अमेरिका जाने H-1B भिसामा भारी कटौति हुने

२०७२ मंसिर २४ । अमेरिकाले विदेशबाट प्रोफेसलनहरुलाई भित्र्याउनका लागि दिँदै आएको H-1B भिसामा भारी कटौति गर्ने भएको छ । अमेरिकी सिनेटमा यससम्बन्धी विधेयक पेश भएको छ । जसमा H-1B भिसामा १५ हजारको संख्या कटौति गर्ने प्रस्ताव गरिएको छ ।

अन्य भिसाहरुमा पनि बिस्तारै कटौति हुनेसक्ने आशयका खबरहरु सार्वजनिक हुन थालेका छन् । मध्यपूर्वमा सक्रिय आतङ्ककारी संगठनहरुबाट अमेरिकामा बढ्दो सुरक्षा थ्रेटका कारण पनि आप्रवासीहरु प्रति अमेरिका केही कठोर बन्ने संकेत देखिएका छन् ।

यस विधेकलाई सिनेटमा पेश गर्दै गर्दा डेमोक्रेटिक सांसद बिल नेल्सन र रिपब्लिकन पार्टीका जेफ सेशन्सले एकसाथ भनेका थिए, ‘सबैभन्दा बढि भत्ता पाउनेवालालाई यो भिसा पहिले दिईयोस् ।’

यस भिसाको माध्यमबाट विदेशी डाक्टर, इञ्जिनियरलगायत प्रोफेसनलहरु अमेरिका जाने गरेका छन् । अब यसमा भारी कटौति भएपछि H-1B भिसाबाट अमेरिका जान चाहनेहरुको सपनामा तुषारापात हुनसक्छ । यद्यपी यो विधेयक पारित हुन भने बाँकी नै छ ।

यसकासाथै आईएसआईएसले पेरिसमा गरेको आक्रमण र केही दिनअघि अमेरिकाकै क्यालिफोर्नियामा भएको हमलापछि अमेरिकाले अघोषितरुपमा भिसामा कडाई गरेको छ ।

स्मरण रहोस्, नेपालबाटै अमेरिकामा पढ्न जान चाहने विद्यार्थीहरु पेरिस एट्याकपछि भिसा नपाएर पीडामा छन् । पेरिस एट्‍याकअघि विद्यार्थीहरुका लागि अमेरिकाले भिसा निकै खुकुलो बनाएको थियो । तर, एकाएक कडाई गरिएपछि धेरैको अमेरिका सपनाबीचमै तुहिएको छ । अमेरिकाको लागि भिसा पाउने सम्भावना एकदमै अघि देखेर त्यसका लागि प्रयास गरेकाहरु रातारात भएको कडाईको मारमा परे ।

यसैबीचमा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेद्वारको दौडमा रहेका डोनाल्ड ट्रम्पले त एक कदम अघि बढेरै मुस्लिमहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनु पर्ने बताएका थिए । उनले अन्य धर्मकोबारेमा कुनै उल्लेख नगरेपनि उनको अभिव्यक्तिले आप्रवासीहरुप्रति अमेरिका थप कठोर बन्ने तरखरमा रहेको बुझ्न सकिन्छ । यदि उनी राष्ट्रपतिमा चुनिएभने परिस्थिति अझै फरक पनि हुन सक्छ । (साझापोष्टबाट)

प्रकाशित मिति: Thursday, December 10, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।