रिक्त आठ सचिवका लागि बढुवा प्रक्रिया सुरु

२०७२ असोज १८ । सरकारले विभिन्न मन्त्रालय र निकायमा रिक्त सचिव पदपूर्तिका लागि सचिव बढुवा प्रक्रिया सुरु गरेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार सामान्य प्रशासन मन्त्रालयस्थित सचिवालयमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रक्रिया थालेको हो ।

अब पहिलो पटक विशेषज्ञताका आधारमा सचिवको बढुवा गरिने भएको छ। सरकारले निर्धारण गरेको ६ वटा क्लस्टरिङका आधारमा बढुवा समितिले सचिव बढुवाको सिफारिस हुनेछ । सहसचिवहरू आफ्नो सेवा समूहभित्र मात्रै सचिवमा बढुवा हुन पाउने गरी निजामती सेवा नियमावलीको १२औँ संशोधन हालै मात्रै गरिएको थियो । सोही संशोधनअनुसार बढुवा प्रक्रिया थालिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सामान्य प्रशासनका सचिव एवं बढुवा सिफारिस समितिका सदस्यसचिव टंकमणि शर्माले सचिव बढुवा प्रक्रिया सुरु गरिएको जानकारी दिए । ‘सचिव बढुवा प्रक्रिया थालिएको छ, अब छिट्टै सिफारिस गरिनेछ,’ शर्माले  भने । यसैबीच, बैठकले सचिव बढुवाका लागि सम्भाव्य रहेका सबै उम्मेदवारमाथि विभागीय कारबाही भए/नभएकोसमेत अध्ययन गर्ने भएको छ । उच्चस्तरीय व्यवस्थापन तालिम लिए/नलिएकोबारे सम्बन्धित निकायबाट जानकारी माग्ने निर्णयसमेत भएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: Monday, October 05, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।