एकात्मकवादको पराकाष्ठा लैङ्गिक विभेद

  • विद्या राई 
२०७२ मंसिर ३ । केही दिन अगाडिको कुरा । एकजना भलादमी र दुईचार व्यक्तिबीच कुरा भैरहेको थियो । मैले सुन्दै थिएँ । कुरा चल्दै जाँदा उनै भलाद्मीले प्रसंग बङ्ग्याए । त्यतिकैमा कुरोको चुरो झ्याप्पै खुस्काइहाले । ‘विद्यादेवी भण्डारी राष्ट्रपति जस्तो देशको उच्च ओहदामा पुगेपनि राष्ट्रपति चलाउने अरु नै छन् । ओन्सरी घर्ती मगर सभामुख बनेनि पारा त्यही हो । महिलाले जति मै हु भने नि के गर्नु ? अधिकार मागे नि दिए नि काम छैन महिलाहरुको । यसो सृष्टि गर्ने मात्र न हुन् ।’ मेरो मन च्वास्सै बिझ्यो, आफू महिला भएको हैसियतले । एक हप्ता हुन लाग्यो । अझ बेला बेला मेरो मन चस्किरहन्छ ।

जसले मञ्चमा भाषण ठोक्न पायो भने महिलापुरुष एक रथका दुई पांग्रा हुन् भन्दै टेबल ठटाउदै घन्टौ बिताउँछ । के छोरा के छोरी दुवै बरोबरी भन्दै व्याख्या गर्छ । उही बोक्रे भलादमीले व्यक्त गरेको स्वार्थी अभिव्यक्ति मानसपटलमा घुमिरहन्छ । बिचराको बोलीचाली, व्यबहारले मै पो बिचरा बन्दै आए । भोजपुर जिल्लाको दुर्गम दक्षिणी क्षेत्रको मानेभन्ज्याङ गाविसमा जन्मिएर जीवनका हर चुनौतीलाई सामना गर्दै लगभग चारदशक लामो राजनितिक यात्रापछि गणतान्त्रिक नेपालको दोस्रो एवम् पहिलो महिला राष्ट्रपति भएका भण्डारीप्रतिको त्यस्तो प्रतिक्रियाले आफैले आफैमा अनेक प्रश्नको ओइरो लाग्छ । छापामार हुदै सभामुख बनेकी घर्तीमगरका बारेमा दिएको प्रतिक्रियाले उस्तै डेरा जमाउँछ ।

उनीहरुले नसुने तापनि, मनमा चोट नपुगेता पनि म आफू महिलाले सुन्दा एक्काइसौ शताब्दीको थुइक्क हामी नेपाली ? थुक्क थुक्क लाग्छ । विश्वले अकल्पनीय सफलता हासिल गरिसकेका बेला हामी भने महिला र पुरुषको भिन्नतामा अड्किएर समय खेर फालिरहेका छौ । पुरुषप्रधान देशमा महिलाले पनि देश हाक्न सक्छन् भन्ने गतिलो प्रमाण छर्लगं हुँदाहुँदै यसमा थप प्रोत्साहन थप्नुुपर्नेमा उल्टो निरुत्साह जाग्ने कुरा गरिरहेका छौ ।

जो महिलाहरु उच्च तहमा पुगे । देशलाई सहि विकास र निकास देलान् या नदेलान् भावी दिनका कुरा । उनीहरुको वेग र डेगको कुरा । तर पुग्न मात्रै के पाएका छन्, पुनः ढुगें युगका  बिचारधारा । बाहिरको बोक्रो भित्रको खोक्रो यस्ता हामी धेरै छौ । न आफू प्रगतितर्फ लम्कन्छौ, न त अरुको प्रगति सहनै सक्छौ । अझ आदिमकालदेखि नै हेपिदैआएका महिलाप्रतिको दृष्टीकोणलाई जस्तासुकै नियम कानुन र अधिकारको प्रत्यायोजन गरेपनि गाडिएको त्यो जरा कहिले उखेल्न खोजेका छैनौ । यस्तो हविगत जहाँ छ, नेपालमा छ । नेपालीमा छ । यसैले काफी छ ।
कहिले हुन्छन्, छोराछोरी साँच्चिकै बराबरी
राजनैतिक आस्थाले हेर्ने हो भने फरक पारिवारिक पृष्ठभुमीमा जन्मिएका भण्डारीले परिवारकोभन्दा फरक आस्था लिएर क्रियाशिल, जुझारु र अव्वल  छवि बनाउनु तात्कालिन समयमा चानचुने कुरा थिएन । साथै बाहुनवाद परम्परामा हुर्किएका राष्ट्रपतिलाई जननेता मदन भण्डारीसंगको लगनगाठोले माइतीघरसंग बढाएको दूरिले शान्त र दृढ स्वभावका उनीलाई कति पनि विचलित पारेन । दासढुगां दुर्घटनामा जिवनसंगीलाई गुमाएको दशकबढी वितेको छ । अझै पनि कारण पत्ता लागेको छैन ।

स्वभावैले कोमल मन हुने महिला जाति अन्तर्गतका यतिबेलाका राष्ट्रपति भने पतिले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यनीतिमा निरन्तर लागीरहे । आफू र आफ्ना स्वर्गीय पतिको सपना पुरा गरेर छाडे । बाँकी थुप्रै सपनामा साकार पार्ने अठोट लिएर गरिमामय पद सम्हाल्न पुगेका छन् । राज्यका हरेक तहमा एक तिहाइ महिला सहभागिताको पहिलो महिला प्रस्तावक पनि भण्डारी नै थिए । यसरी उल्लेखनीय व्यक्तित्वका धनी उनको जिवनीले प्रष्ट पार्छ ।

पतिको मृत्युपश्चात्‍को चुनावमा वरिष्ठ एवम् प्रभावशाली प्रतिद्वन्द्वी नेताहरुलाई समेत पाखा लगाउदै विजयी हुँदा पतिवियोगको ममताको संज्ञा दिए । यदि यस्तो हो भने अरु विधवा नेपाली महिलाहरुले पनि उनले जस्तै सफल र सहज जीवन जिएको अनुभव पाउनुपर्ने हो नि हैन र ? किन अझ शोषण र दमन गरिन्छन् ।

यसरी प्रसँगहरु जोडिदैजाँदा विगत भदौ महिनामा जिल्लाको एक सामुदायिक एफएममा निजामती कर्मचारीमा महिलाको सहभागिता सन्दर्भमा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शारदा राउतको भनाईलाई सम्झन मन लाग्यो । निजामती सेवा भन्ने वित्तिकै अथाह परिश्रम पछिको फल हो, जहाँ महिलाको उपस्थिती कमै छ। महिलाले खुल्ला प्रतिस्पर्धाको एक नम्बरमा नै नाम निकालेर कर्मचारीमा पोष्ट भएपनि महिला भएकै कारणले पुरुष सहकर्मीहरुले अनर्थ लगाउने, नीच व्यवहार देखाउने अनुभव सुनाइरहेका थिए । शारीरिक बनावटको फरकता एकातर्फ छदैछ । तथापि बौद्धिक, प्राज्ञिक तवरले पुरुषको तुलनामा राम्रै क्षमता प्रदर्शन गरेपनि दोस्रो दर्जामै मुल्याकंन हुने तीतो यथार्थ बताइरहेको सुनेको थिए ।

भण्डारी, घर्तीमगर र राउत जस्ता आफ्नो आफ्नो तहतप्काको मुलधारमा पुगेका महिलाहरुलाई त यति धेरै विभेद छ भने, सर्वसाधारण देखि सडकपेटीसम्मका बाँकी महिलाको स्थिति कति दयनीय होला ? सोच्न समेत सकिन्न । नेपाली दाजुभाईले आफ्नै नेपाली दिदीबहिनीलाई हेर्ने दृष्टि र व्यवहारिकता भन्दा भिन्दै छ । मुल्याकंनमा सधै अन्तिमबाट गनिने बास्तविकताले हामी सवै महिलालाई पिरोलिरहेको अवस्था छ । श्रमकोे फलकै कुरा गर्दा पुरुषको भन्दा बढी नै खटेपनि उचित मुल्याकंन नहुने उदाहरणहरु प्रशस्तै पाइन्छन् ।

पदस्थापना, नीति निर्माण र निर्णयका तहमा सकेसम्म उपस्थित गराउन नचाहने, गर्नैपरे अन्तिमतिर यसो नाम सम्म अल्झाउने गरेको र महिलाले त्यसैमा चित्त बुझाउनुपर्ने थुप्रै बाध्यात्मक  अनुभवहरु पाउने गरिएको छ । हाम्रो न त सक्षमताको सहि र निष्पक्ष मूल्याकंन र मूल्य हुन्छ । न त दक्षताको नै । केवल दासताको बन्धन सिवाय अरु व्यवहार पाउन सक्दैनौ । अनि यसरी कहिले हुन्छौ हामी सिद्धान्तमा लेखिए र भनिए जसरी छोराछोरी साँच्चिकै बराबरी । email : bidhyaraee19@gmail.com
सौजन्य: खबरसंसार ।

प्रकाशित मिति: Thursday, November 19, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।