कोइराला फेरि प्रधानमन्त्री बन्ने सम्भावना

२०७२ असोज १७ । कांग्रेस–एमालेबीचको बहुप्रचारित सहमतिविपरीत प्रधानमन्त्री सुशील कोइराला आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने अभ्यासमा लागेका छन् । 

सहमतिअनुसार संविधान जारी भइसकेपछि प्रधानमन्त्रीका रूपमा केपी ओलीले विस्थापित गर्ने भनिए पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार कोइरालाले आफूलाई नयाँ प्रधानमन्त्रीमा समर्थन गर्न सहयोगको याचना गरेका थिए ।

शनिबार साँझ प्रधानमन्त्री निवासमा कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच भेट भएको थियो । दुई नेताबीच भएको छलफलमा कोइरालाले पहिलोपटक मुख खोलेर आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठन गर्न एमाओवादीलाई आग्रह गरेका हुन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति रामवरण यादवले दलहरूलाई आह्वान गरेको दोस्रो दिन कोइरालाले आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत सुरु गरेका हुन् । ‘प्रधानमन्त्रीले कांग्रेस र एमाओवादी मिलेर बहुमतीय सरकार गठन गरौं भनेर प्रस्ताव राख्नुभयो’, एमाओवादी अध्यक्ष दाहाल निकट स्रोतले अन्नपूर्णसँग भन्यो ।

साँझ झन्डै एक घन्टा प्रधानमन्त्री कोइराला र दाहालबीच एक्लाएक्लै वार्ता भएको थियो । वार्तामा दाहालले भने सहमतीय सरकार गठनको आग्रह गरेको बताइएको छ । ‘अध्यक्षज्यूले तीन दलबीचको एकता र १६ बुँदे सहमतिको स्प्रिटअनुसार सहमतीय सरकार गठनको आग्रह गर्नुभएको थियो’, दाहालका स्वकीय सचिव चूडामणि खड्काले भने ।

स्रोतका अनुसार कोइरालाले एमाले नेतृत्वमा सरकार बनाउन मधेसी दललगायतका राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थनसमेत नहुने भएकाले संविधान संशोधन गरेर सबैको सहमति बनाउने गरी आफ्नो नेतृत्वमा नयाँ सरकार गठन आवश्यक भएको तर्क गरेका थिए । 

कोइरालाले मधेसी दलसँग वार्तामार्फत संविधान संशोधन गर्ने र अहिले देखिएको नाकाबन्दीलगायतका समस्याको सहज समाधानका लागि पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्न आवश्यक भएको धारणा दाहालसमक्ष राखेका थिए ।

सत्ता साझेदार एमालेले प्रधानमन्त्रीबाट राजीनामा गर्न दबाब दिएपछि कोइरालाले सरकार गठनको बाटो खोले पनि राजीनामा गरेका छैनन् । उनको राजीनामा नआएपछि एमाले कांग्रेस नेतृत्वसँग रुष्ट बनेको छ । शनिबार एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिन चलखेल भइरहेको बताएका थिए ।

कांग्रेसभित्र संविधान जारी भइसकेको अवस्थामा फेरि संयुक्त सरकार आवश्यक नभएको भन्दै आफ्नै नेतृत्वमा बहुमतीय सरकार गठन गर्न वा प्रतिपक्षमा बस्न तीव्र दबाब परेको छ । आगामी चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने एमालेसँग सत्तामा साझेदार गर्न नहुने कांग्रेस नेताहरूको तर्क छ ।

स्रोतका अनुसार शनिबार बिहान आफू निकट नेताहरूसँग कोइरालाले संसदीय दलको चुनाव गर्न अहिले सम्भव नभएको भन्दै आफैं प्रधानमन्त्रीको उम्मेदवार हुने धारणा राखेका थिए ।
आफ्नो टिमसँग छलफल गरेपछि कोइरालाले एमाओवादीसँग औपचारिक रूपमा सरकार गठनका विषयमा छलफल गरेका हुन् । 

‘संविधान अझै पूर्ण नभएकाले आफूले सुरु गरेको काम आफैं फत्ते गर्न प्रधानमन्त्री अग्रसर हुनुभएको हो’, कोइरालाको क्याबिनेटमा भएका एक मन्त्रीले नाम नबताउने सर्तमा भने, ‘संविधान सबैले स्वीकार गर्ने गरी संशोधन गरी सहज वातावरण बनेपछि उहाँले पद छोड्नुहुन्छ ।’

कोइरालाले आफ्नै नेतृत्वमा सरकार गठनको कसरत सुरु गरेपछि राष्ट्रपतिले आह्वना गरेअनुसार सहमति सरकार गठन नहुने निश्चित भएको छ । संविधान जारी गर्न डेढ वर्षदेखिको कांग्रेस र एमालेको सम्बन्ध पनि तोडिने भएको छ । एमालेले आफ्नो नेतृत्वमा सरकार गठनका लागि यसअघि नै कसरत सुरु गरिसकेको छ ।

दुई ठूला दलबीच सरकार गठनमा विवाद देखिएपछि एमाओवादीलगायतका अन्य दलहरूको समर्थन जसलाई भयो उसैको नेतृत्वमा सरकार गठन हुने सम्भावना देखिएको छ । कांग्रेसलाई एमाओवादीसँग गठबन्धन भए बहुमत पुर्‍याउन १० सिट मात्रै बाँकी रहन्छ भने एमाले र एमाओवादीबीच गठबन्धन भए उसलाई अन्य ३१ सिट आवश्यक पर्छ । अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति: Sunday, October 04, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।