपर्ने, एमाओवादी नै नयाँ शक्ति भएकाले नयाँ योजना र कार्यक्रम ल्याएर जनतामा उत्साह थप्नुपर्ने समेत केन्द्रीय सदस्यहरुको जोड थियो ।

हिजोको बैठकमा धर्मदत्त देवकोटा, पूर्णा सुवेदी, हकिकुल्ला खाँ, प्रल्हाद बुढाथोकी, दिपेन्द्र पुनलगायतले अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गरेका थिए । बैठक आज सोमबार पुनः बस्दै छ ।
साभार: इसमता ।

प्रकाशित मिति: Tuesday, December 08, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।