नाकाबन्दी खुल्यो, रक्सौलबाहेक अन्य नाकाबाट आवागमन, आपूर्ति सहज हुन केही दिन लाग्ने

२०७२ असोज १७ । सर्वत्र आलोचना खेपेपछि भारतले १० दिनदेखि नेपाल सीमामा गरेको नाकाबन्दी शनिबार साँझ फिर्ता लिएको छ ।

शनिबार साँझ भारतीय प्रधानमन्त्री कार्यालयले नाकाबन्दी हटाउन निर्देशन जारी गरेको सूचना सरकारलाई दिएको छ । सूचनालगत्तै भारतीय नाकाबाट पेट्रोलियम पदार्थलगायत उपभोग्य सामान सहज रूपमा नेपालतर्फ पठाउन सुरु भएपछि नाकाबन्दी हटेको हो ।

यद्यपि सीमा नाका पूर्ववत् रूपमा सुचारु हुन भने केही दिन लाग्ने अधिकारीहरूले बताएका छन् । भारतीय प्रधानमन्त्री कार्यालयले नेपालसँग सीमा जोडिएका जिल्लाका भारतीय भन्सार, सुरक्षा बल एसएसबी र भारतीय आयल निगमलाई नेपालतर्फ सामान तथा पेट्रोलियम पदार्थ नरोक्न शनिबार निर्देशन दिएको हो ।

जारी संविधानप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलहरूले सीमा नाकामा गरेको धर्ना तथा विरोधलाई कारण देखाउँदै भारतले इन्धनलगायत अत्यावश्यक वस्तुहरूको आपूर्ति बन्द गरेको थियो । भारत सरकारले आधिकारिक रूपमा भने भारतीय सवारीसाधनहरू असुरक्षाका कारण नेपाल प्रवेश गर्न नसकेको वक्तव्य जारी गरेको थियो ।

नाकाबन्दी हटाउन भारत र नेपालबीच भएका ‘ब्याक च्यानल’ अभ्यासमा काठमाडौंस्थित भारतीय दूतावास सामेल नगरिएको संकेत पनि भरपर्दो स्रोतबाट प्राप्त भएको छ ।

नेपालतर्फ सामान तथा पेट्रोल सहज बनाउन आफू तयार रहेको भन्दै भारतले सीमामा चर्किएको आन्दोलन रोकी आन्दोलनरत दललाई वार्तामा ल्याउन सरकारमाथि दबाब दिएको एक उच्च सरकारी अधिकारीले जानकारी दिए । 

‘नाकाबन्दीले भारतविरोधी भावना चुलिँदै जाँदै दुई देशबीचको सम्बन्ध अझै बिग्रन गई थप संकट निम्तिन सक्ने भारतले बुझेको हुनसक्छ । त्यही भएर भारतले सेफल्यान्डिङ रोजेको छ’, एक उच्च सरकारी अधिकारीले अन्नपूर्णसँग भने । 

तीन दिनअघि संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर अमेरिकाबाट फर्केका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश मन्त्रालयका उच्च अधिकारी, खुफिया एजेन्सी, सुरक्षा निकाय र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग नेपालमा संविधान जारी भएपछिका अवस्थाबारे ब्रिफिङ लिएका थिए ।

नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेश मन्त्रालयका उच्च अधिकारीलगायतसँग नेपालबाट फर्केलगत्तै शुक्रबार र शनिबार भेटवार्ता गरी नाकाबन्दी हटाइदिन अनुरोध गरेका थिए । 

प्रधानमन्त्री सुशील कोइरालाले संविधानको संशोधनमा मधेसका माग सम्बोधन गर्ने संसद्मा शुक्रबार बताएपछि पनि नाकाबन्दी खोल्न दबाब परेको स्रोतले जानकारी दियो । 

नयाँदिल्लीस्थित नेपाली दूतावासका पोलिटिकल काउन्सिलर तीर्थराज वाग्लेले वीरगन्जबाहेक भारतसँग जोडिएका अन्य सीमा नाकाबाट सामान तथा पेट्रोल नेपालतर्फ जान थालेको सूचना पाएको अन्नपूर्णलाई जानकारी दिए ।

 राजदूत उपाध्यायले नेपालतर्फबाट मालवाहकहरू सहज रूपमा जान थालिसकेको बताए । भारतीय सत्तारूढ जनता पार्टीका नेताहरूले नेपालमा आन्दोलनरत दलहरूसँग शुक्रबार वार्ता गरी परिस्थिति सहज बनाउन आग्रह गरेको स्रोतको दाबी छ । 

भारतीय नाकाबन्दीपछि काठमाडौं उपत्यकालगायत देशभर तथा विश्वका अन्य मुलुकमा रहेका नेपालीसमेत भारत सरकारको चर्को विरोधमा उत्रिएको र छिमेकमा लगाएको नाकाबन्दीबारे अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भारतमाथि प्रश्न उठ्न थालेपछि भारतले नाकाबन्दी हटाएको बताइएको छ ।

 केही दिनअघि लैनचौरस्थित भारतीय दूतावासमा आयोजित पत्रकार सम्मेलनमा राजदूत रन्जित रेले नाकाबन्दी नलगाएको दाबी गर्दै भारतीय प्रधानमन्त्री र राष्ट्रिय झन्डा जलाइएको र नेपालमा भारतविरोधी भावना बढाइएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यक्तिगत सम्बन्ध रहेका उद्योगपति विनोद चौधरीलाई प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दी खुलाउन पहलका लागि विशेष आग्रह गर्दै बिहीबार दिल्ली पठाएका थिए । उनले दिल्लीमा भारतीय अधिकारीहरूसँग भेट गरी नाकाबन्दी खुलाउन पहल गरेका थिए ।

चौधरीले शनिबार पनि भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार डोभलसँग भेटेका थिए । ‘राम्रो भेटघाट भयो, नेपालबाट चाँडोभन्दा चाँडो नाकाबन्दी हटाएर जनजीवन सामान्य पार्ने मेरो एकमात्र एजेन्डा हो,’ चौधरीले भने । डोभलले मधेसी दलका उपयुक्त माग पूरा गर्न नेपाल सरकारलाई आग्रह गरेको चौधरीले बताए ।

यद्यपि मधेसीका महत्वपूर्ण मुद्दा अझै सम्बोधन नभएको भन्दै भारतले नेपालका घटनाक्रम नियालिरहेको एक वरिष्ठ अधिकारीले बताए । ‘संविधान संशोधनबाट मधेसीका माग सम्बोधन भएनन् भने परिस्थिति फेरि बिग्रन सक्छ,’ ती अधिकारीले भने । अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति: Sunday, October 04, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।