कोइरालाको बहिर्गमनकालमा उच्च विवाद

२०७२ असोज २४ ।  कांग्रेसले उम्मेदवारी दिने वा नदिने भन्ने चर्को विवादका बीच पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई फेरि प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ। 

बुधबारदेखि लगातार तीन दिनसम्म चलेको केन्द्रीय कार्य समितिले निर्णय गर्न नसकेपछि प्रधानमन्त्रीको उम्मेदवारी दिने दिन शनिबार बिहान कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई बोलाएर आफैं उम्मेदवार हुने निर्णय सुनाएका हुन्।

बालुवाटार उच्च स्रोतका अनुसार कोइरालाले पार्टीबाट नयाँ उम्मेदवार बनाउँदा विधानअनुसार दलको नेता हुनुपर्ने भएकाले समय अभावमा आफैं हुनुपर्ने अवस्था आएको बताएका थिए। 

'असोज २०, २१ र २२ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको नेतृत्वमा अधिकतम बहुमतीय सरकार निर्माण गर्ने सन्दर्भमा गम्भीर छलफल र रायसुझावसहित पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई जिम्मा दिएअनुसार संविधानको धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्री पदका लागि यही असोज २४ गते सम्पन्न हुने निर्वाचनमा कांग्रेसका तर्फबाट पार्टी सभापति एवं संसदीय दलका नेता सुशील कोइरालालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरियो,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

स्रोतका अनुसार कोइरालाले आफू प्रधानमन्त्री निर्वाचित हुने निश्चित रहेको भन्दै देउवा र पौडेललाई मनाएका थिए। शनिबार बिहान कोइराला, देउवा र पौडेलबीच सहमति भएपछि केन्द्रीय समितिले औपचारिक रूपमा उम्मेदवारको निर्णय गरेको हो। 

कोइरालालाई मधेसवादी दलहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएको स्रोतले बतायो।कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले शनिबार साँझ अपिल जारी गरी कोइरालाका पक्षमा मतदान गर्न सबै दललाई आग्रह गरेका छन्। 

अपिलमा वर्तमान समयमा मुलुकमा देखापरेको राजनीतिक ध्रुवीकरणले यथार्थमा राष्ट्र र समाजको तत्कालीन र दीर्घकालीन हित हुन नसक्ने भन्दै विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण र नवनिर्माणको चुनौतीपूर्ण कार्य सम्पन्न गर्नका निमित्त देशमा राजनीतिक स्थिरता र दिगो शान्ति कायम गर्न पनि कोइरालाकै नेतृत्वमा सरकार आवश्यक भएको उल्लेख छ।

सहमहामन्त्री खड्काद्वारा राजीनामा
तीन दलबीचको एकता तोडेर पार्टी सभापति आफैं उम्मेदवार बन्ने निर्णयप्रति असहमति राख्दै कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले आफ्नो पदबाट राजीनामा गरेका छन्। 

उनले यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि तीन दलबीचको एकता तोड्न नहुने भन्दै एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गर्नुपर्ने अडान राख्दै आएका थिए।

उनले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सभापतिले मनोनयन गरेको पदबाट राजीनामा गरेका हुन्। यद्यपि उनले केन्द्रीय सदस्यबाट भने राजीनामा गरेका छैनन्। खड्काले संविधान जारी भएपछि राजीनामा गर्छु भन्ने सार्वजनिक प्रतिबद्धता गरेको व्यक्तिले फेरि उम्मेदवारी दिने निर्णय गर्नुले १६ बुँदे सहमति तोड्दै दलहरूबीचको संविधान निर्माणको सहमति भत्कने भन्दै गम्भीर असहमति राखेका थिए। 

'जसले मलाई सहमहामन्त्री मनोनीत गर्‍यो ऊसँग मेरो मौलिक असहमति भएकाले मैले राजीनामा गरेको हुँ,' खड्काले अन्नपूर्णसँग भने। 

उनले कोइरालाले फेरि प्रधानमन्त्रीको उम्मेदवार हुनु एक सय एक प्रतिशत गलत भएको बताउँदै आमकार्यकर्ता र जनता नै बेखुसी हुनेगरी आएको निर्णयको विरोध गरेका हुन्। उनले अब राजनीतिले गम्भीर मोड लिएको पनि बताए।

कालोसूचीमा नपर्नुहोस्: ओली
एमाले अध्यक्ष केपी ओलीले प्रमुख दलहरूबीच भएको सहमतिबाट पछि हटेर कालोसूचीमा नपर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालालाई आग्रह गरेका छन्। संसद्‌भवन नयाँबानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै ओलीले यसबारे जानकारी दिएका हुन्।

‘मैले बैठकलाई सम्बोधन गर्नुभन्दा केही समयअगाडि प्रधानमन्त्री कोइरालाको फोन आयो, फोनमा उहाँले कांग्रेसका दुई नेताले प्रधानमन्त्रीमा उम्मेदवारी दिन निर्णय गरेकाले आफूले उम्मेदवारी दिने सुनाउनुभयो। 

जबाफमा मैले त्यसो नगर्नुस्, त्यसो गर्नुभयो भने कांग्रेसमा मात्र होइन जनताको मन मनमा तपाईं कालोसूचीमा पर्नुहुन्छ भने,'ओलीलाई उद्धृत गर्दै एमाले केन्द्रीय सदस्य एवं सांसद यज्ञराज सुनुवारले भने।

ओलीले विगतमा भएको ७ बुँदे र १६ बुँदे सहमतिको ख्याल गर्न र संविधान कार्यान्वयनको चुनौतीलाई सामना गर्न पनि सहकार्य आवश्यक भएको बताएका थिए।

'विगतमा सुशील कोइरालालाई प्रधानमन्त्री बनाउँदा म आफू प्रस्तावक बसेको थिएँ, अहिले त्यो जिम्मेवारी अब तपाईंले निर्वाह गर्नुपर्छ,’ कोइरालालाई ओलीले भनेका थिए। अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति: Sunday, October 11, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।