खुशिरामको यादमा समर्पण

२०७२ मंसिर ५ । विदेश गएर कमाएको पैसाले आफ्नी दिदीलाई गायिका बनाउने धोको पालेका थिए खुशिराम राईले । संगीतमा सानैदेखि रुचि देखाएकी दिदीलाई गायिका बनाउने सपना बोकेर विदेशिए खुशिरामको दुर्भाग्यवस उतै मृत्यु भयो ।

आफ्ना प्रिय भाइको विदेशमै मृत्यु भएपछि गायिका सुनिता राईले उनै भाइ खुशिरामको नाममा ‘फूल खेलाउने’ भएकी छन् । त्यही पीडामा छटपटाएर उनले गीत गाउन थालिन् र तयार भयो ‘समर्पण’ । यही समर्पण गीति एल्वमकी गायिका सुनिताले भाइको नाममा ठूली एकादशीको अवसर पारेर फुल खेलाइदिन लागेकी छन् ।

खोटाङ जिल्लाको माक्पा ३ बेप्लामा जन्मिएकी सुनिताको सपना पूरा भएको भाइले देख्न नपाए उनले भने भाइको सपना पूरा गरेकी छन् । तिहारपछि आउने ठूली एकादशीमा मारुनी नचाएर सायपत्री, मखमलीलगायत फूलको माला उनको नाममा समर्पण गर्न लागेको बताएकी छन् । त्यस्तै उनको गीति एल्बम ‘समर्पण’ पनि भाइलाई नै समर्पित गरेकी छन् ।

उनले यसपालीको तिहारमा भाइलाई सम्झेर आफूले धेरैबेर रोएर बिताएको सुनाउँदै उनले भनिन्, ‘मेरो भाइ जीवितै भएको भए सायद म कहिल्यै रुँदिन थिएँ होला ।’

उनले आफ्नो फेसबुक वालमा पनि भाइटीकाको दिन निकै भावुक स्टाटससमेत लेखेकी थिइन् । उनले आफ्नो भाइलाई सम्झेर लेखेकी छन्, ‘भाइ ! आज भाइटीकाको दिन तिमीलाई धेरै मिस् गरिरहेको छु । बारीभरि सायपत्री र मखमली फूलहरुले मलाई हेरिरहेका छन् । म एकनास आँखाबाट आँशुको भेल बगाएर सम्झिरहेकी छु ।’

उनले थप लेख्छिन्, ‘तिमीलाई अब यसपालि ठूलो एकादशीमा फूलैफूलले सजाउने छु । मन नदुखाऊ है । मलाई थाहा छ, तिम्रो आत्मा मेरै वरिपरि घुमिरहेको छ । चेलीको आँशु देखेर सायद तिमी पनि रोइरहेका छौ होला । दिदीलाई गायिका बनाउँछु भनेर परदेश गएका थियौ, तर फर्किदा बाकसमा आयौ । तर तिम्रो सपना पूरा गर्न आज मैले एल्बम निकालेको छु तिमीलाई नै समर्पण गरेर ।’

अन्त्यमा उनले भनेकी छन्, ‘भाइ खुशीमान ! तिम्रो आत्मा त अमर छ नि हगि ! तिमी मरेको छैनौ । आई मिस् यू भाइ ।’

उनको पाँचवटा गीतको संग्रह रहेको एल्बमको काग तीहारको दिन रावासावा प्राज्ञिक समाजको देउसी भैलो कार्यक्रममा विमोचन भएको थियो । उनको उक्त गीति एल्बममा रहेको सबै गीतमा प्राज्ञ तथा वरिष्ठ संगीतकार शान्तिराम राईले संगीत भरेका छन् । यस्तै गीत लेखनमा सुनिताको भदै गीतकारहरुमा इन्द्र राई, प्रेम राई, बुद्वबीर लामा र टंक भट्टराई रहेका छन् ।

तिहारसँगै गरिएको विमोचन कार्यक्रममा गायिका सुनिता राईले समपर्ण गीति एल्बमका गीतहरु प्रस्तुत गरेकी छन् । त्यसैगरी रावासावा प्राज्ञिक समाजले आयोजना गरेको देउसी भैलो साँगीतिक साँझमा गायीका पार्वती राई, समला राई, बेनुका राई, नम्रता राई, बबिता राई अनुमा, रुपकुमार राई, सन्तोष दुमी, कन्काइस्ट राई, सागरसंसार राई, भरत मगर, शान्तिराम राईलगायतले बेजोड सांस्कृतिक प्रस्तुति दिएका थिए ।

- माक्पाली कान्छा

प्रकाशित मिति: Saturday, November 21, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।