चित्त फाटेपछि



  • युग पाठक

२०७२ कात्तिक २२ । सोमबार एकाबिहानै जब प्रहरीले वीरगन्ज नाकामा बसेका धर्नाकारीमाथि हस्तक्षेप गर्‍यो, स्थिति उस्तै रहेन । आन्दोलित मधेसको छोटो भ्रमणबाट फर्केर फिल्ड–नोट लेख्दालेख्दै यो आलेखको ढाँचा पनि उस्तै रहेन । सकारात्मक हुँदै गएको भनिएको सरकार–मधेसी मोर्चा बीचको वार्ताले पनि अलग मोड लिने निश्चित भयो । वीरगन्ज अचानक आक्रोशको आगोमा बल्न थाल्यो । एक भारतीय युवकले ज्यान गुमाए । म त्यही बेला सिरहाको सन्हैठा गाउँ सम्झिरहेको छु ।
देहातको भिन्नै सुगन्ध हुन्छ । अहिले भने देहाती सुगन्धमा आन्दोलनको राप पनि महसुस हुन्छ । साँझपख ठाउँ—ठाउँमा घुर सल्काइएको छ, धुवाँ एकतमासले हावामा लहराइरहेको देखिन्छ । गाउँ—टोलको सरसफाइ मात्र होइन, यो धुवाँलु लहरले लामखुट्टे र डाँठहरू धपाउने काम पनि गर्छ । देहाती सभ्यताको मिजासमा खेतमा काम गरिरहेका किसानको परिश्रमी धुन पनि मिसिएको छ । धान काट्ने र फसल थन्क्याउनेसँगै आलु र तोरी रोप्ने बेला छ । मलखादको अभाव छ, आलु रोप्ने खेतमा पानी पटाउनुछ, तर पम्पसेट चलाउने डिजेल छैन । मनमा अनेक परिताप छन्, तर आन्दोलनको रौनक पनि छ ।

मधेस आन्दोलन साँच्चै कहाँ छ ? किन छ ? वीरगन्जको नाकामा मात्र छ कि देहातको झुपडीमा पनि छ ? जनकपुरमा मात्र छ कि अलि पर्तिरका कस्बामा पनि छ ? जो अघिल्तिर भेटिन्छ, उसैसँग प्रश्न गर्न मन लाग्छ । जब प्रश्नै नगरिकन जवाफको बाढी आउन थाल्छ, मधेसमा बगिरहेको तेज धारलाई थेग्न पाइताला दह्रोसँग टेक्नैपर्छ । अनि मान्नैपर्छ– मधेस आन्दोलन यसपटक देहातका गाउँ, कस्बा सबैतिर पुगिसकेको छ । मधेसी नेता र अभियन्तासँग तपाईं यो आन्दोलनका एजेन्डा मिनेटमा गन्ती गर्न लगाउनुस्, तर मधेसी किसान, मजदुर, महिला, विद्यार्थी, युवायुवतीको आक्रोश टिप्न तपाईंलाई वर्षौं लाग्न सक्छ ।

काठमाडौंमा वार्ता चलिरहेको छ । काठमाडौं वा पुरै पहाडी जिल्लाहरूमा यो वार्ताबारे खासै चासो देखिन्न, तर मधेसका लाखौं आँखा वार्ताको परिणाम कुरिरहेका हुन्छन् । यसले दुइटा कुरा बताउँछ । पहिलो, मधेसी जनता यो आन्दोलन सुखद निष्कर्षमा पुगोस् भनेर पर्खिबसेका छन् । दोस्रो, काठमाडौं र पहाडतिर नाकाबन्दीबाट छुटकारा पाउने छटपटी त छ, तर मधेस आन्दोलनप्रति एक किसिमको पूर्वाग्रह पनि छ ।

अहिले बेवास्ता गर्न नसकिने तथ्य के हो भने मधेसी र पहाडी बीचको मनोवैज्ञानिक ध्रुवीकरण बढेको छ । तैपनि स्थानीय मधेसी नेताले समेत मानेको तथ्य के हो भने पहिलो मधेस आन्दोलनमा जुन किसिमको पहाडी समुदायप्रति नै आक्रोश थियो, त्यो अहिले छैन । आन्दोलनका नेता, कार्यकर्ताले सामुदायिक भावना भड्किन नदिन सावधानीपूर्वक काम गरेका छन् । अनि मधेस आन्दोलन आफ्नो विरुद्ध होइन, राज्यको विरुद्ध हो भन्ने परिपक्व बुझाइ पहाडी समुदायमा पनि विकास भएको छ । त्यसैले पहाडी समुदायले हरेक सहरमा ऐक्यबद्धता जुलुस प्रदर्शन गरेका छन् । जो मधेसको आन्दोलित भूगोलभित्र छैन, उसलाई भने मधेसी समुदायको चित्त कसरी फाटेको छ भन्ने थाहै छैन । त्यसैले मधेस आन्दोलनका बारेमा जेजस्ता धारणा र टिप्पणी सामाजिक सञ्जाल वा कैयौं मिडियामा छताछुल्ल भएका छन्, ती मधेसी जनताको चित्त दुखाउने साधन भएका छन् ।

बर्दिबासबाट ढल्केवर, मिर्चैया, सिरहा हुँदै गोलबजार, लहान, राजविराज, जनकपुर जहाँ पुगे पनि यो यात्रामा हामीले समान प्रकारका प्रश्नहरूको बाढी देख्यौं । अढाई महिनासम्म आन्दोलन हुँदा र पचास मधेसी सहिद भैसक्दा पनि राज्यले हाम्रो कुरा किन सुनेन ? मधेसीलाई किन नेपाली ठानिएन ?

लहानको कार्यक्रममा सहभागी एक आन्दोलनकारीले भारतले सीमा मिच्दा पुरै गाउँले आन्दोलन गरेर जमिन फिर्ता ल्याएको जानकारी दिँदै प्रश्न गरे– देशको सिमाना रक्षा गर्ने मधेसी, तर हामीलाई नै अराष्ट्रिय भन्ने ? भाइभारदार र राणाजीहरूले मधेसको जमिनलाई विर्ता बनाए, तर मधेसी जनतालाई नेपाली ठानेनन्, ठूला दलले पनि हामीलाई त्यस्तै ठान्ने ? सात सालको क्रान्तिदेखि कम्युनिष्ट विद्रोहसमेत मधेसबाट हाँकिएको छ, मधेसी जनताले रगत, पसिना, बास सबै दिएका छन्, तर आज मधेसी जनतालाई गोली र लाठीको उपहार दिने ? सुर्खेत र जुम्लाले आन्दोलन गर्दा वार्ता नै नगरी सम्बोधन गर्ने तर मधेसी जनतालाई केही दिन नचाहने नेताहरू हाम्रा पनि नेता हुन् कि पहाडी जनताको मात्रै ?

सन्हैठाका किसानले सुस्तरी साइकल हाँक्दै यिनै सवाल गरिरहेका भेटिए । जनकपुरका बौद्धिक प्रा. भोगेन्द्र झाले पनि यिनै सवाल उठाए । लाहान र जनकपुरका मात्र होइन, देहाती बस्तीका युवाहरूको चित्त यसरी फाटेको छ कि उनीहरू यो राज्यले आफ्नो पीडा बुझ्दैन भन्ने ठहरमा पुगेका छन् । स्कुल, कलेज बन्द छन् । कलकारखाना ठप्प छ । बाबुआमाले भैंसीलाई पराल हाल्न पठाएका छोरा/छोरी जुलुसमा पुगिसकेका हुन्छन् । जहाँ जानुस्, आन्दोलनका कथा/व्यथा सुन्न पाइन्छ । आन्दोलनले यति धेरै बहुआयामिक रूप लिएको छ कि यसलाई फगत एजेन्ड वा शक्तिको लेनदेनले मात्र सम्बोधन गर्न सकिने अवस्था छैन ।


सास्ती खेप्ने जोश
आन्दोलनको नेतृत्व गरिरहेका दल र नेतालाई पनि मधेसी जनताले परीक्षामा राखेका छन् । तर आन्दोलनलाई सफल पारिछाड्ने र त्यसका निम्ति सबै सास्ती खेप्ने जोश जताततै देखिन्छ । स्कुलका कलिला किशोर—किशोरीमा पनि मधेसी जनतालाई अधिकार नदिइएको बुझाइ छ र आन्दोलन सफल पारेरै स्कुल जाने जोश छ । के यो भावनालाई दमनले नामेट गर्न सक्छ ? राष्ट्रवादको काँचो उत्तेजनामा रहेका सबैले ठन्डा दिमागले सोच्नुपर्ने विषय यहाँ छ ।

आन्दोलनरत स्थानीय नेताहरू नै भन्छन्– आन्दोलन मधेसी मोर्चाले मात्र गरिरहेको छैन । बुद्धिजीवी, पत्रकार, सामाजिक अभियन्ता सबैको यही दाबी छ । त्यसैले आन्दोलन मोर्चाका नेताको मात्र तजबिजमा छैन । राजविराजका मोर्चाकै नेता सुनिल झाले सुनाए– एकपटक युवा आन्दोलनकारीहरूले मोर्चाकै संयोजकको बाटो छेकिदिए । झाका अनुसार मोर्चाले आन्दोलनलाई अनुशासित गर्न टोलीहरू नै खटाएको छ । मधेस आन्दोलनलाई बेवास्ता गरिरहेका ठूला पार्टीका शीर्ष नेताले यसको बहुआयामिक चरित्रलाई बझ्नु जरुरी छ । मोर्चाका एजेन्डाहरूको सम्बोधन खास लेनदेनको मोडलमा होला, तर सबै बराबर अधिकार प्राप्त गरेको अनुभूति हुनेगरी मधेसी जनतालाई सम्बोधन गर्ने विशिष्ट मोडलको खोजी गरिनुपर्छ ।

नाकाबन्दीको मार मधेसमा पनि उस्तै छ । टेबलमा पेट्रोलका बोतल सजाइएको दृश्य सडक किनारमा जताततै छ, तर त्यो सजावटको मूल्य धेरै महँगो छ । दैनिक जीवनमा त्यसको यातना यत्रतत्र देखिन्छ । माडर बोर्डर छेउको गाउँमा बस्ने एक युवकले सुनाए– भारतको पेट्रोल पम्पमा पेट्रोल भर्न जाँदा उनीहरूलाई फरक व्यवहार गरिन्छ । ‘नेपलिया’को अलग लाइन, त्यसमा पनि जम्मा तीन लिटर पेट्रोल दिन्छन् र जुनसुकै घरायसी सामान लिएर आउँदा एसएसबीका जवानले अनेक सवाल र सामान खोतलखातल गर्ने गर्छन् ।

आलु रोप्ने बेला भयो, मलखाद छैन । व्यापार व्यवसाय चरम घाटामा छन् । किसान, मजदुरको जीवनमा अनेक संकट पैदा भएका छन् । यातायात व्यवसायीले ऋणको किस्ता र व्याज बुझाउनसकेका छैनन् । बैंक, सरकारी कार्यालय सबै तीन महिनादेखि बन्द छन् । दोकानमा सबै सामान पाइँदैन । औषधीको अभाव हुन थालिसक्यो । तैपनि मधेसी जनता यसपटक वार कि पारको आन्दोलन छेड्ने कुरा गर्छन् । कैयौं प्रसंगमा यस्तो लाग्छ, मधेसी नेता सिर्फ जनताको कुरा सापटी लिएर बोलिरहेछन्, आन्दोलनको पुरै शब्दकोश गाउँघर, सहर, कस्बामा तयार भैरहेको छ ।

मिडिया कहाँ छ ?
खासमा मधेसी जनताले काठमाडौंका मिडियासँग चित्त दुखाएका छन् । कारण अनेक होलान् र सबै मिडिया उस्तै नहोलान्, तर नाकाबन्दीले मिडियालाई जति उत्तेजित बनायो, मधेस आन्दोलनले किन बनाएन ? यो यस्तो सवाल हो, जो भर्खरै हुर्कंदै गरेको नेपाली मिडियाका लागि एक चुनौती पनि हो । मिथिला र भोजपुरा क्षेत्रमा पत्रपत्रिका पुग्दैनन् आजकल । कैयौं अनलाइन र टिभीले मधेस आन्दोलनलाई भारतीय नियतसँग जोडेर यस्तो चर्को स्वरमा कुरा गर्छन् कि तिनको इरादा विपरीत तिनकै प्रस्तुतिले मधेसी जनतालाई साँच्चै भारतले हामीलाई सहयोग गरेको हो भन्ने भान पर्नगएको छ ।

यहाँ ख्याल गर्नैपर्ने कुरा के हो भने मधेसी जनताको मनमनमा पुगेको आन्दोलनको बहुआयामिक चरित्रलाई भारतको नियतसँग मात्र जोडेर गरिने व्याख्याले समस्यालाई झन् जटिल तुल्याएको छ ।

सम्भवत: त्यसैकारण सरकार र ठूला दलका शीर्ष नेताले मधेस आन्दोलनलाई हेर्दा दिल्लीतिर मात्र हेरिरहेका छन् । भारतको नियतको कुरा र मधेसी बस्ती—बस्तीमा पुगेको आन्दोलनको मर्म विलकुल फरक विषय हुन् । भारतसँगको परनिर्भरता घटाउने आर्थिक आन्दोलन सुरु गर्ने दिन साँच्चै आएछ भने पनि सबैभन्दा ठूलो योगदान मधेसकै लाखौं किसानको हुनेछ । तसर्थ यो आलेखमा मधेसी जनताको आन्दोलित मनको जुन मानचित्र बनेको छ, त्यो निकै महत्त्वपूर्ण छ ।
साभार: इकान्तिपुर ।

प्रकाशित मिति: Sunday, November 08, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।