बाबुकै साथीबाट लुटिएकी १४ वर्षीया सिम्पल

  • भवानी अधिकारी 
स्याङ्जा । २०७२ पुस १ ।  बाबुको साथी होमबहादुर थापाबाट गर्भवती भएकी १४ वर्षीया किशोरी-आमा महिना दिनको काखे नानी च्यापेर न्याय खोज्दै अदालत पुगेकी छन्।

छोरो जन्मेको ३४ दिन पुग्दा पनि बाबु सम्पर्कमा नआएपछि पिता कायम गरी न्वारान गरिपाउन र माना चामलको व्यवस्था गर्न भन्दै क्याक्मी गाविस-८ देउरालीकी किशोरी सिम्पल राना अदालत पुगेकी हुन्।सिम्पलले कात्तिक २ गते छोरा जन्माएकी थिइन्। 

छोराको न्वारान गर्न र सुत्केरी स्याहार्न आउँछु भनेर फोनमार्फत जानकारी गराएका ४२ वर्षे होमबहादुर थापा घरमा नआएपछि आफू अदालतको शरणमा आउनुपरेको उनले बताइन्। सिम्पल आफ्ना ३१ वर्षीय पिता चोकबहादुर रानासँगै भारतमा बस्थिन्। 

होमबहादुर पनि सिम्पलका पितासँगै भारतस्थित एउटै कम्पनीमा काम गर्थे। दुवैजना साथी भएका कारण कोठामा आउनेजाने क्रम चलिरहन्थ्यो। 'बाबाको साथी बाबाजस्तै लाग्थ्यो, कहिलेकाहीं मिठाई र राम्राराम्रा लुगा पनि ल्याइदिनुहुन्थ्यो', सिम्पलले भनिन्, 'खानेकुरा र कपडा मैले लिन्थें र खान्थें तर म आज संकटमा फसें।'

सिम्पलले कोठामा बाबा नभएको समयमा आफूमाथि करणी भएको बताइन्। गर्भवती भएको दुई महिनापछि वैशाखमा सिम्पल स्याङ्जा फर्केकी थिइन्। 'म घर आएपछि होमबहादुरलाई फोनमार्फत खबर गरें, उहाँले आउँछु भन्नुभएको थियो तर अहिले सम्पर्कमा पनि हुनुहुन्न', उनले भनिन्। सिम्पलका अनुसार तनहुँको अरुणोदय गाविसका ४२ वर्षीय होमबहादुरका पत्नी, दुई छोरी र एक छोरा छन्।

थापाको ससुराली पनि क्याक्मी हो। थापा र राना परिवार पहिलेदेखि नै परिचित थिए। सिम्पलका बाबु चोकबहादुर सन् २०१० मा पत्नी र छोराछोरीसहित रोजगारका लागि भारत पुगेका थिए। एक वर्षअघि सिम्पलकी आमाको मृत्यु भएको थियो।

'बाबासँग यी सबै कुरा भन्न सकिनँ, आमा भइदिएको भए सबै भन्थें होला', सिम्पलले रुँदै भनिन्।चोकबहादुरले अहिले सिम्पल माइतीघरमा बस्दै आएको बताए। रानाका अनुसार सिम्पल २०५८ साल फागुनमा जन्मेकी हुन्। (अन्नपूर्ण पोष्टबाट)

प्रकाशित मिति: Wednesday, December 16, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।