ओली ३३८ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित

२०७२ असोज २४ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएको छन्। संसद्‍को आइतबारको बैठकमा भएको मतदानमा ओली स्पष्ट बहुमतसहित निर्वाचित भएका छन्।

वर्तमान प्रधानमन्त्री सुशील कोइराला पराजित भएका छन्। ओलीले ३३८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी कोइरालाले २४९ मत प्राप्त गरेका छन्।कांग्रेसबाहेक संसद्‍का अधिकांश दलले उनलाई समर्थन गरेका छन्। 

ओलीलाई एमाओवादी, राप्रपा नेपाल, राप्रपा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)लगायत अधिकांश साना दलहरुले समर्थन गरेका छन्। उनलाई प्रधानमन्त्री हुनका लागि हाल कायम संसद्को कुल संख्या ५९७ मध्ये २९९ मत मात्रै आवश्यक थियो। तर उनले  तीन सय मत प्राप्त गरेका छन्। कांग्रेसबाट उम्मेदवार बनेका सुशील कोइरालालाई कांग्रेसबाहेक संयुक्त मधेसी मोर्चाले मात्र मत दिएका छन्।

द्वन्द्वका बेला एमाओवादीको कटु आलोचक रहेका ओली एमाओवादीकै प्रस्ताव र समर्थनमा प्रधानमन्त्री बनेका छन्। झन्डै पाँच दसकदेखि राजनीतिमा सक्रिय ओली स्पष्ट र प्रखर वक्ता मानिन्छन्।

संविधान निर्माणमा मुख्य दलहरुबीच सहमति जुटाउन ओलीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। जनताका प्रतिनिधिले बनाएको संविधानअनुसार पहिलो प्रधानमन्त्री बन्ने अवसर ओलीले पाएका छन्। ओली एमालेबाट निर्वाचित हुने चौथो प्रधानमन्त्री हुन् भने कम्युनिष्ट पार्टीबाट प्रधानमन्त्री हुने छैठौं प्रधानमन्त्री हुन्।  

२०२२ सालदेखि कम्यूनिष्ट राजनीति सुरु गरेका केपी शर्मा ओलीको जन्म ११ फागुन २००७ तेह्रथुममा भएको हो।२०२८ सालको झापा बिद्रोहको नेतृत्व गरेका थिए। २०३२ सालमा राजकाज अभियोग लागेर उनी १४ वर्ष निरन्तर जेलमा परेका थिए। ओली २०४८ सालको संसदीय चुनावमा झापा–६ बाट पहिलो पटक निर्वाचित भएका थिए। उनी २०५१ सालमा एमालेको ९ महिने सरकार हुँदा गृहमन्त्री भएका थिए। त्यस यता उनी उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री पनि भएका थिए।

२०५१ र २०५६ मा पनि झापा–६ बाटै निर्वाचित भएका उनी २०५१ सालमा एमालेको अल्पमतको सरकारमा गृहमन्त्री भए। २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा झापा–७ बाट  पराजित भए पनि त्यसपछि २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने ओली विजयी भए । 

२०४९ सालमा नेकपा एमालेको स्थायी कमिटी सदस्य भएका उनी  २०६३ मा उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । एमालेको बुटवल अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका ओली त्यसबेला निवर्तमान अध्यक्ष झलनाथ खनालसँग पराजित भएका थिए । हाल उनी एमाले संसदीय दलको नेतासमेत हुन् ।

अठार महिनासम्म आफूलाई साथ दिदै आएको एमालेको उम्मेदवारीलाई नसघाउने निर्णयसहित अन्तिम क्षणमा कांग्रेसले कोइरालालाई उम्मेदवार बनाएको थियो।

संविधान जारी भएपछि एमालेलाई सरकारको नेतृत्व दिने कांग्रेससहितका मुख्य दलहरुबीच भएको भद्र सहमतिलाई तोड्दै कांग्रेसले उम्मेदवारी दिएपछि तीन दलको सहयात्रा संकटमा परेको छ। एमाले र एमाओवादीका नेताहरुले मतदानको दिन आइतबार बिहानसम्म पनि सहमति र सहयोगका लागि कांग्रेसका नेताहरुलाई आग्रह गरेका थिए। 

संविधानसभाको दोस्रो चुनावपछि संविधान निर्माण र सत्ता साझेदारी सम्बन्धमा २०७० माघ २६ मा कांग्रेस र एमालेबीच सातबुँदे सहमति भयो । त्यही सहमतिअनुसार एमालेको समर्थनमा सुशील प्रधानमन्त्री बनेका थिए।

सात बुँदेमा नलेखिए पनि संविधान बनेपछि एमालेलाई सरकारको नेतृत्व दिने भद्र सहमति भएको खुलासा त्यतिबेला पनि दुवै पक्षले नेताहरुले गरेका थिए।
गत जेठ २५ गते  मुख्य चार शक्तिहरुबीच संविधान निर्माणका लागि १६ बुँदे सहमति हुँदा पनि संविधान बनेपछि ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको कुरा नेताहरुले सार्वजनिक रुपमा बोलेका थिए। सुशीलले संविधान बनेको भोलिपल्ट राजीनामा दिन्छु भनेर पटकपटक सार्वजनिक रुपमा बोलेका थिए।

संविधान जारी भएपछि गत असोज १५ गते संसद्को बैठकलाई सम्बोधन गर्ने क्रममा पनि उनले त्यही प्रतिवद्धता दोहोर्‍याउँदै पद त्यागको घोषणा गरेका थिए। 
साभार: अन्नपूर्ण पोष्ट 

प्रकाशित मिति: Sunday, October 11, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।