इन्स्पेक्टर राईको अर्को करामत

  • गाेविन्द पाेख्रेल।
२०७२ पुस ५ । इलाका प्रहरी कार्यालय उर्लाबारीले विभिन्न चोरीका घटनामा संलग्न आरोपीलाई पक्रन सफल भएको छ ।

शुक्रबार विहान प्रहरीले पत्रकार सम्मेलन गरी आरोपीहरू झापा तोपगाछी–७ का विक्रम लिम्बू र उनकी सहयोगी मधुमल्ला–७ की विमला लिम्बूलाई सार्वजनिक गरेको हो । चोरीकै अर्को घटनामा संलग्न भारतको जलपाइगुडी घर भई उर्लाबारी–२ मा बस्दै आएका कुमार तामाङलाई पनि सार्वजनिक गरिएको थियो । उर्लाबारी क्षेत्रमा नगद, मोबाइल तथा अन्य सामग्रीहरु चोरी गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । 
 प्रहरीले आरोपीहरुको साथबाट सात वटा सामसुङ कम्पनीका मोबाइल सेटहरू, एउटा ट्याब, १० तोला बराबरको ५ वटा चाँदीको वाला, सुनको वाला एक थान, नगद ११ हजार ६ सय रुपैयाँ, ४ थान ताल्चा, ताल्चा तोड्नका लागि प्रयोग हुने तीन थान रड पनि सार्वजनिक गरेको छ । 

पक्राउ परेका विक्रम लिम्बूले झापाको दमक, तोपगाछी तथा उर्लाबारी क्षेत्रमा चोरी गर्ने गरेको प्रहरी निरीक्षक राईको भनाई छ । गत मंसिर १८ गते प्रहरीले लिम्बूलाई झापाको तोपगाछीबाटै पक्राउ गरेको थियो । लिम्बूले साइकलको प्रयोग गरी दिनभर बजार क्षेत्रमा डुलेर राति कोही नभएको घरमा ताल्चा फोर्ने गरेको प्रहरीले जनाएको छ । लिम्बूका सहयोगी विमला लिम्बूले मानिसहरुलाई हेर्ने र चोरी गरेको समयमा सुराकी गर्ने गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका विक्रम लिम्बू शिक्षक हुन् । विहानको समयमा उनी ट्युसन पढाउने गर्छन् भने रातभर चोरी कार्यमा संलग्न रहने गरेको प्रहरीले जनाएको छ । उनीमाथि उर्लाबारी–३ स्थित मुना खड्काको घरबाट ३० हजार नगद, तोपगाछीबाट १० तोला चाँदी, झापा लखनपुर–१ का मदनकुमार राईको घरबाट साम्सुङ कम्पनीको एक थान मोबाइल, उर्लाबारी–३ का नारायण मगरको घरबाट नगद ३० हजार, सुनको बाला एक थान र साम्सुङ कम्पनीको मोबाइल चोरेको आरोप छ । 
यस्तै, पक्राउ परेका कुमार तामाङ उर्लाबारी–४ स्थित बरगाछीका विभिन्न घरहरुमा चोरी कार्यमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ‘मखाने मोक्तान’ को नामले परिचित कुमार तामाङले वरगाछीका विभिन्न घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गर्थे । तामाङले उर्लाबारी–४ स्थित युद्ध श्रेष्ठको स–मिलबाट सामसुङ कम्पनीका दुई थान मोबाइल, उर्लाबारी–४ का नगेन्द्रप्रसाद दाहालको घरबाट ६ हजार नगद, राजघाट–१ का सुदिप श्रेष्ठको घरबाट विभिन्न कम्पनीका ५ थान मोबाइल, एउटा ट्याब, नगद ११ हजार सहित कपडाहरु चोरी गरी फरार रहेका थिए । तामाङलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी सहायक निरीक्षक दुर्गा पोमू लिम्बू नेतृत्वको टोलीले गत मंसिर १५ गते धरानको भानुचौकबाट पक्रेको थियो । उनको साथबाट प्रहरीले नगद ६ सय सहित दुईवटा मोबाइल र एउटा लेनेभो कम्पनीको ट्याब नियन्त्रणमा लिएको थियो । (मंगलबारे पेजबाट)।

प्रकाशित मिति: Sunday, December 20, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।