गर्भावस्थामा रक्तअल्पताको खतरा

२०७२ कात्तिक १३ । शरीरमा रहेको रगतमा हेमोग्लोबिनको मात्रा कम हुनुलाई रक्तअल्पता भनिन्छ । हेमोग्लोबिन राता रक्तकोषमा रहेको सबैभन्दा महत्वपूर्ण रक्ततत्व हो । हेमोग्लोबिनले नै शरीरका अंगअंगमा अक्सिजन पु¥याउने काम गर्छ । श्वासप्रश्वासका क्रममा हामीले लिएको अक्सिजन फोक्सोमा पुगेपछि रगतकै माध्यमबाट शरीरका कोषकोषमा पुग्छ । यसरी शरीरका कोषकोषमा अक्सिजन पु¥याएर शक्ति प्रदान गर्ने राता रक्तकोषमा रहेको हेमोग्लोबिनले नै हो । त्यसकारण शरीरमा हेमोग्लोबिन कमी हुनु भनेको खतरा निम्तिनु हो ।

रगतमा हेमोग्लोबिन प्रोटिन र अक्सिजन मिलेर बनेको हुन्छ । यसैगरी राता रक्तकोष बन्ने क्रममा आइरनको आवश्यकता पनि पर्छ । आइरन सूक्ष्म पोषक तत्व हो । त्यस कारण पोषण तत्वको कमी, रक्तस्राव तथा विभिन्न समस्याले रगत बन्ने प्रक्रियामा अवरोध सिर्जना हुँदा हेमोग्लोबिनको उत्पादन कम हुने, आइरनको कमी हुने समस्या देखा पर्छ । यस्तो समस्यालाई नै चिकित्सकीय भाषामा रक्तअल्पता अर्थात एनिमिया भन्ने गरिन्छ । यो रोग लाग्नेबित्तिकै श्वासप्रश्वासमा समस्या देखिन्छ । श्वास फेर्दा स्वाँस्वाँ हुन थाल्छ भने मानिस कमजोर हुन्छ ।

सामान्यतया यो रोग महिलाहरुलाई बढी लाग्ने गर्छ । अझ गर्भवती अवस्थाका महिलामा यो समस्या धेरै नै देखिन्छ । गर्भावस्थामा रक्तअल्पता हुँदा आमा र गर्भे शिशुलाई समेत गम्भीर असर गर्न सक्छ । गर्भवती अवस्थामा आवश्यकताअनुसार पोषण तत्वको कमी हुँदा चाहिएजति रगत बन्न नसकी शरीरमा रगतको कमी हुन जान्छ । रगतको कमी भएपछि शरीरलाई चाहिने आइरन तथा अक्सिजनको कमी हुन्छ । यसरी शरीरमा आइरन र अक्सिजनको कमी क्रमशः बढ्दै जाँदा आमा र बच्चा दुवैको मृत्युसमेत हुने खतरा रहन्छ । नेपालमा गम्भीर खालको रक्तअल्पताको समस्या बढी हुने गरेको छ ।

सामान्यतया शरीरमा हेमोग्लोबिनको मात्रा ११ ग्राम प्रति एक सय मिलिलिटरभन्दा कम भए रक्तअल्पत्ता भनिन्छ । सामान्यतया शरीरमा तीन किसिमले रक्तअल्पता हुने गर्छ । पहिलो भनेको आवश्यकताअनुसारको पोषण तत्वको कमी हुनु हो । जस्तो ः शरीरमा आवश्यक पर्ने आइरन, फोलिक एसिड, भिटामिन बी १२, प्रोटिनजस्ता पोषक तत्वमा कमी हुनु । दोस्रो भनेको विभिन्न कारणले धेरै रक्तस्राव हुनु र तेस्रो भनेको खेतबारी तथा माटोमा काम गर्ने क्रममा नङमा जुकाको फुल टाँसिएर शरीर भित्र प्रवेश गर्नु र पेट भित्र जुका बन्दा समस्या देखिन्छ । यसका साथै बोनम्यारोको कमी, हेमोग्लोबिनकै रोगहरु तथा अन्य रोग तथा संक्रमणको कारण पनि रक्तअल्पता हुने गर्छ । नेपाल तथा अन्य धेरै देशमा पोषणतत्वको कमीले र रक्तस्राबबाट नै रक्तअल्पता हुने गर्छ ।

गर्भावस्थामा रक्तअल्पता देखिएलगत्तै कस्तो खालको रक्तअल्पता हो भन्ने पत्ता लगाउनुपर्छ । यस्का लागि गर्भवतीको रगतको मात्र हेर्ने र रक्तअल्पताको कारण खोजिन्छ र त्यही अनुसारको उपचार गरिन्छ । जस्तो ः आइरनको कमी छ भने आइरन दिने, फोलिक एसिडको कमी छ भने फोलिक एसिड तथा भिटामिनको कमीले भएको छ भने भिटामिन सप्लिमेन्ट दिने गरिन्छ । त्यही भएर गर्भवतीलाई चिकित्सकले आवश्यकताअनुसार सुत्केरी भएको केही महिनासम्म आइरन चक्की तथा अन्य सप्लिमेन्ट दिने गरेका हुन् । जसको नियमित प्रयोग गर्नुपर्ने हुन्छ ।

सामान्यतया दम्पतीले बच्चा जन्माउने योजना बनाएपछि महिलाको रगतको अवस्थाको जाँच गर्नु राम्रो हुन्छ । तर, नेपालमा गर्भ बोकेको लामो समयपछि समस्या देखिपछि मात्र जाँच गर्ने चलन छ । जुन सरासर गलत हो । सुरुमै जाँच गरेर रगतको अवस्था थाहा पाउने हो भने आमा तथा बच्चा दुवैको स्वास्थ्यका लागि राम्रो हुन्छ । पहिलेदेखि नै रक्तअल्पता भएकी महिला गर्भवती भएमा त्यसले गर्भावस्थामा झन खतरा निम्त्याउँछ । सुरुदेखि नै रगतमा हेमोग्लोबिनको मात्रा ११ भन्दा कम रहेको महिलाको पेटमा बच्चा बढ्दै जाँदा रक्तअल्पता बढ्दै जाने खतरा हुन्छ । अझ गर्भ ३२ हप्ता पुग्दा झन् खतरनाक हुन्छ । यस्तो आमाबाट जन्मिएको बच्चा पनि शारीरिक तथा मानसिक रुपमा कमजोर हुने, रक्तअल्पता नै भएको जन्मने, बच्चा जन्माउने क्रममा आमालाई निकै गाह्रो हुने, अवधि नै नपुगी बच्चा जन्मन सक्ने, रक्तअल्पता धेरै भएमा आमाको ज्यान नै तलमाथि हुने खतरा रहन्छ । त्यसकारण गर्भवती तथा परिवारले विशेष ध्यान दिन आवश्यक छ ।

अहिलेको बदलिँदो जीवनशैली र आधुनिकताका कारण युवतीहरु आफूलाई स्लिम र आकर्षक देखाउने नाममा धेरै नै डाइटिङ गर्ने गर्छन् । साथसाथै जंकफुडको बढ्दो प्रयोगले पनि युवतीहरुमा रक्तअल्पताको समस्या देखिने गरेको छ । सुरुदेखि नै रक्तअल्पताको समस्या रहेका यस्ता युवतीहरु गर्भवती हुँदा समस्या झन् थपिने गर्छ । त्यस कारण दम्पतीले बच्चा जन्माउने योजना बनाउनुपूर्व नै रगतको अवस्था, मात्रा जाँच गरेर चिकित्सकको सल्लाहबमोजिम बच्चा जन्माउने निर्णय गर्नुपर्छ ।

चिकित्सकको नियमित सल्लाहमा रहेका महिलाको अवस्था राम्रो हुने गर्छ । तर, नेपालमा नियमित स्वास्थ्य परीक्षण र गर्भवती जाँच गर्नेको संख्या कमी रहेकाले शरीरमा हेमोग्लोबिनको मात्रा पाँचभन्दा कम अवस्थामा रहेका महिला समेत भेटिने गर्छन् । उनीहरु एक्कासि गम्भीर अवस्थामा पुगेपछि उपचारका लागि स्वास्थ्य संस्थामा ल्याइन्छन् । हेमोग्लोबिनको मात्रा शरीरमा पाँचभन्दा कम हुनु भनेको निकै जोखिमपूर्ण अवस्था हो ।

यो अवस्थाका महिलालाई आइसियूमा राखेर नै उपचार गर्नुपर्ने हुन्छ । यस्तै पाँचदेखि सात ग्रामसम्मको अवस्थामा महिलालाई रगत चढाएर उपचार गर्नुपर्ने हुन्छ । यो अवस्थामा पाठेघर खुम्चिएर बच्चा खेर जाने तथा अवधि नपुगी बच्चा जन्मने सम्भावना रहन्छ । सात देखि दससम्म रहेकालाई आवश्यकता अनुसार पोषण सप्लिमेन्ट दिएर हेमोग्लोबिनको मात्रा बढाउने काम गरिन्छ ।

रक्तअल्पता भएमा स्वाँस्वाँ हुने, रिंगटा लाग्ने, थकाइ लाग्ने, सास फुल्ने, हात हत्केला पहेँलो हुने, आँखा पहेँलो हुने, जिब्रो र ओठ, नङ फुस्रो देखिने लक्षण देखा पर्छ । यस्तो लक्षण देखिनासाथ चिकित्सककहाँ पुगिहाल्नुपर्छ । सामान्यतया सन्तुलित खाना खाएमा आइरनको कमी हुँदैन । साथै अन्य पोषक तत्वहरु पनि पाइने हुँदा रक्तअल्पताबाट जोगिन सकिन्छ । काम तथा अन्य परिश्रम गर्दा पसिनाबाट पनि बढी मात्रामा आइरन खर्च हुन्छ । पटक पटक गर्भवती भइरहँदा र लामो अवधिसम्म स्तनपान गराउँदा पनि आइरन खर्च हुन्छ । महिनावारी हुँदा धेरै रगत गएमा, जुका, दीर्घ मलेरिया, पाइल्स, आउँमासी सबैले रगत कम गराउँछ । यदि सन्तुलित भोजन र स्वस्थ महिला भएमा कुनै पनि रक्तअल्पत्ता हुँदैन तर कुपोषण वा खाना नखाने वा बिरामी महिलाको रक्तअल्पता हुन्छ । गर्भिणी अवस्थामा आइरनको आवश्यकता बढ्ने, आइरनको आपूर्ति घट्ने, मेटाबोलिक प्रक्रिया घट्ने हुँदा रक्तअल्पता हुन्छ ।

रक्तअल्पताको डिग्रीअनुसार यसका लक्षण देखा पर्छन् । थकाई महसुस हुने, कमजोरी हुने, खान मन नलाग्ने, अपच हुने, मुटुको ढुकढुकी बढ्ने, चक्कर आउने तथा खुट्टा सुन्निने हुन्छ । धेरैजसोमा मुखमा घाउ हुने, फुस्रो देखिने, फोक्सोमा घ्यारघ्यार सुनिनेसमेत हुन्छ । यसका लागि रगतमा हेमोग्लोबिन, राता रक्तकोषको मात्र जाँच गर्नुपर्छ । पिसाबमा प्रोटिन, सुगर जाँच्नुपर्छ । दिसामा परजीवीसमेत जाँच गर्नुपर्छ ।

रक्तअल्पताबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको नै सन्तुलित आहार हो । त्यसपछि अनावश्यक रुपमा हुने रक्तस्रावको कारण पत्ता लगाएर गरिने उपचार हो । खानेकुरामा आइरन बढी पाइने पालुंगो, चम्सुर, मेथीको सागजस्ता हरिया सागपात खाने गर्नुपर्छ । यसका साथै प्रोटिन तथा अन्य पोषक तत्वका लागि मासु, गेडागुडी तथा अन्य अन्नहरु खानुपर्ने हुन्छ । रोग लागिहालेमा चिकित्सकको सल्लाहअनुसार औषधी तथा अन्य उपचार गर्न सकिन्छ । साभार: स्वास्थ्य खबर ।

प्रकाशित मिति: Friday, October 30, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।