फेसबुकको सुस्त मंगलबार किन ?

२०७२ कात्तिक १६ । सोसल नेटवर्किंग साइट फेसबुकले आफ्ना कर्मचारीका लागि हरेक मंगलबार सुस्त गतिको इन्टरनेट टु जीमा काम गर्नुपर्ने नियम बनाएको छ । फेसबुकले घोषणा गरेको टु जी ट्युसडे अन्तरगत अबदेखि हरेक मंगलबार फेसबुकका कर्मचारीको इन्टरनेट कनेक्सन टू जी स्पीडसम्म स्लो गरिनेछ । जसबाट फेसबुक कर्मचारीहरुले थाहा पाउनेछन् की उदीयमान बजारहरुमा एपले कस्तो परर्फम गरिरहेको छ ।

विकाशशील विश्वमा आफ्नो प्रभाव बढाउनका लागि फेसबुकले पछिल्लो समयमा निकै मेहेनत गरिरहेको छ । यसका लागि उसले विभिन्न नयाँ एप्स तथा फिचर्स ल्याएको छ । तर जो मानिसहरुले विकाशोन्मुख तथा विकाशशील देशका मानिसलाई लक्षित गरेर यी एप बनाएका हुन्छन् उनीहरु तिव्र गतिको इन्टरनेटको पहुँचमा हुन्छन् । यी एपका वास्तविक लक्षित प्रयोगकर्ता भएका देशमा भने इन्टरनेट निकै सुस्त रहने गरेको छ । यस्तो धिमा गतिको इन्टनेट प्रयोग गर्न बाध्य मानिसहरुको पीडा एप निर्माता तथा फेसबुकका कर्मचारीहरुलाई थाहा हुँदैन ।

त्यसैले एप बनाउनेहरु तथा ती एप प्रयोग गर्नेहरुबीचको अन्तर मेट्ने प्रयासका रुपमा फेसबुकले टू जी ट्युसडे नामको पहल थालेको बिजनेस इनसाइडरमा प्रकाशित समाचारमा उल्लेख छ । फेसबुक कर्मचारीले जब मंगलबार आफ्नो एपमा लगइन गर्नेछन् तब उनीहरुले आफ्नो न्युजफिडको माथी एक प्रम्प्ट देख्नेछन् । त्यसमा उनीहरुलाई सोधिनेछ की उनीहरु आउँदो एक घण्टासम्म आफ्नो इन्टरनेट स्पीड कम गरेर यो प्रोग्राममा भाग लिन इच्छुक छन् की छैनन् ?

इच्छुक कर्मचारीलाई एक घण्टाका लागि इन्टरनेट स्पीड कम गराएर निकै धिमा गतिको इन्टरनेटमा फेसबुक एप चलाउने प्रयोगकर्ताको जस्तै अनुभुति गराइनेछ । यसबाट कर्मचारीहरुले फेसबुकका एपमा गर्नुपर्ने सुधार तथा सबल र दुर्वल पक्षहरुका विषयमा जानकारी हासिल गर्न सक्नेछन् ।

स्मरण रहोस् फेसबुकले यसअघि नै यस्तो प्रविधिको विकाश गरिसकेको छ जसमा एक यस्तो प्रणालीको प्रयोग गरिन्छ जहाँ प्रयोगकर्ताको इन्टरनेट सिस्टम कत्तिको तिव्र छ भन्ने कुरा एपले पत्ता लगाउँछ र सोही अनुसार न्युजफिडमा स्टोरीहरु देखाइन्छ । सौजन्य: अनलाइन खबर ।

प्रकाशित मिति: Monday, November 02, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।