ग्यास प्रहरी र गुन्डाले कब्जा गर्छन्
२०७२ मंसिर १० । भक्तपुर, कौशलटारस्थित हिमाल ग्यास डिपोमा मंसिर ४ मा ५० सिलिन्डर (भरि) ग्यास आइपुग्यो। ग्यास नभएर चुल्हो बाल्न नपाएका सर्वसाधारण ‘अब ग्यास पाइने भो’ भन्दै दंग भए। तर, लगत्तै एउटा हुल आयो। त्यो हुलमा ‘स्थानीय गुन्डा’ र प्रहरी थिए। उनीहरूले ‘हाम्रो भाग’ भन्दै आ–आफ्नो गाडीमा ग्यास सिलिन्डर लोड गरे र फर्किए। सर्वसाधारण हेरेको हेर्याै भए।
‘एक सिलिन्डर ग्यास पाउने आसमा लाम लागेको डेढ महिना भएको थियो, ग्यास पनि आयो, तर हामीले हेर्न मात्र पायौं,’ कौशलटारकी गृहिणी सम्झना प्रधानाङ्गले नागरिकसँग दुखेसो पोखिन्, ‘प्रहरी र गुन्डाले नै आएजति ग्यास कब्जा गरेपछि हामी गरिबको के लाग्छ ?’

त्यतिबेला त्यहाँ दुई सयवटा खाली सिलिन्डर लाइनमा थिए। ‘तपाईंहरू यसरी जबर्जस्ती ग्यास नलानुस्, हामीलाई पनि चाहिन्छ, हाम्रो घरमा पनि बालबच्चा छन्, भात पकाउनुपर्छ भनेर बिन्ती गर्यौंर, तर केही सीप लागेन,’ प्रधानाङ्गले भनिन्, ‘राज्य (प्रहरी) र गुन्डा नै मिलेपछि निमुखा त यसै मर्ने भइहाले।’
त्यस्तै, सल्लाधारीस्थित एक डिपोमा बाँड्न ल्याइएको ७० सिलिन्डर ग्यासमध्ये ३० सिलिन्डर स्थानीय गुन्डा र प्रहरीले जबर्जस्ती लगेका थिए । त्यहाँ चार सयभन्दा बढी खाली सिलिन्डर लाइनमा राखिएको नागरिकमा खबर छ ।
भारतले नाकाबन्दी लगाएपछि फाट्टफुट्ट भित्रिएको ग्यास पनि सर्वसाधारणले पाउँदैनन्। काठमाडौं उपत्यकामा रहेका सर्वसाधारणलाई ग्यास पाउन महाभारत लडाइँ जितेबराबर हुन्छ। यस्ता घटना बढ्न थालेपछि डिपोहरूले समेत उद्योगबाट ग्यास ल्याउन कम गर्न थालेका छन्।
‘उद्योगबाट ग्यास आएको थाहा पाउनेबित्तिकै स्थानीय गुन्डा घर घेरेर बस्छन्,’ एक डिपो सञ्चालकले नागरिकसँग भने, ‘उनीहरू (गुन्डा) लाई नदिँऊ ज्यानको खतरा छ, दिऊँ लाइन बसेका सर्वसाधारणलाई पुग्दैन। उद्योगबाट ग्यास ल्याउन छाड्यौं।’
सरकारले सुरक्षा प्रबन्ध मिलाउन खटाएकै प्रहरीबाट सर्वसाधारण ठगीमा पर्छन्। ग्यास आउन नपाउँदै प्रहरीले डिपो सञ्चालकलाई ‘हामीलाई १५ ग्यास चाहिन्छ’ भनेर थर्काउछन् । डिपोमा जम्माजम्मी ५० देखि ७० सिलिन्डर ग्यास आउँछ । ‘एक महिनादेखि लाइनमा बसेका सर्वसाधारणलाई दिने कि गुन्डाराज सञ्चालन गर्नेलाई ?’ ग्यास बिक्रेता महासंघका एक उच्च अधिकारीले भने, ‘गुन्डाराजलाई न्यूनीकरण गर्न आएको प्रहरीले नै यस्तो धन्दा चलाएपछि कसको के लाग्छ।’
साभार: अनलाइन खबर ।
प्रकाशित मिति:
Thursday, November 26, 2015
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।