आवश्यकता एउटा अनलाइन पत्रिकाको

२०७२ असोज २६ । समयको दौरानसँगै प्रविधिको पनि विकास भइरहेको छ । प्रविधिमा भएको विकाससँगै हामीले हरेक क्षेत्रमा फड्को मार्नुपर्ने अवस्थाहरु सिर्जना हुँदै आइरहेका छन् । हाम्रा हरेक दिनचर्याहरु प्रविधिले सहज र सुगम बनाउँदै लगेका छन् । यसै सन्दर्भमा मानव विकासको सुरुवातसँगै हाम्रा पुर्खाहरुले सिर्जना गरी पुस्तौपुस्ता पुस्तान्तरण हुँदै आएका हाम्रा अमूल्य निधिहरु भाषा तथा संस्कारहरु हुन् । यी भाषा तथा संस्कारहरुलाई समयसँगै परिमार्जन गर्दै लानु पर्ने अवस्था रहेको छ । परिमार्जनको नाममा मूल विशेषता नै हराउने गरी परिमार्जन गरियो भने त्यसले केही अर्थ राख्दैन । त्यसैले विशेषत संस्कारमा रहेका खराब प्रवृत्तिहरुलाई परिमार्जन गर्दै असल प्रवृत्तिलाई बढावा दिदै लानु हरेक सन्ततिको कर्तव्य र दायित्व हुन आउँछ । 

यसै सिलसिलामा हाम्रा पुर्खाहरुले गर्दै ल्याएका संस्कारहरु, बोल्दै आएका भाषाहरुलाई समयको अन्तरालसम्म जिवित राख्नु हाम्रो कर्तव्य तथा दायित्व हो । मुख्यत २०४६ साल यता विशेष स्थान पाउँदै आएको पहिचानको मुद्दा २०६३ हुँदै अहिले चरमचुलीमा रहेको छ । पहिलो संविधानसभाको चुनावमा पहिचानको यही मुद्दा बोकेर तत्कालीन माओवादीले ठूलो जनसमर्थन पाएको भए पनि दोस्रो संविधानसभाको चुनावमा माओवादीलगायत पहिचानवादी राजनीतिक दलहरुलाई पछाडि पारियो र पहिचानको मुद्दालाई ओझेलमा पारियो । अन्तत नेपालको संविधान २०७२ समेत हाम्रो अनुकुल हुन सकेन । हाम्रा पहिचानका मुद्दाहरु संविधानमा लेखाउन सकिएन । बिडम्बनाका साथ हामीले अब सोच्नै पर्ने बेला आएको छ । देशमा पहिचान विरोधी शक्तिहरु हावी हुँदै जादा हामी सीमान्तकृत वर्गलाई आफ्नो अस्तित्व जोगाउन हम्मेहम्मे पर्दै जाने अवस्था आइसकेको छ । यस परिस्थितिमा हामी आदिमकालका किरातीहरु आफ्नो पहिचान जोगाई समुदायको थप वृद्धिविकासको लागि सोच्ने र एक जुट भई केही न केही गर्ने बेला आएको छ । 

हामी किरातीहरु राजनीतिक रुपले फरक फरक दलका सदस्य हौला र छौ पनि । यो स्वभाविक हुन आउँछ । तर भाषिक तथा सांस्कृतिक रुपमा एक भएर जानुपर्दछ । यो समयको माग हो । जबसम्म भाषिक तथा सांस्कृतिक मामिलामा हामी एक भएर अगाडि बढ्न सक्दैनौ तबसम्म हामी आफ्नो पहिचानलाई बचाई राख्न सक्दैनौ । यो सास्वत सत्य हो । किरात राईमध्ये पनि हामी पुमा राईहरु भाषागत रुपमा सीमान्तकृत नै छौं । हाम्रो भाषा लोपोन्मुख अवस्थामा पुगिसकेको अवस्थामा अब भाषा तथा संस्कारको रक्षार्थ हामीले विभिन्न बाटोहरुमा हरेक तवरका पाइलाहरु चलाउनु पर्ने बेला भएको छ । भाषा जति जति बोल्ने लेख्ने अभ्यास गर्दै गइन्छ त्यति त्यति संरक्षण हुँदै जाने हो, विस्तार हुँदै जाने हो भने संस्कार पनि जतिजति निरन्तर गर्दै गइन्छ त्यति त्यति संरक्षण हुँदै जाने हुन् । 

यहाँ मैले विशेष पुमा भाषा तथा संस्कारको बारेमा लेख्ने प्रयत्न गरिरहेको छु । पुमा भाषा तथा संस्कार प्रेमीहरुले अहिले आफ्नो भाषा र संस्कारको बारेमा धेरै चासो राखेको अवस्था छ । मनमा राखेको चासोलाई व्यवहारमा उतार्नु छ । त्यसको लागि विकसित प्रविधिको प्रयोग गर्नु बुद्धिमानी ठहरिन्छ । समाजमा जुन प्रविधि बढी प्रभावकारी छ त्यही प्रविधिको सदुपयोग गर्नुपर्ने हुन्छ । 

पुमा भाषा र संस्कारको समुन्नतिपथमा विभिन्न व्यक्ति तथा केही संस्थाहरुले फरक फरक धारबाट सेवा गरिरहेको देखिन्छ । तर अझै पनि ती कार्य अपुरो देखिन्छ । गीतसंगीतका माध्यमबाट कसैले त कसैले पुस्तक तथा पत्रपत्रिका प्रकाशनका माध्यमबाट पुमा भाषाको विस्तार तथा विकासका लागि सेवा गरिरहेका छन् । साथै फुटकर लेख रचना पुमा भाषामा लेखेर सर्जकहरुले आआफ्नो तर्फबाट योगदान दिइरहेका छन् भाषासंस्कृतिका लागि । हाल किरात पुमा राई तुप्खाबाङ्खालालाई पुमा राईहरुको साझा संस्था मानिएको छ । यसले केही काम गरिरहेको छ तर यसले पुमा समुदायले अपेक्षाअनुरुप काम गर्न नसकिरहेको अवस्था छ । र यसले किरात राईहरुको साझा संस्था किरात राई यायोक्खामा पनि दह्रो उपस्थिति जनाउन सकिरहेको अवस्था देखिदैन । त्यसैले व्यक्ति भन्दा पनि साझा संस्था किपुरातुबाले बढी भूमिका खेल्नु पर्ने देखिन्छ पुमा समुदायको सामुदायिक वृद्धिविकासका लागि । त्यस्तै बुङ्वाफोप मार्फत केही हदसम्म भाषा तथा संस्कारका लागि काम भइरहेको छ । जतिखेर एक कल फोन गर्न जिल्ला सदरमुकाम वा अर्को जिल्ला पुग्नुपर्ने बाध्यता थियो, त्यतिखेर २०६४ सालमा बुङ्वाफोपको प्रकाशन सुरु भएको हो । समयको परिवेश मुताबिक त्यो ठिकै थियो । 

यो छापा प्रकाशन हो । यस प्रकाशनका पनि केही समस्याहरु रहेका छन् । जस्तो यसले आवधिक रुपमा त्यो पनि ६ महिनाको लामो समयमा मात्रै आफ्नो अर्को अंक प्रकाशन गर्दछ । विदेशमा छरिएर रहेका हजारौ पुमाहरु यसको प्रकाशनबाट अनभिज्ञ र टाढा रहनु परेको छ । विदेशमा बसेर पनि कुनै माध्यममार्फत आफ्नो भाषा र संस्कार सम्बन्धी सृजना गर्न तथा पढ्न पाउँदा विदेशी भूमिमा रहेर पनि आफ्नै गाउँघरमा भएको अनुभूति गर्न सकिन्छ । यो मेरो व्यक्तिगत भोगाई पनि हो । यसरी नेपाल भित्र बसोबास गर्ने तथा विभिन्न कारणले विदेशमा रहेका पुमाहरुलाई एकिकृत गर्ने एउटा प्रणालीको विकास गर्ने सोंच गरेको छु मैले । विश्वभरिका पुमा राईहरु एकठाउँमा उपस्थित गराउने हामीले इन्टरनेट सेवाको उपयोग गर्न सक्छौ । हाल यो सेवा मोबाइल मार्फत हाम्रो पहाडी गाउँघरमा समेत लिन सकिन्छ । त्यसैले अनलाइन प्रकाशन गाउँघरको कुनाकाप्चामा बस्नेदेखि विदेशको सुविधायुक्त सहरमा बस्ने सबैका लागि छिटो र सुगम तरिकाले भाषिक सिर्जना र सामुदायिक गतिविधि ज्ञात गराउने उपयुक्त माध्यम हुनेमा म विश्वस्त रहेको छु । विदेशमा बसेर पनि आफू आफ्नो भाषा संस्कारसँग नजिक रहन पाउने अवधारणा नै अनलाइन अवधारणा हो । यसले आवधिक रुपमा नभई हरेक पल ताजा गतिविधिहरु प्रकाशनमा ल्याउन सक्दछ । जसलेगर्दा आफ्नै भाषामा सुसूचित हुने सौभाग्य हामी पुमा समुदायलाई मिल्दछ ।

सीधा भन्नुपर्दा अब पुमा समुदायले एउटा अनलाइन पत्रिका संचालन गर्न जरुरी रहेको छ । अनलाइन पत्रिका संचालन गरी पुमा क्षेत्रको समाचार, गतिविधि, रचनालगायत प्रकाशन गरी पुमा भाषा र संस्कारको वृद्धिविकासमा लाग्न सकिन्छ भने मुन्दुम तथा अन्य दस्ताबेजहरु यही अनलाइन पेजमा सुरक्षित राखी आवश्यक परेका बेला डाउनलोड गरी प्रयोग गर्न सकिने अवस्था सृजना गर्न जरुरी छ । अनलाइन पत्रिका संचालन गर्न छापा पत्रिका संचालन गर्नु भन्दा कम खर्चिलो र भर्सटाइल पनि हुन्छ । अनलाइन पत्रिका हामीले डटकम, ओआरजी वा कुनै कनेक्सन मार्फत संचालन गर्न सकिन्छ । यसको परीक्षण प्रकाशनका लागि सुरुमा वर्डप्रेस वा ब्लगस्पोटको माध्यमबाट निःशुल्क पनि संचालन गर्न सक्छौं । यसको लागि हामी पुमा समुदायले तत्काल एउटा बहस तथा छलफल थाल्नु पर्ने हुन्छ । यसतर्फ सम्पूर्ण पुमाहरुले सोचौं र सरसल्लाह गरी सामूहिक रुपमा अगाडि बढौं भन्ने मेरो धारणा पेस गर्दछु । यसलाई हामीले सामूहिक तथा संस्थागत रुपमा स्थानीय प्रशासनमा दर्ता गरेर संचालन गर्दा विज्ञापन लिन, भुक्तानी लिन लगायत प्रशासनिक सहजता हुने र प्रकाशन प्रभावकारी हुन सक्दछ ।

पुमा अनलाइन पत्रिकाका उद्देश्यहरुः 
१. भाषा तथा संस्कारहरुको डिजिटलाइजेसन गर्दै वृद्धिविकास गर्ने,
२. भाषा तथा संस्कारहरुको समयानुकुल प्रचारप्रसार गरी विश्वसामु परिचित गराउने,
३. स्वदेश तथा विदेशमा रहने सम्पूर्ण पुमाभाषी समक्ष पलपलमा ताजा गतिविधिहरु पु¥याउने,
४. भावी पुस्तालाई यो अमूल्य निधि हस्तान्तरण गर्ने सहज वातावरण निर्माण गर्ने, 
५. पुमा भाषीका सृजनाहरुलाई प्रोत्साहन दिदै अन्यभाषी लेखकसँगको प्रतिद्वन्द्विता क्षमता अभिवृद्धि गर्ने,
६. भावी पुस्तालाई आफ्नो भाषा तथा संस्कारको महत्व बुझाउने,
७. किरात पुमाहरुको आर्थिक, सामाजिक, सांस्कृति, भाषिक लगायत समग्र वृद्धिविकासमा भुमिका खेल्ने,

पुमा समुदायका आवश्यक क्रियाकलापहरु
१. अनलाइन पत्रिका संचालनार्थ छलफल गरी निष्कर्ष निकाल्ने (अनलाइन वा अफलाइन)
२. अनलाइन पत्रिका सशुल्क डटकम, डटओआरजी वा सुरुवातमा निःशुल्क वर्डप्रेस वा ब्लगसाइट चलाउने हो त्यसको नाम निर्धारण गरी लेआउट डिजाइन प्रक्रिया अगाडि बढाउने, 
३. पुमा समुदायमध्येबाट कार्यसमूह वा प्रकाशन समिति बनाउने,
४. समितिले अनलाइन प्रकाशनलाई सामूहिक रुपमा नियमितता दिने,
५. पुमा राई समुदायले आआफ्नो परिवेशबाटै समाचार तथा हरेक गतिविधि प्रकाशन समितिलाई उपलब्ध गराउने
६. अल्पकालीन विषयवस्तुका साथै दीर्घकालन प्रयोजनका विषयवस्तु मुन्दुम जस्तालाई पेजमा समावेश गर्ने,
७. समुदायको भाषा, संस्कारलगायत तिनको आर्थिक, सामाजिक, राजनैतिक अग्रगमनतर्फ विशेष भूमिका खेल्ने ।

उपरोक्त उद्देश्य प्राप्त गर्न तपाइँ हामी बीच तत्काल छलफल अगाडि बढाऔं भन्ने सम्पूर्ण पुमा समुदायमा मेरो अनुरोध छ । सामूहिक छलफलबाट थप विचार तथा अवधारणाहरु पनि अाउनेछन् भन्ने मलाई विश्वास लागेको छ ।

आलाङ्ने ।

गणेश पुमा राई चिन्तन
मोबाइल: ९८४२०७४७२२
फेसबुक: www.facebook.com/ganeshchintan
इमेल: ganeshchintan@gmail.com
ब्लग: www.henkhama.blogspot.com


प्रकाशित मिति: Tuesday, October 13, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।