आयल निगमका डिपोहरु वाणिज्य मन्त्रालयले निगरानीमा राख्ने

२०७२ मंसिर ७ । पेट्रोलियम पदार्थको वितरण प्रणाली सुधार्न र अनियमितता नियन्त्रण गर्न वाणिज्य मन्त्रालयले आयल निगमको कार्यालयमै निगरानी राख्ने भएको छ ।

आयल निगमको केन्द्रीय कार्यालयदेखि क्षेत्रीय डिपोहरुसम्म आधिकारिकरुपमै अनुगमन र निगरानी गर्न तयार भएको वाणिज्य मन्त्रालयका एक उच्च अधिकारीले अनलाइखबरलाई जानकारी दिए । इन्धनको चरम संकटमा पनि पेट्रोलियम पदार्थको अनियमिततामा आयल निगमका अधिकारीहरु नै संलग्न भएको पाइएपछि मन्त्रालयले यस्तो तयारी गरेको हो ।

आयल निगमको वितरण प्रणालीमा हस्तक्षेप गर्न सक्ने अधिकार दिएर टोलीहरु क्षेत्रीय डिपोदेखि केन्द्रीय डिपोसम्म खटाउन लागेको हो । त्यसका लागि समिति गठन पनि टुंगिएको मन्त्रालय स्रोतले जनाएको छ । ती समितिले आयल निगमका क्षेत्रीय डिपोहरुमा नै पुगेर तेल वितरणको अनुगमन र निगरानी गर्नेछन् ।

मन्त्रालयले निगरानीका लागि आयल निगमको केन्द्रीय कार्यालयमा मन्त्रालयका अधिकारीहरु खटाउने तयारी गरेको छ । आयल निगमको वितरण प्रणाली अस्तब्यस्त भएकाले त्यसमा सुधार गर्न लागिएको ती अधिकारीले बताए । अब दैनिक रुपमा भित्रिने तेलको परिमाण, वितरण र भण्डारणको अवस्थाबारे मन्त्रालयले नै निगममै बसेर निगरानी राख्ने तयारी भएको हो ।

सीमामा पनि निगरानी हुने
वाणिज्य मन्त्रालयले तेल आयातका क्रममा आयल निगमका कर्मचारी र चालकको मिलोमतोमा हुने पेट्रोलियम पदार्थ चुहावट विरुद्ध पनि निगरानी राख्ने भएको छ । त्यसका लागि मन्त्रालयबाट नै अधिकारीहरुको समिति बनाएर खटाउने तयारी भएको स्रोतले जनायो । 

मन्त्रालयलाई सीमा नाकाबाट तेल भित्रिने क्रममा झिकेर लुकाउने क्रम तीव्र भएको सूचना आएको बुझिएको छ । भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि निकै न्युन मात्रामा भित्रिने पेट्रोलियम पदार्थ पनि चुहावट हुने गरेको छ ।
स्रोत: अनलाइन खवर ।

प्रकाशित मिति: Monday, November 23, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।