पूर्व प्रहरीहरुद्वारा नयाँ पार्टी खोल्ने तयारी

  • देबराज पुमा राई 
उदयपुर, मंसिर २८ । लामो समय नेपाल प्रहरीमा जागिरपछि अवकास प्राप्त पूर्व प्रहरीहरुको छाता संगठन राजनीतिक दल दर्ताको तयारीमा जुटेको छ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति उदयपुरले सोमबार सम्पन्न दोस्रो अधिवेशनमा सहभागी हुन आएका केन्द्रिय उपाध्यक्ष शेरबहादुर सुव्वाले यस्तो खुलासा गरेका हुन् ।

अधिवेशन उद्घाटन कार्यक्रमको प्रमुख अथिती आषणबाट बोल्दै उपाध्यक्ष सुब्बाले आमूल राजनीतिक परिवर्तन तथा सरकारी कर्मचारीहरुको समग्र आवाज बुलन्दित गराउन राजनीतिक पार्टी दर्ता गर्न लागिएको दाबी गरे । ‘ठूलाले सामान्य कर्मचारीको गुनासो सुन्न मानेनन्, खाली राजनीतिक दलका नेताको मात्र कुरा सुन्छन्’ सुब्बाले भने, ‘राजनीतिक शक्तिमार्फत हाम्रा माग सुनुवाई गर्न दल दर्ता गराउने प्रक्रियामा छौँ ।’

उपाध्यक्ष सुब्बाले बिधिवत दल दर्ताका लागि अहिले बिधान तयारी कार्य तीब्र रुपमा चलिरहेको बताए । पार्टी दर्तापछि बृहत रुपमा संगठनमै रहेकाहरुलाई क्रियाशील बनाई देशव्यापी रुपमा बिस्तार अभियान लैजाने उनको भनाई थियो । राष्ट्रनिर्माण र सेवाको क्षेत्रमा आफ्नो संगठनका सदस्यहरुले बहादुरीताका साथ लडेको तर, वर्तमान राज्यले समान सेवा सुविधान बितरण नगरिनु र उपयुक्त व्यवस्थापनका लागि पटक पटक छलफल गर्दा पनि सुनुवाई नभएकाले अन्य राजनीतिक पार्टीजस्तै शक्ति निर्माणको अभियानमा जुट्नु वर्तमान निर्विकल्प बाध्यता रहेको पनि उनले जिकिर गरे ।

त्यस्तै सामाजिक मेलमिलापको क्षेत्रमा ठूलो जिम्मेवारी रहदै आएपछि सरकारले नेपाली सेना र नेपाल प्रहरीका दर्जा अनुसार फरक फरक सेवा सुविधा बितरण गर्दै आएकोप्रति संगठनले आवाज उठाइरहेको उनले जानकारी दिए । त्यस्तै सरकारको पनि उचित लगानीमा कर्मचारी संचय कोष बृद्वि गरिनुपर्नेमा जोड दिएका सुब्बाले अवकास प्राप्त कर्मचारीहरुलाई आर्थिक सवल प्रवाहका लागि सहकारी तथा सुरक्षा सेवाको क्षेत्रमा व्यवसायिक लगानी गर्न आव्हान गरेका थिए ।

सदरमुकामस्थित शिक्षक संघको भवनमा आयोजित कार्यक्रममा संगठनका केन्द्रिय सदस्य प्रेमबहादुर थिङ, एमाओबादी उदयपुर सेक्रेटरी नारायण बुजामगर, राप्रपा नेपालका जिल्ला अध्यक्ष दत्तनारायण केसीलगायतको सहभागिता रहेको थियो भने ज्ञानबहादुर बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी कार्यक्रममा बिभिन्न दर्जनबढी सक्रिय सदस्यहरुलाई आजिवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

संगठन नेतृत्वमा दोहोरिए डोरनाथ
नेपाल प्रहरीको बिभिन्न पदभार सम्हाली अवकास पाइसकेको प्रहरीहरुको सामूहिक संगठन नेपाल पूर्व प्रहरी संगठन जिल्ला समिति उदयपुरको अध्यक्षमा फेरि डोरनाथ ढकाल चयन भएका छन् । सोमबार सम्पन्न दोस्रो अधिवेशनले उनलाई थप अर्को कार्यकालका लागि पनि नेतृत्वका लागि अगाडि बढाएको हो ।

ढकालसँगै उपाध्यक्ष द्वोयमा गौरबहादुर खत्री र मेघबहादुर नेपाली रहेका छन् भने सचिव शंकर बिष्ट, सहसचिव गमसरी राई, कोषाध्यक्ष डिल्लीबहादुर कटुवाल तथा सहकोषाध्यक्ष अक्कलबहादुर बाँनिया रहेको प्रतिनिधि ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै सदस्यहरुमा दिलबहादुर श्रेष्ठ, रामस्वरुप राजधामी, जुक्तमान राई, सान्ता दाहाल, बेदप्रसाद निरौला चयन भएका छन् भने अन्य तीनजना सदस्य कार्यसमितिले आगामी बैठकमा मनोनयन गर्ने बताइएको छ ।

प्रकाशित मिति: Tuesday, December 15, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।