प्राकृतिक र ऐतिहासिक धरोहर हतुवागढी

  • विद्या राई 
२०७२ कात्तिक २४ । भोजपुर जिल्लाको दक्षिणी भेग विकासले दुर्गम मानिए पनि प्राकृतिक, साँस्कृतिक तथा ऐतिहासिक रुपमा सुगम रहेको छ । यहाँ रहेको हतुवागढी दरबार क्षेत्र यही सुगमताभित्रको प्राकृतिक र ऐतिहासिक धरोहरका रुपमा पाउन सकिन्छ । प्रकृतिले धनी हतुवागढी समुद्री सतहदेखि करिब १५ सय मिटर माथिको उचाइमा पर्छ । 

मनमोहक सौन्दर्यले भरिपूर्ण गढीमा सियो जस्तै तिखा चिल्ला हरीयोपाते  ठिगुरे र गोब्रे सल्लाका बोटहरु छन् । सिरु र दुवो घारीले गुण्टा ओछ्याए झै लाग्ने हरिया र फाटिला चौरहरु छन् । अझ फागुन र चैत्रको महिनामा बनै राताम्मै हुने गरी ढकमक्कै फुल्ने लालीगुरासले मनै गमक्क पारीदिन्छ । विभिन्न चराचुरुगींको चिरीविरी र जंगली जनावरहरुको लुकामारी उस्तै आकर्षक हुने गरेको छ । यहाँबाट सदाबहार मुस्कुराईरहेझै लाग्ने मकालु र कन्चनजंघा हिमाललाई प्रष्टसंग देख्न सकिन्छ । यस्तैे वरपरको प्राकृतिक दृश्यावलोकनले भरपुर मनोरञ्जन पाउन सकिन्छ ।  भोजपुरको प्रसिद्ध स्थल ट्याम्केडाँडा, तेह्रथुमको ह्यातुगं झर्ना लगायतको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । अनुभवीहरुका अनुसार मौसम सफा भएको बेला तराईका फाँटहरु, छिमेकी देश भारतका केही ठाँउहरु देख्न सकिन्छन् ।

यसरी हतुवागढीले प्राकृतिक दृष्टीकोणमा जति महत्व बोकेको छ, त्यति नै धेरै ऐतिहासिक तवरले छुट्टै अस्तित्व बोकेको छ । पृथ्वीनारायण शाहको शासनकालमा हमला गर्नु अघि हतुवा क्षेत्रमा किराती राजा अटल सिहंले राज्य सञ्चालन गर्दै आएका थिए । शाहको हमलामा उनले हारेपछि त्यहाबाट भागेका थिए । त्यसपछि दरबारको संरक्षणको अभावले भग्नाबशेषमा परिणत भएको छ । राजाले राज्य सञ्चालन गर्दा उनले बस्न प्रयोग गरेको ढुंगा, जातो लगायतको केही पुरातात्विक बस्तुहरु अझैपनि देख्न सकिन्छ । हाल हतुवागढी दरबार क्षेत्रमा नेपाली सेनाको व्यारेक बस्र्दै आएको छ ।    

स्थानीयहरुकै अनुसार अहिलेको घोरेटार बजार रहेको ठाँउ समथर थियो । किराती राजा घोडा दौडमा सौखिन थिए । राजाले गढीबाट आफ्नो घोडालाई  दौड्याउदै ल्याएर सोही समथर ठाँउमा चराउने गर्दथे । र सो स्थललाई घोडेटार नामाकरण गरिएको थियो । जुन अपंभ्रश भै कालान्तरमा आई घोरेटार भनिएको हो । यस्तै घोरेटार बजारमा रहेको भविष्यबक्ता पोखरीले देशमा हुन लागेको अवस्थाको बारे भबिश्यबाणी गर्ने गर्दथ्यो । पोखरीको सङ्लो पानीको रंगमा परिवर्तन आइ रातो रंगको हुदा अनिष्ट हुने संकेत दिने गर्दथ्यो । त्यसैले पोखरीको नाम भविश्यबक्ता राखिएको धारणाहरु गाँउघरमा अझै पनि सुन्न पाइन्छ । किराती राजाको हारसंगै हतुवाक्षेत्र छोडेपछि पोखरीको संरक्षणमा चासो नहुदा यतिबेला भग्नावशेषमात्र देख्न सकिन्छ ।

अहिले घोरेटारबजार दक्षिणी भेगको करीब एकदर्जन बढी गाविसको मुख्य व्यापारिक केन्द्र बनेको छ । पर्यटन व्यावसायको ठूलो सम्भावाना बोकेको ऐतिहासिक र साँस्कृतिक महत्वको धरोहर भएपनि हतुवागढीको संरक्षण र संबर्द्धनमा क्षेत्रबासी ठोस रुपमा लागिपरेको पाईदैन । जसले गर्दा हतुवागढी इतिहासमा मात्र सिमीत त छदैछ । विस्तारै त्यो इतिहास पनि मेटिदै जाने पक्का छ ।

हतुवागढीको सम्वर्द्धन, प्रवर्द्धन गरी स्थानीय तथा बाह्य पर्यटनको संस्थागत विकासमा क्षेत्रवासीले एकचित्त भै लाग्ने हो भने किरातहरुको इतिहास सधै ताजा रहने, पुरातात्विक सम्पदाको संरक्षण हुने मात्र नभई आयआर्जनको गत्तिलोमाध्यम समेत बन्न सक्नेछ ।

प्रकाशित मिति: Tuesday, November 10, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।