नेता, मन्त्री लगायतको दबाबमा निगममा धमाधम करारमा कर्मचारी

२०७२ असोज २२ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले स्थायी नियुक्तिको प्रक्रिया बेवास्ता गर्दै धमाधम करार कर्मचारी भर्ना गरको छ । निगमले दुई महिना अगाडि मात्रै चारदेखि ६ तहसम्मका एक सय ४८ पदमा स्थायी नियुक्तिका आवेदन मागेको थियो । 

यी पदमा परेका ४१ हजारको आवेदनलाई लत्याउँदै निगम व्यवस्थापनका आफन्त, नेता तथा कार्यकर्ता र संसद् सदस्यको सिफारिसमा धमाधम कर्मचारी भर्ना गरिएको निगम स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार सुगतरत्न कंसाकार निगमको कार्यकारी अध्यक्ष भएपछि मन्त्री र आफन्तका साढे चार सय व्यक्तिले करारमा जागिर खाइसकेका छन् । निगम स्रोतले दिएको जानकारी अनुसार केन्द्रीय कार्यालय न्युरोड र विमानस्थलमा गरी करिब साढे चार सय कर्मचारी करारमा भर्ती भएका हुन् ।

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाको दबाबमा ३० जनालाई नियुक्ति दिइएको निगम उच्च स्रोतले बताएको छ । निगमले सवारी चालक, अपरेटर्ससहित तीन तहका जुनियर सहायकदेखि पाँचौ तहसम्ममा कर्मचारी नियुक्ति गरिरहेको छ । 

दुई महिना अगाडि २० सवारी चालक र २० जना अपरेटर्स आवश्यक भएकोले नियुक्ति दिएको निगमले बताएको थियो । त्यतिबेला नैे नियम विपरीत ६० जना भर्ना गरिएको थियो । पछिल्लो एक महिनामा मात्रै ७० जनाभन्दा बढी नियुक्त भएको निगम स्रोतको भनाइ छ ।

निगमका विभिन्न १४ वटा विभाग अन्तर्गत प्रत्येकमा कम्तीमा पाँच जना नियुक्त भएका छन् । यो संख्याको हिसाबले पनि ७० जनाभन्दा बढीलाई जागिर लगाइएको छ । निगममा करामा नियुक्ति लिनेमा सबैभन्दा बढी तीन तहका कर्मचारी छन् ।

स्रोतका अनुसार निगमका कर्मचारी संघ र युनियनकै मिलेमतोमा करार नियुक्ति दिने क्रम बढेको हो । पछिल्लो समय नेपाल वायुसेवा निगम (नेवानि) कर्मचारी युनियनका अध्यक्ष र महासचिवकै आफन्त, नेपाल कर्मचारी संघका अध्यक्षका आफन्तसहतिका व्यक्ति करारमा नियुक्त भएको दाबी स्रोतको छ । मन्त्रीले कर्मचारीसँगको सहकार्यमा आफन्त नियुक्ति गरिएकाले पनि पछिल्लो समय निगम आफन्त भर्ती केन्द्र बन्दै गएको छ ।

निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले मन्त्रायबाट सिफारिस भएका व्यक्ति जागिरका लागि ओइरो नै लाग्ने गरेको बताए । उनका अनुसार आएजति सबैलाई रोजगारी दिने हो भने थामिनसक्नु छ । 

दुई महिना अगाडि विमानस्थलमा काम गर्र्ने सहयोगी कर्मचारी राखेको भए पनि अहिले भने कोही पनि नियुक्त नभएको दाबी कंसाकारको छ । निगममा दिनहुँजसो राजनीतिक पार्टीका शीर्ष नेता, सांसद्देखि मन्त्रालयबाट समेत नियुक्तिका लागि दबाब आउने गरेको छ । कंसाकारले यो सम्भव नभएकोले फिर्ता पठाउने गरिएको जानकारी दिए । 

‘एक जना भर्ना गर्न नसक्नेले कसरी निगम चलाउनुहुन्छ भन्दै शीर्ष नेताकै फोन आउँछ, मैले भने जहाज किन्नभन्दा कर्मचारी भर्ना गर्न गाह्रो छ भन्दै जवाफ दिने गरेको छु’ , कंसाकारले भने । 

आफ्ना मान्छे नियुक्त नगरेको भन्दै केही दिन अगाडि एक जना माननीय झगडा नै गर्न आएको कंसाकारले सुनाए । केहीबेरको भनाभनपछि ती माननीयलाई सम्झाएर पठाएको उनले जानकारी दिए ।

विमानस्थलमा भने करारमा काम गर्ने कर्मचारी नराख्ने हो भने कामै गर्न नसकिने भएकोले २० जना सवारी चालक र अपरेटर्स राखिएको निगमको भनाइ छ । निगममा अहिले करारमा मात्रै करिब दुई सय जना कार्यरत रहको कंसाकारले जानकारी दिएका छन् ।

नेवानी कर्मचारी युनियनका अध्यक्ष राजनप्रसाद उप्रेती करारमा कर्मचारी नियुक्ति प्रक्रिया निगम संगत नरहेकोले आफूहरूले विरोध गरेको दाबी गर्छन् । उनका अनुसार निगमका कुनै पनि कर्मचारी संगठनले करार नियुक्तिलाई समर्थन गरेको छैन् । 

सवारी चालक राख्दा पनि निश्चित नियम र प्रक्रिया हुन्छ । त्यो विपरीत सरकारी गाडी चलाउन ज्यालादारी कर्मचारी राख्न नपाइने तर्क उप्रेतीको छ ।जुनियर सहायकका नाममा पछिल्लो समय एकै पटक ४० जनाभन्दा बढी नियुक्त भएको जानकारी उनले दिए । पछिल्लो एक महिनामा मात्रै यस्तो नियुक्तिको संख्या ६० जनाभन्दा बढी छ ।

करारका कर्मचारी हटाउने विषयमा एक साता अगाडि मात्रै निगमको मानव संसाधन विभागका निर्देशकको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको नेपाल राष्ट्रिय कर्मचारी कर्मचारी संगठन (नेवानि)का अध्यक्ष मनोज शाहले बताए । 

उनका अनुसार यो समितिले निगमभित्र नियुक्ति भएका सबै करार कर्मचारी हटाउने भनेपछि एकपटक मात्रै बैठक भएकोले निष्कर्षमा पुग्न सकिएको छैन । इन्फो निगमले सवारी चालक, अपरेटर्ससहित तीन तहका जुनियर सहायकदेखि पाँचौ तहसम्ममा कर्मचारी नियुक्ति गरिरहेको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति: Friday, October 09, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।