भलवारी डिपोद्वारा शंकास्पद रुपमा तेल वितरण

२०७२ मंसिर ८ । काठमाडौंको एक पम्पलाई १२ हजार लिटर डिजेल दिएको पाइएपछि नेपाल आयल निगमको भलवारी डिपो र त्यहाँका प्रमुख अनुसन्धानको घेरामा परेका छन् ।

बाणिज्य तथा आपूर्ति मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन थालेको छ । तर, भलवारी डिपोले काठमाडौंका पेट्रोल पम्पलाई पटक-पटक शंकास्पद रुपमा तेल दिएको भेटिएको छ ।भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि नेपाल आगल निगमले काठडमाडौंका पम्पहरुलाई थानकोट डिपोबाट मात्रै तेल वितरण गर्ने योजना बनाएको थियो ।

तर, गत शुक्रबार भलवारी डिपो प्रमुखले कार्यकारी निर्देशक गोपालबहादुर खड्काको तोक आदेशमा राजधानीको एक पेट्रोल पम्पलाई १२ हजार लिटर डिजेल दिएको रहस्य खुलेको थियो । यो प्रकरणपछि आयल निगमले डिपो प्रमुख दिनेशकुमार यादवलाई काठमाडौं तानिसकेको छ । तर, भलवारी डिपोले कालोबजारी हुने गरी पटक-पटक काठमाडौंका पम्पहरुलाई तेल दिएको खुलेकोे छ ।

अनलाइनखबरलाई प्राप्त विवरणबाट भलवारी डिपोले काठमाडौंको सीता केयरलाई नाकाबन्दी सुरु भएलगतै असोज ८ गते १२ हजार लिटर तेल दिएको खुलेको छ । त्यसका लागि भलबारी डिपोले तेल काठमाडौं ल्याउन ना २ ख ५१६७ नम्बरको ट्यांकर प्रयोग गरेको भेटिएको छ ।

असोज १७ गते पनि भलबारी डिपोले सीता केयरलाई नै थप ८ हजार लिटर डिजेल दिएको छ । त्यसैदिन डिपोले सीता फ्यूललाई ४ हजार लिटर डिजेल दिएको अनलाइनखबरलाई प्राप्त विवरणमा देखिएको छ ।

असोज १७ गते सीता केयर र फ्यूललाई तेल दिन ना २ ख ५१०३ नम्बरको १२ हजार लिटर क्षमताको ट्यांकर प्रयोग भएको छ । अन्य केही पेट्रोलपम्पलाई भलवारी डिपोबाट गएको इन्धनमा कालोबजारी भएको निगम स्रोतको दावी छ । हामा पम्पलाई दिइएको तेल निगमकै कार्यकारी प्रमुख खड्को सिफारिसमा दिएको खुलेपनि सीता फ्युल र सीता केयरलाई सको सिफारिसमा तेल दिएको भन्ने खुलेको छैन ।

आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने नाकाबन्दीपछि स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै तेल वितरणको व्यवस्था गर्न डिपोहरुलाई निर्देशन दिएको जानकारी दिए । ‘डिपोहरुले काठमाडौंमा सिधै तेल दिने अधिकार राख्दैनन्’ प्रवक्ता घिमिरेले भने-‘डिपोहरुले आफ्नै डिलरहरुलाई मात्र तेल दिने अधिकार राख्छन् ।’

आयल निगमका प्रवक्ता घिमिरेले भलवारी डिपोले गरेको अनियमिततामाथि मन्त्रालयले नै छानबिन थालेकोले दोषी पाइए कारवाही हुने बताए । 
साभार: अनलाइन खबर ।

प्रकाशित मिति: Tuesday, November 24, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।