मधेसी मोर्चा उत्तेजित, सत्तापक्ष अनिर्णयको बन्दी

२०७२ मंसिर ४ । मधेसी समुदायले आफ्नो महान पर्व छठका दिन देशमा शान्ति होस् र वार्ता सफल होस् भन्ने कामना गरेका थिए । छठको अन्तिम दिन नै सरकार र मोर्चावीच वार्ता पनि भयो तर, सहमति हुन सकेन । अहिले छठ सकिनासाथ मधेसमा थप आगो दन्किन थालेको छ ।

मधेस थप उत्तेजित बन्यो
छठपछि सशक्त आन्दोलन चर्काउने मोर्चाका नेताहरुले बताइरहेका बेला शुक्रबार विहानैदेखि मधेसी मोर्चाका कार्यकर्ताहरु विभिन्न जिल्लामा उत्तेजकरुपमा प्रस्तुत भएका छन् । यसले गर्दा अब मधेसको समस्या थप जटिलतातर्फ उन्मूख हुने संकेत देखिएको छ ।
फाइल फोटो

विहीबार राति नै वीरगञ्जमा मोर्चाका कार्यकर्ता औषधि लोड गरेको ट्रकमा आगजनी गरे । यो आगजनी त्यही दिन गरियो, जुन दिन काठमाडौंमा मोर्चाका नेताहरुले पत्रकार सम्मेलन गरेर नाकाहरुमा औषधि बोकेका गाडीलाई अवरोध नगर्ने घोषणा गरेका थिए ।

नेताहरुले औषधिमा छेकबार नगर्ने बताएकै दिन वीरगञ्जमा ट्रकमाथि गरिएको आगजनीले मधेसको आन्दोलन मोर्चाका नेताहरुको पकडभन्दा बाहिर जान सक्ने संकेत दिएको छ । रौतहटमा पनि शुक्रबार मोर्चाका कार्यकर्ताहरु आक्रामकरुपमा प्रस्तुत भए । त्यहाँ दिनभरि मोटरसाइकलसमेत चल्न नदिने गरी बन्दलाई कडाइ गरिएको थियो ।

मधेसी मोर्चाका नेताहरुले विहीबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा विद्यालयहरु चल्न दिने बताइएको थियो । तर, शुक्रबार मधेसका अधिकांश शैक्षिक संस्थाहरु बन्द खुलेनन् । उता बारा जिल्लामा पनि मधेसी मोर्चाका कार्यकर्ताहरु शुक्रबार दिनभरि उत्तेजकरुपमा प्रस्तुत भए । जिल्लाका विभिन्न भागमा मोटरसाइकलहरुमा तोडफोड र आगजनी गरिएका छन् भने सदरमुकाम कलैया, सिम्रौनगढ लगायत विभिन्न ठाउँमा विरोध प्रदर्शन र नाराबाजी भए । मोर्चाका कार्यकर्ताले स्थानीय एफएमसमेत बन्द गराएका छन् ।

किन मिलेन वार्ता ?
सरकार र मधेसी मोर्चावीच निर्णायक हुने भनिएको पछिल्लो वार्तामा विपक्षी दल नेपाली कांग्रेस उपस्थित नै भएन । आफूलाई ढीलो खबर गरेको भन्दै कांग्रेसका नेताहरु वार्तामा गएनन् । वार्तामा एमाओवादी अध्यक्ष प्रचण्डले सहमतिका लागि केही लचकता देखाए पनि सत्तापक्षका तीन दलकै नेताहरुवीच एजेण्डामा सहमति नभएको भन्दै मोर्चाका नेताहरु बाहिरिए ।

विशेष गरी सीमांकनका विषयमा कांग्रेस, एमाले र एमाओवादीवीच समान बुझाइ अहिलेसम्म कायम हुन सकेको छैन । सत्तारुढ घटकका नेता प्रचण्ड सुनसरी र कैलालीका केही भागलाई मिलाएर सीमांकन परिमार्जन गर्नुपर्ने पक्षमा भए पनि एमाले र कांग्रेसका प्रमुख नेताहरु प्रचण्डको प्रस्तावमा सहमत छैनन्, जसले गर्दा वार्ताको गाँठो फुक्न सकेको छैन ।

सत्तारुढ तीन दल संविधान बन्नुभन्दा अघि जुन विषयमा विवाद गरिरहेका थिए, अहिले पनि सोही विवादमै रुमलिइरहेका छन् । नेपाली कांग्रेस पनि सीमांकन हेरफेर गर्न नहुने पक्षमा एमाओवादी भन्दा एमालेकै नजिक देखिएको छ । अझ अगाडि बढेर एमालेको अगुवाइमा सुनसरी मोरङमा मधेसी मोर्चालाई दबाव दिन ‘अखण्ड आन्दोलन’ थालिएको छ ।

सत्तापक्षमा यस्तो अलमल देखिएपछि अब मधेसी मोर्चाका नेताहरुले सत्तारुढ दलहरुलाई सीमांकन लगायतका विषयमा साझा धारणा लिएर आएपछि मात्रै वार्तामा बस्ने बताएका छन् ।

सत्तापक्ष अनिर्णयको बन्दी बन्यो
विशेष गरी नेकपा एमाले र नेपाली कांग्रेस सीमांकन हेरफेरमा लचिलो नभएपछि सरकार अनिर्णयको बन्दीजस्तै बन्न पुगेको छ । सरकारमा सामेल दलहरुमध्ये एमाओवादी र एमालेवीच फरक मत देखापरेको छ, जसका कारण मधेसी मोर्चाको माग तत्कालै सम्बोधन नहुने स्थिति देखिएको छ ।

कांग्रेस र एमालेलाई लचकदार बनाउन र सहमति जुटाउन प्रचण्डले केही दिनयता गरेको प्रयास अन्ततः निरर्थक सावित भएको छ ।  यो परिस्थितिले अब एमाओवादीलाई या त कांग्रेस एमालेकै एजेण्डामा अडिइराख्ने या सहमतिमा आउन थप दबाव दिनुपर्ने चुनौती थपिदिएको छ ।

यतिमात्रै होइन, सीमांकन हेरफेर गर्न अन्कनाइरहेका प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वको सरकारले अब मधेसमा थप आन्दोलन र अशान्तिको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसको प्रष्ट संकेत शुक्रबारका घटनाहरुले नै देखाइसकेका छन् ।

मधेसी मोर्चाको रणनीति
पटक-पटक वार्तामा बस्दा पनि कांग्रेस र एमालेका नेताहरु सीमांकन चलाउन तयार नभएपछि मधेसी मोर्चाका नेताहरु फेरि एकपटक मधेसमा कडा आन्दोलन गर्ने मनस्थितिमा पुगेका छन् । दसैं, तिहार र छठ पनि सकिएकाले तराईमा आन्दोलनको मौसम आउन लागेको देखिन्छ ।

यो अवस्थामा अबका केही दिन मधेसमा थप आन्दोलन चर्कने अनि त्यसपछि मात्रै मोर्चा र सरकारवीच वार्ताको टेबुलमा लेनदेन हुने स्थिति देखा पर्न लागेको छ । मोर्चाका नेताहरु सरकारले गलाउने रणनीतिमा लागेका छन् ।

स्रोतका अनुसार मोर्चाका नेताहरुले मधेसका साथै काठमाडौंमा पनि जनप्रदर्शन गर्ने तयारी अघि बढाएका छन् । सरकारका सामु भने अब दुईवटा विकल्प छन्ः या त आन्दोलनको सामना गर्ने, या फेरि थप गलेर वार्तामा बस्ने । अब भकुण्डो प्रमुख तीन दल, अझ विशेष गरी कांग्रेस र एमालेको ‘कोर्ट’मा गएको छ ।


प्रकाशित मिति: Friday, November 20, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।