केपी ओलीका ५ रहस्य : उखु गोडाइदेखि महाकाली सन्धीसम्म !
- अरुण बराल
उसो त केपी ओलीसँगै प्रचण्ड, विजय गच्छदार र कमल थापाहरु पनि अहिले ‘महान नेता’हरुको सूचिमा पुनव्र्याख्यासहित थपिएका छन् । देशमा लामो समय यी नेताहरुले राजनीति गरे । यतिबेला मुलुकमा प्रगतिका परिसूचकहरु धमाधम ओरालो लागिरहेकै छन् । तैपनि हाम्रा नेताहरुको ‘हाइट’ सगरमाथातिर सोझिएको सोझिएकै छ । अहिले प्रधानमन्त्री ओलीको व्यक्तित्वलाई फेरि एकचोटि देवत्वकरण गर्न थालिएको छ ।
यो स्वाभाविकै हो कि कुनै पनि व्यक्ति मुलुकको कार्यकारी प्रमुख हुँदा उनलाई बधाइहरु आउँछन् । उनको नजिक बसेर सत्तास्वार्थमा तर मार्न खोज्नेहरु अतिशय प्रशंसामा उत्रन्छन् । सँगैसँगै, व्यक्तिको उचाइसँगै उनको पृष्ठभूमि, उनका विगतका कार्यहरु र उनको जीवनको समग्र मूल्यांकन पनि सुरु हुन्छ । त्यक्तिको उचाइसँगै उनका कमजोरी पनि सडकमा बिस्कुनजस्तै सुकाउने सिलसिला सुरु हुन्छ ।
प्रधानमन्त्री केपी ओलीले अब सरकारको नेतृत्व कसरी गर्लान् ? अहिल्यै यसमाथि शंका गर्न र पूर्वआलोचना गर्न भन्दा अगाडि उनको प्रगतिको कामना गर्दै शंकाको सुविधा प्रदान गर्नु नै न्यायसंगत एवं समयसंगत हुन्छ यतिबेला । त्यसैले ओलीको अबको भूमिकालाई भविश्यकै गर्भमा छाडौं ।
यहाँचाहिँ प्रधानमन्त्री केपी ओलीको जीवनमा देखिएका पाँचवटा पहेली एवं रहस्यका पोका खोल्ने प्रयास गरिएको छ:
१. इतिहासको ब्याज
झापा क्रान्तिका नायकका रुपमा ओलीको चर्चा गर्न खोजिँदैछ । यथार्थमा चाँहि राजनीतिमा लागेको ३/४ वर्षमै ओली जेल परे । उनी जेलबाट रिहा भएको ३/४ वर्षमै पञ्चायत ढल्यो । त्यसैले बुहदलीय व्यवस्था आउनुपूर्वसम्म राजनीतिमा ओलीको खासै अग्रणी भूमिका रहेन ।
झापा आन्दोलन कमिटीका प्रमुखका रुपमा ओलीको चर्चा पनि निकै रमाइलो छ । ०२९ सालमा टीबी लागेपछि झापा संगठन कमिटीको सचिवबाट राधाकृष्ण मैनालीले विदा लिए । मैनालीका ठाउँमा कसलाई राख्ने भन्ने छलफल चल्यो । ‘यो केपी ओली खाली गुनासो मात्रै गर्छ, यसैलाई बनाइदिउँ’ भन्ने भएपछि ओलीलाई सचिव बनाइयो ।
तर, पार्टीको प्रमुख बनेको ४ महिनासम्म ओलीले एउटा पनि बैठक बोलाएनन्, त्यसपछि चार महिनामा उनलाई हटाएर सीपी मैनालीलाई सचिव बनाइयो । ओली ०२९ साल कात्तिकदेखि फागुनसम्म सचिव पदमा रहे, जुन समयमा एउटा पनि बैठक राखेनन् । ओलीले झापा आन्दोलनमा सशस्त्र क्रान्तिको साटो शान्तिपूर्ण जनसंघर्षको लाइन लिएको भन्ने तर्कलाई पनि उनका समकालीनहरु ओलीको ‘भय’ संग गाँसेर त्यसलाई विश्लेषण गर्छन् ।
सचिवबाट हटेपछि केपी ओली पार्टीमा लगभग सम्पर्कविहीनजस्तै बने । पञ्चायती दमन पनि चर्को थियो । उग्र लाइनका पक्षधर मोहनचन्द्र अधिकारी झापाबाट भागेर भारतको कानपुर पुगेका थिए । केपी ओली पार्टीको सम्पर्कमा नगई बिराटनगर पुगेर कानपुरमा मोहनचन्द्रको सम्पर्कमा पुगे । त्यहाँ मोहनचन्द्र उखु गोडेर बसेका थिए । ओलीले पनि केही समय मोहनचन्द्रसँगै मिलेर कानपुरमा उखु गोड्ने काम गरे ।
मोहनचन्द्र झापा विद्रोहमा उग्रवादी धारका नेता थिए । तर, केही एक्शनमा लागेपछि उनी आफ्नो लाइनमा अड्न सकेनन् र पलायनको बाटो रोजे । ओली उनलाई खोज्दै पार्टीको सम्पर्कविनै मोहनचन्द्र भएका ठाउँमा पुगे ।
केही समय उखु गोडेपछि ओली र अधिकारी कानपुरबाट गोरखपुर हुँदै रौतहट आइपुगे । मोहनचन्द्रले वीरगञ्जमा केही मानिसलाई चिनेका थिए, उनीहरु त्यहाँ गए । तर, तिमीहरु पक्राउ पर्छौ, यता नबस भनेपछि उनीहरु फेरि रौतहटतिरै लागे ।
ओली र अधिकारीले बिराटनगरमा सम्पर्क गरे । तर, त्यहाँ पनि तिमीहरु नआओ, पक्राउ परौला भन्ने खबर आयो । यसैवीच उनीहरु दुबैजना रौतहटबाट पक्राउ परे । त्यसपछि मोहनचन्द्र ०४६ सालमा मात्रै छुटे भने ओली १४ वर्ष विभिन्न जेलमा बसेर ०४४ सालमा रिहा भए । विसं. ०२७ सालमा राजनीतिमा लागेका ओली जेल पर्नुअघि ३ वर्षको उनको राजनीतिक इतिहास यही हो । कतिपयले उनी ०२१ सालमै राजनीतिमा लागेको भने पनि उनी त्यसबेला १३ वर्षको मात्र भएकाले वाल्यकालमा उनको वैचारिक राजनीतिक भूमिका के थियो होला, सहजै अनुमान गर्न सकिन्छ ।
२. जेलभित्रै झण्डै मृत्यु
केपी ओलीको जेल जीवन अन्त्यन्तै पीडादायक बन्यो । कमजोर इच्छाशक्ति भएको भए ओली त्यतिबेला बाँचेर फर्कने स्थिति नै थिएन । तर, ओलीको बाँच्ने जीजीविषा अति उच्च थियो ।
जेलमा रहँदा मोहनचन्द्र अधिकारीमा मानसिक समस्या देखियो भने केपी ओलीमा शारीरिक समस्या सिर्जना भयो । ओलीलाई टीबी र अल्सर दुबै रोगले सतायो । ०३४ सालतिर उनी उठ्नै नसक्ने अवस्थामा पुगे । टीबीका कारण उनको मुखबाट रगत आउँथ्यो भने अल्सरका कारण दिशाबाट रगत जान्थ्यो । केही महिना उनलाई अरुले डोर्याएर दिशा गराउन लैजाने र दिशा धोइदिनुपर्ने अवस्था थियो । उनी बसेको ठाउँबाट जुरुक्क उठ्न सक्दैनथे, कसैले उठाइदिनुपर्थ्यो ।
बिहान उज्यालो हुँदा ओली मरे कि जिउँदै छन् भनेर उनलाई हेर्न राधाकृष्ण मैनाली, नरेश खरेलहरु आउँथे । यो कुरा ओलीलाई थाहा हुन्थ्यो र उनी हप्काउँथे, ‘म यति सजिलै मर्छु भन्ने तिमिीहरुले ठानेको ? म मर्दिन ।’
ओलीको इच्छाशक्ति देखेर मैनाली र खरेलहरु छक्कै पर्थे त्यसबेला । उनको मनमा यस्तो इच्छाशक्ति नभएको भए बाँचेर यो अवस्थामा आउने सम्भावना पनि थिएन । शारीरिक रुपमा ओली जति कमजोर बनेका थिए, मानसिकरुपमा चाँहि उनीभित्र उदेकलाग्दो क्षमता थियो ।
जेलभित्र पौष्टिक खानेकुरा थिएन । उसिनाको चामल र ६० पैसा सिदाले छाक टार्नुपथ्र्यो । पछि नेलबाट हटाइयो र टीबी लागेपछि ओलीलाई जेल प्रशासनले एक पाउ मासु दिन थाल्यो । मैनाली र खरेलका घरबाट आउने पैसाले उनीहरुले ओलीलाई सहायता गरे । विस्तारै ओलीले अल्सर र टीबीलाई जिते । ०४४ सालमा जेलबाट छुट्दा उनी अत्यन्तै दुब्ला पातला थिए ।
जेलबाट छुटेपछि ओली प्रायः रौतहटतिरै थिए । त्यसबत्रेला झापाबाट भागेका एमाले नेताहरु प्रायः रौतहटमै जम्थे । जस्तै- सशस्त्र संघर्षपछि डराएर हिँडेका मोरङका मुकुन्द न्यौपाने रौतहटमै बसे, त्यतै बिहेबारी गरे अनि त्यहीबाट चुनाव जिते ।
ओली जेलबाट छुटेको दुई/तीनवर्ष पछि नै बहुदल आइहाल्यो । तर, प्रजातन्त्र आए पनि ओलीलाई रोगले लखेट्न छाडेन । बहुदल कालमा मृर्गौला ड्यामेज भयो । तैपनि ओलीमा रोगसँग जुध्ने क्षमता जेलमा बस्दाजस्तै देखियो । जस्तै बिरामी हुँदा पनि उनी रोगसँग लडेर सक्रिय बने । डाक्टरले आरोम गर्नु भन्दा पनि मतलब नगर्ने उनको बानी रह्यो ।
३. भारतसँग ओलीको नाता
अब चर्चा गरौं, केपी ओली र भारतसँगको उनको सम्बन्ध ।
भारत र ओलीवीचको नाता पनि निकै रोचक छ । ०२८/०२९ सालमा झापामा सशस्त्र क्रान्तिको थालनी भएका बेला झापाली नेताहरुले भारतको नक्सलाइटबाट दुईजना गुरिल्लाहरु हायर गरेर ल्याएका थिए । चारु मजुम्दारले पठाएका राजेन राजबंशी र भोगेन राजबंशी नाम गरेका ती दुई भारतीयले झापामा गुरिल्ला ट्रेनिङ दिने गरेका थिए ।
पछि झापालीहरुवीच ती दुबैका विषयमा विवाद सुरु भयो । मोहनचन्द्र अधिकारीले त्यसलाई ‘भारतीय विस्तारवादी हस्तक्षेप’ भन्दै उनीहरुलाई इण्डियातिरै पठाउनुपर्ने माग गरे । केपी ओलीले भारतीय हस्तक्षेप नै त भनेनन् तर, उनीहरुलाई भारत पठाउनुपर्ने अधिकारीको लाइनमा साथ दिए ।
पार्टीले राजेन र भोगेनलाई फिर्ता लैजान भन्यो, तर भारतीय कम्युनिष्ट पार्टीले उनीहरुलाई फिर्ता लिन मानेन । नेपाल पठाइसकिएको हुनाले उनीहरुलाई नेपालकै क्रान्तिमा प्रयोग गर्न भनियो । पछि दुबै भारतीय गुरिल्लाहरु नेपालमै पक्राउ परे । सीपी मैनालीको नेतृत्वमा बख्खु जेल ब्रेक हुँदा भोगेन पनि भाग्न सफल भए । पछि भारततिरै फर्केका भोगेन अहिले बितिसकेका छन् भने ०४६ सालमा बहुदल आएपछि छुटेका राजेन अहिले पनि जीवितै छन्, पश्चिम बंगालमा उनी त्यहीँको कम्युनिष्ट पार्टीमा कार्यरत छन् ।
केपी ओली र भारतसँगको सम्बन्धको दोस्रो आयामको कुरा गर्दा बहुदलपछिको टनकपुर सन्धी र महाकाली सन्धीको चर्चा गर्नुपर्ने हुन्छ । मदन भण्डारी जीवित रहँदासम्म टनकपुर सन्धीको विरोध गरेर उग्र भारतविरोधी देखिएको एमालेलाई महाकाली सन्धीसम्म आइपुग्दा भारतपरस्त देखाउनमा केपी ओलीको निकै ठूलो भूमिका छ । भलै त्यसबेला महासचिवको जिम्मेवारीमा माधवकुमार नेपाल थिए ।
महाकाली सन्धीकै कारण एमाले फुट्यो । तर, ओलीले महाकाली सन्धीको समर्थन गरेर पार्टीको निर्णयलाई बचाउ गरे । त्यसबेलादेखि ओलीलाई ‘प्रो-इण्डियन’ नेताका रुपमा हेर्न थालियो । तैपनि रोचक त यो छ कि महाकाली सन्धीको त्यसरी उग्र समर्थन जनाउँदा पनि केपी ओली भारतको विश्वासपात्र हुन सकेनन् र उनका ठाउँमा माधव नेपाल विश्वासपात्र बने । झलनाथ खनाललाई पनि भारतले ओलीलाई जस्तै विश्वासपात्रको सूचीमा राखेन ।
रौतहटका माधव नेपालका पिता भारतबाटै गौरमा आएको विश्वास भारतीयहरुमा रह्यो । नेता नेपालका छोराछोरीलाई दूताबासले छात्रवृत्ति उपलब्ध गरायो । ओलीलाई भने दूतावासले सधैं शंकाको दृष्टिले हेर्यो । विश्वास गरेन । यद्यपि महाकाली सन्धीमा ओलीले नै भारतलाई ठूलो गुन लगाएका थिए ।
पहिलो संविधानसभामा माधव नेपालले पनि चुनाव हारेका थिए, ओलीले पनि हारेका थिए । माधव नेपालले महासचिवबाट राजीनामा दिएका थिए । तर, त्यसबेला भारतले प्रचण्डको हातबाट माधव नेपाललाई प्रस्ताव गराएर सभासद हुँदै प्रधानमन्त्रीसम्म बनाएको एमालेका पुराना नेताको विश्लेषण छ । तर, ओलीले माधव नेपालको जस्तो सुविधा पाएनन् । यसका पछाडिको कारण भारतको रोजाइ ओली नभएर माधव नेपाल हुनु नै थियो भन्ने एमालेजनको बुझाइ छ । यसको सत्यता एमालेकै नेताले जानुन् ।
शायद यतिबेला भारतले पनि थाहा पायो होला, माधव नेपाल कार्ड र ओली कार्डको महत्व । अब भारतले महाकाली सन्धीमा ओलीले लगाएको गुन तिर्ने बेला आएको छ शायद । र, ओलीको ‘राष्ट्रवाद’को कवाफमा महाकाली सन्धीको हड्डी अडि्कएको नेपाली जनताले स्मरण गरिरहेकै छन् यतिबेला । महाकालीको विगतलाई हेर्दा ओली कुनै पनि बेला भारतको विश्वासपात्र बन्ने क्षमता राख्न सक्ने नेता हुन् ।
ओली साँच्चैका राष्ट्रवादी हुन् या अहिलेसम्म भारतले नपत्याएका कारणले मात्रै राष्ट्रवादी देखिन बाध्य बनेका हुन् ? यसको परख गर्ने उपयुक्त समय पनि हो अहिले ।
४. आर्थिक अपारदर्शिता
केपी ओलीको व्यक्तित्व एवं जीवनको झाँकी प्रस्तुत गरिरहँदा एकातिर उनको गरीब पृष्ठभूभि देखाउने गरिएको छ भने अर्कातिर झापाको दमक र भक्तपुरको बालकोटमा दुईवटा घरहरु रहेको पनि देखाउने गरिएको छ । जीवनको उर्जाशील समयमा जेल परेको, शारीरिक अवस्था कमजोर रहेको व्यक्तिले राजनीतिसँगै आर्थोपार्जन गरेर आफूलाई कसरी सर्वहाराबाट मध्यम वर्गमा फेर्यो होला ? यसको राज भने अहिलेसम्म प्रायः रहस्यमै रहेको छ जनताका लागि ।
तर, अबको साठी दिनभित्रमा प्रधानमन्त्रीले आफ्नो सम्पत्ति विवरण र त्यसको स्रोत सार्वजनिक गर्लान् र जनताले थाहा पाउनलान् । तथापि केपी ओली एमालेभित्र आर्थिकरुपमा त्यति पारदर्शी नेताचाँहि मानिँदैनन् । विशेष गरी डनहरुको संरक्षण गरेको आरोप उनीमाथि लाग्ने गरेकै छन् । उनको दैनिक जीवनको खर्चको स्रोत एमाओवादी अध्यक्ष प्रचण्ड लगायत अधिकांश नेताहरुको जस्तै अपारदर्शी नै छ । ओलीको तुलनामा बरु माधव नेपाल सादगी नेता मानिन्छन् एमालेभित्र ।
ओलीले अब मुलुकलाई विकास र सम्वृद्धिको बाटोमा अघि बढाउने बताएका छन् । तर, भ्रष्टाचार र अपारदर्शिताको अन्त्य नगरेसम्म न विकास सम्भव छ, न सम्वृद्धि । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको आर्थिक जीवनको पाटो रहस्यमय नै छ अहिलेसम्म । पार्टीभित्र ठेकेदार र कमिसनखोरहरुले उनलाई घेरा हालेर राखेका छन् ।
५. अडान कम झ्वाँक बढी
ओलीका समर्थकहरुको दाबी बे छ भने उनी अडान भएका नेता हुन् । तर, उनका विगतलाई हेर्दा उनी अडान भएका भन्दा पनि अडान नभएका नेताचाँहि हुन् ।
जस्तो कि विगतमा उनी माओवादीकोप्रति अति आक्रामक थिए । अहिले एकाएक नजिकिएका छन् । विगतमा वामदेव र झलनाथलाई माओवादी नजिक भएको भन्दै ओलीले कडा आलोचना गरेका थिए । विगतमा भारतप्रति नजिक थिए, अहिले राष्ट्रवादी हुने र यसमा कसैसँग नझुक्ने बताइरहेका छन् । विगतमा कांगेससँग सहकार्य गरेका थिए, अहिले राप्रपा नेपाललाई समेत साथमा लिएका छन् ।
ओलीलाई अडान भएका नेता मान्नेहरुले उनको मधेसी र जनजातिप्रतिको व्यवहारलाई अडानको एउटा पहेली मान्ने गरेका छन् । साथै पहिचानसहितको संघीयताको विरोधमा ओलीले लिएको विचारलाई अडान मान्ने गरेका छन् । र, मधेसी समुदायलाई झरेका आँप भन्दै वास्ता नगर्ने ओलीको नीतिलाई उनको वैचारिक अडान ठान्ने गरेका छन् ।
तर, यो कुरा विचारणीय छ कि हिजो संघीयतालाई स्वीकार्न अन्कनाउने ओली यतिबेला संघीयतावादी बनेका छन् र अब उनी मधेसी र थारुको समेत पि्रयपात्र बन्नेतर्फ लाग्नेछन् । यो ओलीको सकारात्मक कदम नै हुने छ, तर यसले उनी अडान नभएका नेताका रुपमा थप प्रमाणित हुनेछन् ।
हो, प्रधानमन्त्री केपी ओलीले संघीयता विरोधी, मधेसविरोधी, उदार तानाशाह एवं ‘पहाडे राष्ट्रवादी’ हरुको सपनालाई साकार पार्ने नीतिलाई नै निरन्तरता दिए भने चाँहि ओली अडान भएका नेता मानिने छन् । तर, आशा गरौं, ओलीमा परिवर्तन आउने छ र उनी कठोर हैन, लचकदार एव्र अग्रगामी नेतामा रुपान्तरित हुनेछन् ।
प्रधानमन्त्री केपी ओलीको स्वागतयोग्य विशेषता भनेको उनी समय क्रमसँगै परिवर्तन हुन्छन् र विचारको बर्को फालेर व्यवहारिक बन्न तयार हुन्छन् । उनले प्रधानमन्त्रीको निर्वाचनकै दिन संसदमा भनिसकेका छन् कि उनी मधेसविरोधी, जनजाति विरोधी होइन, म व्यवहारबाटै यो शिद्ध गरेर देखाइदिनेछु ।
तर, विचार र अडानबाट भन्दा परिस्थिति एवं शक्ति सन्तुलनका आधारमा चल्न खोज्दा राम्रो बाटोमा आए त ठीकै छ, झ्वाँकका आधारमा अघि बढ्न खोज्दा ओलीले फेरि आफ्नो राष्ट्रवादको लबेदा त नफुकाल्लान् ? यो भय पनि सँगसँगै छ । कामना गरौं, त्यस्तो दुर्घटना उनीबाट नहोस् ।
साभार: अनलाइन खवर ।
प्रकाशित मिति:
Monday, October 12, 2015
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।