चिनियाँ अधिकारीहरु कोरल्ला नाका खोल्न मुस्ताङमा




सुरक्षाका लागि सेनाको पोस्ट राख्ने तयारी
२०७२ कात्तिक २४ । नेपाल र चीनबीच व्यापारिक हिसाबले महत्वपूर्ण मानिएको मुस्ताङको कोरल्ला नाका सञ्चालन गर्नेबारेमा मुस्ताङका प्रशासक र तिब्बतको ढोङ्वासेनका अधिकारीबीच सोमबार मुस्ताङको लोमान्थाङमा छलफल भएको छ । 
वार्तामा तिब्बती पक्षबाट नेपालतर्फको सुरक्षालगायतका सबै पूर्वाधार पूरा गरेमा आफूहरु नाका खोली द्विपक्षीय व्यापार गर्न तयारी अवस्थामा रहेको जानकारी नेपाली टोलीलाई दिएका छन् । यसका लागि नेपालका तर्फबाट प्रक्रिया अगाडि बढाउन ढिलाइ नगर्न आग्रह गरेको नेपाली वार्ता टोलीका नेतृत्व गर्नु भएका मुस्ताङका प्रजिअ गणेशबहादुर अधिकारीले जानकारी दिए । 

चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको कोरल्ला नाकाको भौतिक अवस्था (सडक र पूर्वाधार) बारे अध्ययन गर्न उपल्लो मुस्ताङ पुगेको प्रजिअको टोलीले चिनियाँ पक्षसँग भेटवार्ता गरेको थियो । नेपाल र चीनका बीचमा कोरल्ला नाका खोल्ने सहमति भएकाले अब पूर्वधारको विकास गरिने प्रजिअ अधिकारीले बताए । 
 
यसैगरी नेपाली टोलीले कोरल्ला नाकाका बारेमा सडक र पूर्वाधारको अध्ययन गरेर फर्किएको छ । टोलीले जोमसोमदेखि कागबेनी, छुसाङ, चैले, झैते, घमी, चराङ, लोमान्थाङ, छोसेर र छोन्हुपदेखि कोरल्लासम्मको सडकको अवस्था अवलोकन गरेको थियो । तिब्बत नाका जोड्ने चैलेस्थित कालीगण्डकीमा पुल निर्माण छिट्टै सुरु गरेपछि कच्ची सडक सम्पर्क स्थापित हुनेछ । अहिले पनि नदीबाटै मालबाहक सवारी साधन र जिप ओहोरदोहोर गर्दै आएका छन् । 

चैलेदेखि समरको उकालोको सडकमा ठूला गाडी सञ्चालनका लागि मोड सुधार वा वैकल्पिक सडक निर्माण गर्नुपर्ने अवस्था देखिएको प्रजिअ अधिकारीले बताए । घमी खोला, चराङ खोला, लोमान्थाङ खोला छोसेर खोलामा पुल वा कलभर्ट बनाउनुपर्ने देखिएको छ । 'सडकको स्तरोन्नति तथा भौतिक पूर्वाधार निर्माणको काम भएमा कोरल्ला नाका कम्तीमा आठ महिनामा सजिलै सञ्चालन गर्न सकिने देखिएको छ,' उनले भने । 

सीमा क्षेत्रमा पर्याप्त जग्गा भएकाले भन्सार तथा गोदाम, अध्यागमन, क्वारेन्टाइन, सीमा सुरक्षा, बैंकलगायतका पूर्वाधार निर्माणको तयारीमा लाग्नुपर्ने प्रजिअ अधिकारीको भनाइ छ । 

उच्च हिमाली क्षेत्र भएकाले त्यस क्षेत्रमा बढी चिसो हुने हुँदा विद्युत्लगायतका इनर्जीको उचित व्यवस्थापन गर्नुपर्छ । साथै नेपाली सेनाको पोस्ट उक्त क्षेत्रमा राख्ने योजना भएकाले पोस्टका लागि जग्गा पनि हेरिएको भीमदल गणका प्रमुख सेनानी अर्जुन बस्नेतले बताए । 

तिहारलगत्तै नाकाको पूर्वाधारका लागि जग्गा प्राप्ति गर्न नापी टोलीलाई त्यसतर्फ पठाउने र नेपालतर्फको आन्तरिक पूर्वाधार निर्माण गर्न जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायसँग समन्वय गरी छिटोभन्दा छिटो काम अगाडि बढाउने योजनामा रहेको प्रजिअ अधिकारीको भनाइ छ । 

मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटर उत्तरतर्फ अवस्थित कोरल्ला नाकालाई निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीको बेलहियादेखि लोमान्थाङसम्मको ४०६ किलोमिटर चीन र भारत जोड्ने छोटो दुरीको कालीगण्डकी लोकमार्गले पनि समेटेको छ । 

कोरल्ला नाका सञ्चालनमा आउन सकेमा व्यापारमा भारतसँगको परनिर्भरता हट्ने, धौलागिरि क्षेत्र व्यापारिक केन्द्रको रुपमा विकास हुने मात्र नभई कालीगण्डकी करिडोरमा जलविद्युत् र पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । सौजन्य: अन्नपूर्ण पोष्ट । 

प्रकाशित मिति: Tuesday, November 10, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।