NTC को रिचार्जमा समस्या किन?

  • भरत पाण्डेय। 
२०७२ मंसिर २२ । नेपाल टेलिकमको जिएसएम मोवाईलमा रिचार्जको समस्याले उपभोक्ता हैरान भएका छन् । देशैभरी जिएसएम मोवाईल रिचार्ज नहुँदा उपभोक्ताले हैरानी व्यहोर्नु परेको हो । 

कार्ड किनेर घण्टौँसम्म रिचार्ज गरेपनि रिचार्ज नहुँदा हैरानी व्यहोर्नुपरेको बिरगंजका व्यापारी कमल शर्माले बताए । ‘हिँजो बिहानभरी त हुँदै भएन, फोन नै गर्न पाईएन साँझ बल्लबल्ल रिचार्ज गरेँ ।’ उनले भने ‘रिचार्जका लागि कति घण्टा प्रयास गर्नु ? हैरानै भयो ।’
Nepal-Telecom-Logoरिचार्जको समस्या भएपछि अनिवार्य काम गर्न समस्या हुनुका साथै विरामी हुँदा एम्बुलेन्स मगाउन समेत समस्या भएको बुटवलका कृष्ण विकले बताए । ‘आफन्तसंग कुरा गर्न त समस्या भयो नै’ विकले भने ‘बिरामी हुदाका बेलामा एम्बुलेन्स बोलाउन नसकिने, मित्रजन आफन्त लाई खबर गर्न नसकिने अबस्था छ ।’

बिकले आफूले रिचार्ज नभएर हैरान भएपछि सञ्चारमन्त्रीलाई समेत एसएमएस पठाएको उनले बताए । ‘माननीय मन्त्री ज्यु नमस्कार, नेपाल टेलिकमको पिर्पेडमा मैले १ घन्टा मा ९८ पटक रिचार्ज गर्ने प्रयास गरे तर सफल हुन सकिन यो, समस्या देश भरिको हो ’ उनले भनेका छन् ‘इमर्जेन्सी परेर एम्बुलेन्स बोलाउन नसकिने, मित्रजन आफन्तलाई खबर गर्न नसकिने अबस्था सिर्जना भएको छ ।’

टेलिकमले भने फ्रिक्वेन्सीमा लोड बढेको कारणले गर्दा समस्या भएको बताएको छ । टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले सस्तो रिचार्जकार्ड ल्याएपछि रिचार्ज गर्नेहरुको लोड बढेकोले समस्या भएको बताईन् । ‘पहिला एकपटक रिचार्ज गरे केही समयलाई पुग्थ्यो ’ उनले भनिन् ‘अहिले सानो नोमिनेशनको निकालेपछि ठूलो नकिन्ने भएर धेरै लोड भएकोले समस्या आएको हो ।’

उनले यसको समस्या समाधानका लागि प्रयास गरिरहेको बताईन् । ‘सिस्टममा कसरि प्रोभिजन गर्ने भनेर पनि प्रयास भईरहेको छ ,’ उनले भनिन् ‘यसबाहेक ग्राहकलाई ठूलो रिचार्जकार्डको प्रयोग बढाउने गरि पनि काम गरिरहेका छौँ ।’

उनले ठूलो रिचार्जकार्डको प्रयोग बढाउनका लागि बोनस दिने गरि व्यवस्था हुन लागेको पनि बताईन् । उनले त्यसकै लागि टेलिकमले रिचार्जको नयाँ प्रविधी ‘एमपोस’ ल्याएकोले जनचेतना जगाएर त्यसको प्रयोग बढाउन लागिएको बताईन् । ‘ग्राहकहरुलाई प्रोत्साहित गर्नका लागि सञ्चारमाध्यममार्फत जनचेतना जगाउने काम पनि भएको छ ।’ उनले भनिन् ‘एमपोसबाट रिचार्ज गर्दा समस्या पनि नहुने, १० देखि ५ हजार सम्म जति मनलाग्यो त्यति रिचार्ज गर्न पनि मिल्ने पनि भएकोले यसबारे जनचेतना जगाउन लागिरहेका छौँ ।’
साभार: रातोपाटी ।

प्रकाशित मिति: Tuesday, December 08, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।