दसगजामा एसएसबीको क्याम्प

२०७२ कात्तिक १९ । नेपाल-भारत सीमामा पर्ने जोगबनीस्थित दसगजा क्षेत्रभित्र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अस्थायी क्याम्प खडा गरेको छ। 

दुई देशबीचको सम्झौता उल्लंघन गर्दै एसएसबीले बल मिच्याइँ गरेर क्याम्प खडा गरेको हो।एसएसबीले पाँच दिनअघि क्याम्प खडा गरेर कामकारबाही सञ्चालन गर्दै आएको छ। 

त्यसलाई फिर्ता पठाउन नेपाली पक्षले पनि पहल गर्न सकेको छैन। सीमाको दसगजा क्षेत्रलाई दुवै देशले प्रयोग गर्न मिल्दैन। त्यहाँ भौतिक संरचना निर्माण गर्न पनि पाइँदैन।

दुई देशको सिमाना छुट्याउन गाडिएको पिलर छेउमै एसएसबीले क्याम्प खडा गरेको हो। दसगजाभित्र पर्ने विराटनगरबाट जोगबनी प्रवेशका लागि बनाइएको गेटदेखि भित्रपट्टि टेन्ट टाँगेर क्याम्प बनाइएको छ।

एसएसबीको क्याम्प र नेपाली भूभागमा गाडिएको पिलरको दूरी दुई मिटरमात्रै छ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनका क्रममा त्यहीं दसगजा क्षेत्रमा प्रवेश गरेर प्रदर्शनकारीले नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने गरेका थिए। 

दसगजा क्षेत्रमा राखिएका फलफूललगायतका फुटपाथ पसलको आडमा मोर्चाका कार्यकर्ताले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मीको समन्वयमा त्यस्ता पसल हटाइएको थियो। त्यही ठाउँ ओगटेर एसएसबीले क्याम्प खडा गरेको नेपाल प्रहरीले जनाएको छ।

दसगजा क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउने विषयमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच विराटनगरमा दुईपटक बैठक बसेर सहमति भएको थियो । गत वर्ष माघ र कात्तिकमा भएको सहमति कार्यान्वयनमा आउन नसकिरहेका बेला एसएसबीले क्याम्प खडा गरेको हो।

यस विषयमा नेपाल प्रहरीका अधिकारीले कुरा राखे पनि एसएसबीका अधिकारीले खासै चासो दिएका छैनन्। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलले जोगबनी क्षेत्रमा एसएसबीले बनाएको अस्थायी क्याम्प हटाउन आग्रह गरिएको बताए। 

'यस विषयमा माथिल्लो निकायमा समेत जानकारी गराइएको छ', उनले भने, 'यसरी दसगजा क्षेत्रभित्र क्याम्प खडा गरेर आफ्नो कामकारबाही सञ्चालन गर्न दुवै देशका सुरक्षा अधिकारीले मिल्दैन।'गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल र परराष्ट्रका सहायक प्रवक्ता दीपक अधिकारीले भने यसबारे आफूहरूलाई थाहा नभएको बताए। 

अधिकारीले औपचारिक कार्यक्रम, समारोहबिना एकअर्काको मुलुकमा सुरक्षाकर्मीहरू बर्दी लगाएर बस्न, क्याम्प खडा गर्न नमिल्ने बताए। उनले भने, 'यो अन्तर्राष्ट्रिय मान्यता र कूटनीतिक प्रचलनविपरीत हुन्छ।' ढकालले हालसम्म एसएसबीले दसगजा क्षेत्रमा आफ्नो शिविर राखेको सम्बन्धमा मन्त्रालयमा कुनै जानकारी नआएको बताए। 

'त्यस्तो (शिविर राखेको) हो भने त्यो गरैकानुनी हो, भारतले तुरुन्त हटाउनुपर्छ', ढकालले बुधबार साँझ अन्नपूर्णसँग भने।मोरङका एसपी तारिणीप्रसाद लम्सालले बिहारको विधानसभा निर्वाचनका लागि क्याम्प राखेको हुनसक्ने बताए। 'बिहीबार हुने निर्वाचनका लागि सीमानै सिल गरेको अवस्था छ', उनले भने, ‘त्यही निर्वाचन सुरक्षाका लागि राखिएको भए पनि त्यसपछि भने हटाउन पहल गर्नेछौं।'

प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले दसगजा क्षेत्रमा निर्माण गरिएको अस्थायी क्याम्पका बारेमा आफूलाई जानकारी नभएको बताए । ‘कुन ठाउँमा कसरी क्याम्प खडा गरिएको हो भन्नेबारेमा बुझेरमात्र भन्न सकिन्छ', उनले भने, ‘विधानसभाको निर्वाचनलाई लक्षित गरेर बनाइएको भए पनि त्यो आफ्नो भूमिमा मात्र बनाउनुपर्छ । दसगजा क्षेत्रभित्र बनाउन पाइँदैन।' अन्नपूर्णपोष्टमा खबर छ ।

प्रकाशित मिति: Thursday, November 05, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।