मधेसीको धर्नास्थल हुँदै हतियारसहित भारतीय फौज नेपाल प्रवेश

२०७२ कात्तिक १४ । मधेशी दलका नेता कार्यकर्ताले वीरगन्ज रक्सौल नाकाको दसगजा क्षेत्रमा डेढ महिना देखि धर्ना दिएर नाकाबन्दी गरेका छन्। तर शुक्रबार राति त्यही धर्नास्थल हुँदै हतियार र बर्दी सहितका भारतीय प्रहरी नेपाल प्रवेश गरेका छन्।

शुक्रबार बेलुकी आठ बजेतिर बी आर ३३ एम ७६१६ नम्बरको बोलेरो र बि आर ०९ आर ३९५३ नम्बरको स्कार्पियो गाडीमा सवार डिएसपी सहितका भारतीय प्रहरीहरु नेपाल छिरेका हुन् । वीरगन्ज र रक्सौल नाका बीचको मितेरी पुलमा दिनरात २४ सै घण्टा धर्ना दिएका आन्दोलनकारीहरुले सवारी सधानको आवागमन ठप्प पारे पनि शुक्रबार बेलुकी हतियार र बर्दि सहितका भारतीय प्रहरी सवार दुवै गाडी धर्ना जारी रहेकै मितेरी पुल पार गरेर वीरगन्ज प्रवेश गरेका हुन्।

धर्नामा बसेकै दिन देखि आन्दोलनकारीले मितेरी पुलबाट साइकल, मोटरसाइकल र रिक्सा बाहेक अन्य कुनै पनि सवारी साधन आउजाउ गर्न दिएका छैनन् । तर शुक्रबार बेलुकी भने धर्नामा बसेका आन्दोलनकारीहरुले भारतीय प्रहरी सवार दुवै गाडीलाइ कुनै अवरोध र रोकटोक नगरि नेपाल छिर्न दिएका थिए। मितेरी पुल पार गरेर इनर्वा स्थित शंकराचार्यद्धारमा पुगेका भारतीय प्रहरीका दुवै गाडीलाइ नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँच गरेका थिए । चेकजाँचका क्रममा नेपाली प्रहरीले भारतीय प्रहरीको बर्दि खोल्न लगाएका थिए।

नेपाली प्रहरीले गाडी भित्र भने चेकजाँच नगरेका कारण भारतीय प्रहरीहरु हतियार सहित नै वीरगन्जको आदर्शनगर तर्फ गएका थिए । भारतीय प्रहरीको गाडी भित्र एसएमजी सहितका हतियार राखिएको थियो । इनर्वा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक पुरुषोत्तम सुबेदीले भने डिएसपी सहितका भारतीय प्रहरी सवार दुइ वटा गाडी शुक्रबार बेलुकी मितेरी पुल हुदै वीरगन्ज भित्रिएको बताए।

एउटा गाडीमा जम्मुका र अर्को गाडीमा मध्यप्रदेशका प्रहरी थिए ,उनले भने , उनिहरुसंग हतियार भने थिएन ,बर्दि लगाएकाहरुलाइ खोल्न लगाएर सिभिल ड्रेसमा आदर्शनगर तर्फ पठाइदियौ । नेपाल प्रवेश गरेका भारतीय प्रहरीहरु वीरगन्जको आदर्शनगरमा किनमेल गरेर शुक्रबार राति नै भारत फर्किएको पनि उनले बताए ।

पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले पनि शुक्रबार बेलुकी भारतीय प्रहरी सवार गाडी वीरगन्ज प्रवेश गरेको स्वीकारे । तर उनले भारतीय प्रहरीले हतियार भने नबोकेको बताए ।एउटा गाडीमा सिभिल ड्रेसका र अर्को गाडीमा बर्दिधारी प्रहरी थिए , उनले भने , बर्दि लगाएकाहरलाइ सीमा नाकाबाटै भारत फर्काइ दियौ , सिभिल ड्रेसमा रहेकाहरुलाइ मात्रै  वीरगन्ज छिर्न दियौं।

चेकजाचका क्रममा नेपाली प्रहरीले सोधपुछ गर्दा भारतीय प्रहरीहरुले आफुहरु वीरगन्ज बजार घुम्न र किनमेलका लागि आएको बताएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । यसअघि शुक्रबार बिहान पनि हतियार र बर्दि सहितका भारतीय प्रहरी सवार दुइ वटा गाडी मितेरी पुल भएरै वीरगन्ज प्रवेश गरेका थिए । 
 भारतको सेन्ट्रल रिजर्भ पुलिस फोर्स ९सिआरपिएफ०का दुइ जना डिएसपी सहितका चार जना भारतीय प्रहरी सवार दुवै गाडी मितेरी पुल पार गरेर वीरगन्ज प्रवेश गरेको इनर्वा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक सुबेदीले बताए।

उनिहरुको साथमा एके ४७ र एमकेपी गरि दुइ वटा अत्याधुनिक हतियार पनि रहेको प्रनानि सुबेदीले बताए । शुक्रबार बिहान हतियार र बर्दि सहित नेपाल छिरेका भारतीय प्रहरीलाइ दुइ घण्टा नियन्त्रणमा लिएर राखिएको र सोधपुछ गरेर भारत फर्काइदिएको उनले बताए । भुलवश नेपालको सीमामा छिरेको भन्दै आत्मआलोचना गरे पछि उनिहरुलाइ भारत फर्काइएको प्रनानि सुबेदीले बताए । 

धर्ना र नाकाबन्दी जारी रहेकै बेला गत असोज २ गते राति पनि भारतीय सुरक्षाकर्मी सवार भ्यान सीमापारी रक्सौलाबाट मितेरी पुलबाट वीरगन्ज छिरेको थियो । 
मध्यप्रदेशका एसपी अरबिन्द प्रसाद वरकडे सहित पाँच जना बर्दिधारी प्रहरी सवार एम पी ओ ३ ए १९१५ नम्बरको जिप धर्ना जारी रहेको नाका हुदै वीरगञ्ज प्रवेश गरेको खबर पाएपछि नेपाल प्रहरीले गण्डक चोकमा चेकजाँच गर्दा उक्त गाडीबाट एक  थान एके ४७ राइफल र त्यसमा प्रयोग हुने ३० राउण्ड गोली बरामद भएको थियो ।

त्यसपछि नेपाल प्रहरीले उक्त गाडीलाइ त्यही राति वीरगन्जबाट भारत फर्काइ दिएको थियो ।मधेशी मोर्चाका नेता एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष यादवले भने नाकाबन्दी र धर्ना शुरु भएका दिन देखि मितेरी पुल पार गरेर कुनै पनि भारतीय गाडी नेपाल प्रवेश नगरेको दाबी गरे । साभार: अन्नपूर्णपोष्ट ।

प्रकाशित मिति: Saturday, October 31, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।