जनसेनाका पूर्व कमाण्डर पासाङ उपराष्ट्रपति निर्वाचित

२०७२ कात्तिक १४ ।  एमाओवादी स्थायी समिति सदस्य नन्दकिशोर पुन ‘पासाङ’ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

आज भएको उपराष्ट्रपतिको निर्वाचनमा पासाङ उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । एमाओवादीका सांसद जनार्दन शर्माले पासाङले ३२५ मत ल्याएको जानकारी दिँदै कांग्रेसका उम्मेद्वार अमिय यादवले २१२ मत ल्याएको र १०  मत बदर भएको बताए । केहिबेरमै बस्ने संसद बैठकबाट औपचारिक घोषणा हुने उनको भनाई छ ।

यसअघि दिउँसो २ बजेसम्म चलेको निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचनमा ५४७ मत खसेको थियो ।

संविधानसभामा रहेको कुल ५९६ सांसद मध्ये ५४७ जनाले मतदानमा भाग लिएका हुन् । आजको मतदानमा आन्दोलनरत मधेसी मोर्चाका सांसदहरुले सहभागिता जनाएनन् । यस्तै एमालेकी सांसद प्रभादेबी बज्राचार्य र यसअघि राष्ट्रपतिको निर्वाचनमा भाग लिने मधेसी मोर्चामा आबद्व दलकी माधवी शाहले भाग लिएनन् । यस्तै राष्ट्रपति भएकी विद्या भण्डारीले सांसदबाट राजीनामा दिइसकेकी भएकाले उनी पनि सहभागि भइनन् ।

पासाङ तत्कालिन माओवादीले गरेको सशस्त्र जनयुद्वका सैनिक कमाण्डर हुन् ।

प्रकाशित मिति: Saturday, October 31, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।