प्रहरीको गोलीले २ को मृत्यु १७ घाइते

२०७२ मंसिर ६ । राजमार्ग अवरुद्ध गरेर बसेका मधेसी मोर्चाका कार्यकर्तासँग भएको झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

मधेसी मोर्चासहित विभिन्न संगठनको आह्वानमा सयौं प्रदर्शनकारीले भारदह, रुपनी लगायतका स्थानमा पूर्व पशिचम राजमार्ग अवरुद्ध पारेका थिए । राति अबेरसम्म पनि अवरोध कायमै राखेपछि प्रहरीले बल प्रयोग गरेर हटाउन खोज्दा हिंसात्मक घटना भएको छ ।

भारदहमा मारिनेमा सप्तरीको डाढा गाविस ५ बलिया टोलका १५ बर्षीय बालक बिरेन राम छन् चजे रुपनीमा जमुनी मधेपुरा गाविस ९ बस्ने ३० बर्षीय नागेश्वर यादवको ज्यान गएको छ । राजमार्ग खाली गराउने नाममा प्रहरीले अन्धाधुन्ध गोली तथा अश्रु ग्यास प्रहार गरेको आन्दोलनकारीको आरोप छ ।

भारदहस्थित राजमार्गमा धर्ना बसेका आन्दोलनकारीलाई भगाउन प्रहरीले अश्रग्यास प्रहार गरेको थियो । हवाई फायर गरेपनि आन्दोलनकारी सडक नछोड्दा प्रहरीले ताकेर गोली प्रहार गनेको आन्दोलनकारीहरु बताउँछन । ‘दीपावलीमा पटाका पड्काएजस्तै प्रहरीले अन्धाधुन्ध गोली चलायो’ एक प्रदर्शनकारीले भने ।

भारदहमा प्रहीले चलाएको गोली लागेर बिरेन रामको घट्नास्थलमै मृत्यु भएको छ । उनको छातीमा गोली लागेको छ । भारदहमा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।

घाइते हुनेमा डाढा गाविसको बलिया टोल निवासी ४० बर्षीय अकबर, डिमन गाविसका ५० बर्षीय जहरु साह, पोर्ताहा गाविसका २५ बर्षीय श्रवण झा, पोर्ताहा गाविसकै राजेश खिडहरी, ठेगाना खुल्न नसकेका रामसागर सुतिहार, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का जिल्ला अध्यक्ष दानी मण्डल, मधवापुर गाविसका लाल झासहितका छन् ।

अकबर र लाल झाको तिघ्रामा, जहरुको पेटमा, श्रवणको जाँघमा, राजेशको घाँटीमा गोली लागेको छ । गोली लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि वि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको नेसपा गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिबारीले जानकारी दिए ।

नेसपा गजेन्द्रवादीका जिल्ला अध्यक्ष मण्डलको भने गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।

रुपनीमा एकको मृत्यु, एक दर्जन घाइते
रुपनीमा पनि एक प्रदर्शनकारीको मृत्यु भएको छ । जमुनी मधेपुरा गाविस ९ छपकी टोल निवासी नागेश्वर यादवको मृत्यु भएको हो । राजमार्गमा धर्ना दिइरहेका समयमा प्रहरीले गोली हानेको प्रदर्शनकारीहरुले बताएका छन् । घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

रुपनीमा १० जनालाई गोली लागेको छ । कसैको हात, कसैको खुट्टा, कसैको घाँटी, कसैको पेटमा गोली लागेको छ । घाइते मध्ये फुलेश्वर मण्डल, शत्रुद्यन राय, भुवनेश्वर बेलचन, रामचन्द्र यादवको अवस्था गम्भीर छ । उनीहरुलाई धरान लगिएको छ भने बाँकीको अञ्चल अस्पतालमा भइरहेको छ ।

प्रहरी र कल्याणपुरको बिसनपुर चोकमा धर्ना दिएका आन्दोलनकारीबीच पनि झडप भएको छ । झडपमा पूर्व मन्त्री मृगेन्द्र सिंह यादवसहित एक दर्जन आन्दोलनकारी घाइते भएका छन् ।

कर्फयु आदेश जारी
घटनापछि सप्तरी प्रशासनले बिभिन्न ठाउँमा कफ्र्यू लगाएको छ । सदरमुकाम राजविराजसहित भारदह र रुपनीमा कफ्र्यू आदेश जारी गरेको छ । भारदहको पूर्वमा कंकालिनी मन्दिरदेखि ५ सय मिटर पूर्व, पश्चिममा महुली पुलसम्म, उत्तरमा पोर्ताहा गाविस भवनदेखि ५ सय मिटरसम्मको इलाका र दक्षिणमा सकरदही नहरको कल्भर्टसम्म कफ्र्यू आदेश जारी गरिएको छ ।

रुपनीमा राजमार्ग खण्डको रुपनी चोकदेखि उत्तर दक्षिण ५ सय मिटर दायाँ, बायँको क्षेत्र, पूर्वमा जगमोहन चोकसम्म तथा पश्चिममा शम्भुनाथ चोकसम्म कर्फयु आदेश जारी गरिएको छ । सदरमुकाम राजविराजको पूर्वपट्टी नगर प्रहरी कार्यालय राधाकृष्ण मन्दिर हुँदै जिल्ला प्रशासन कार्यालयको सडक खण्ड र सगरमाथा अंचल प्रहरी कार्यालय जाने बाटोको चोकसम्म कर्फयु आदेश जारी गरिएको छ । शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै राजविराजमा पनि कफ्र्यू लगाइएको प्रशासनले जनाएको छ ।

यस्तै पूर्व पश्चिम राजमार्गको कोशी व्यारेजदेखि बलान खोलासम्म राति ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि अर्काे आदेश नभएसम्म दंगाग्रस्त क्षेत्र कायम राखिने निर्णय सुरक्षा समितिले गरेको छ । अनलाइन खबरमा समाचार छ ।


प्रकाशित मिति: Sunday, November 22, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।