चीनबाट इन्धन ल्याउन बेइजिङ सम्झौता, भारतीय एकाधिकार तोडियो

२०७२ कात्तिक ११ । भारतको नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भइरहेको बेला चीनबाट इन्धन ल्याउने व्यवसायिक सम्झौता भएको छ । यससँगै नेपालमा इन्धन आपूर्तिमा भारतीय एकाधिकार तोडिएको छ ।

नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो–चाइना) बीच बुधबार इन्धन आपूर्तिबारे व्यवसायिक सम्झौता भएको हो । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बेइजिङमा भएको सम्झौतामा चीनबाट नेपालमा पेट्रोल, डिजल र अन्य पेट्रोलियम पद्धार्थ चीनबाट नेपाल ल्याउन संरचना बनाउने उल्लेख छ । चीनस्थित नेपाली दूताबासले विज्ञप्ति जारी गर्दै सम्झौता भएको जानकारी गराएको छ । तर, चीनबाट कहिलेबाट र कति परिमाणमा तेल ल्याउने भन्ने थप खुलाइएको छैन ।

इन्धन आपूूर्तिसम्वन्धी सम्झौतामा हस्ताक्षर गर्नुअघि राजदूत महेश मास्के नेतृत्वको नेपाली टोलीले मंगलबार विदेशमन्त्रीसँग र बुधबार बिहान वाणिज्य मन्त्रीसँग छलफल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशसहितको उच्चस्तरीय टोलीले चीनबाट इन्धन आपूर्ति गर्ने नीतिगत सहमति गरेपछि यो प्रक्रिया अघि बढेको थियो ।

चिनियाँ पक्षसँग भएको सम्वादका आधारमा नेपाल सरकारले सम्झौता गर्ने अधिकार दिएर राजदूतको नेतृत्वमो टोली बेइजिङ पठाएको थियो । बेइजिङस्थित नेपाली दूताबासका अनुसार बुधबार नै चीनले पूर्व घोषणा गरेको १ हजार मेट्रिक्टन पेट्रोल नेपाललाई अनुदान दिनेबारे पनि सम्झौता भएको अनलाइन खबरमा समाचार छ ।

प्रकाशित मिति: Wednesday, October 28, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।