दिक्तेलमा भएको आगलागीबाट पाँच घर खरानी, करोडौँको क्षति

२०७२ पुस ३। जिल्ला सदरमुकाम दिक्तेल नगरपालिकामा भीषण आगलागी भएको छ । दिक्तेल नगरपालिका–२ स्थित रत्नपार्कमा भएको आगलागीबाट पाँच घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।

स्थानीय हिरालाल पुरीको कपडा पसलबाट बिहीबार दिउँसो पौने तीन बजेतिर सुरु भएको आगो तीन घन्टापछि नियन्त्रणमा लिइएको छ । हिरालाल पुरीको घरमा विद्युत् फल्ट भएर सल्किएको आगोले पुरी, केशव दाहाल, रविध्वज राई, दानबहादुर मगर र हर्कबहादुर राईको घर जलेको छ । नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएका हुन् ।

आगलागीबाट करोडौँको क्षति भए पनि यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए । आगलागीपछि भाडामा बस्ने दर्जनभन्दा बढी परिवार बिचल्लीमा परेका छन् । आगलागीपीडितलाई रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रको कार्यालय परिसरमा राखिएको छ ।

आगलागीमा परी एउटा कपडा पसल, तीनवटा मोबाइल पसल, एउटा ब्युटी पार्लर, एउटा सैलुन, दुईवटा होटेल र एउटा टेलरिङ सेन्टर जलेको सामुदायिक सेवा केन्द्रका प्रहरी नायब निरीक्षक मानबहादुर खड्काले जानकारी दिए । खड्काका अनुसार हिरालालबाहेक अन्य भाडामा बस्ने परिवार थिए ।

आगलागीपीडितका लागि तत्कालै जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसेर सहयोगको पहल गरिने निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताए । ‘आगलागीबाट ठूलो क्षति भएको छ,’ उनले भने, ‘राज्यका तर्फबाट गर्न सकिने सहयोगका लागि बैठक बसेर पहल गरिनेछ ।’

पानी नहुँदा दमकल उपयोगविहीन
नगरपालिकाको दमकलमा पानी नभएकाले समयमा आगो नियन्त्रण गर्न नसकिएको स्थानीयले बताएका छन् । दमकलमा पानी नभएपछि सदरमुकाममा विस्तार गरिएको पाइप काटेर आगो निभाइएको स्थानीय मिलन कसजूले बताए ।

आगो निभाउने बहानामा चोरी
आगो निभाउने बहानामा एक घर तथा पसलको सामग्री चोरी भएको प्रहरीले जनाएको छ । उद्धारको बहानामा आएका केहीले आगलागी भएको घर र पसलबाट बाहिर निकालिएको सामग्री चोरी गरेका हुन्। (नयाँपत्रिकाबाट) ।

प्रकाशित मिति: Friday, December 18, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।