व्यापारिक सम्झौता अघि नै तेलको कारोबार सुरु गरौं –चीन



२०७२ कात्तिक २३ । नेपालले औपचारिक सम्झौता अघि नै ब्यापारिक रुपमा तेलको कारोबार सुरु गर्न चीनसँग प्रस्ताव गरेको छ ।

नेपालको आयल निगमले चाइना नेशनल पेट्रोलियम कर्पोरेशन (पेट्रो-चाइना) लाई पत्र लेख्दै विस्तृत व्यापारिक सम्झौता अघि नै व्यापारिक कारोबार सुरु गर्न प्रस्ताव गरेको हो । चीनले दिएको अनुदानको पेट्रोल आउनासाथ दुई कम्पनीबीच तेलको कारोबार सुरु गरिहाल्ने आयल निगमको प्रस्ताव छ । भारतको नाकाबन्दीका कारण नेपालमा इन्धनको चरम अभाव भएको छ । र, तत्काल आपूर्ति नभए सुरक्षा र अत्यावश्यकीय सेवा बाहेकका सवारी साधन बाहेकलाई तेल नपाउने अवस्था आएको छ ।
इन्धन संकट टार्न आयल निगमले ब्यापारिक सम्झौता नै नपर्खिन आग्रह गरेको निगमका निमित्त निर्देशक सुशिल भट्टराइले अनलाइनखबरलाई जानकारी दिए । तर, चीनले औपचारिक प्रतिक्रिया दिएको छैन ।निगमले व्यापारिक सम्झौताको तयारीका लागि पेट्रो चाइनाका प्रतिनिधिलाई नोभेम्बर १५ मा नेपाल भ्रमणमा बोलाएको छ ।

साथै तेलको मूल्य प्रस्ताव गर्न भनेको छ, चिनियाँ टोली नेपाल आएमा तेलको ढुवानी, मूल्य, कर, परिमाण लगायत प्राविधिक विषयहरुमा छलफल भएर व्यापारिक सम्झौता हुने गर्ने सरकारको तयारी छ । तर, सबै प्रक्रिया पुरा गर्दा समय लाग्ने अवस्था आएमा सम्झौता हुनु अघिबाटै कारोबार सुरु गर्न निगमले पेट्रो-चाइनालाई प्रस्ताव गरेको हो । ‘कारोबार अनुसारको भुक्तानीमा समस्या हामीलाई हुँदैन । सम्झौता अघि नै कारोबार सुरु गर्न प्रस्ताव गरेका छौं’ निमित्त निर्देशक भट्टराइले भने-‘व्यापारिक रुपमा तेल ल्याउने समझदारीपत्रमा टेकेर चीनले तेल दिन सक्छ ।’

आयल निगम र पेट्रो-चाइना दुबै सरकारी कम्पनी भएकाले सम्झौता अघि नै कारोबार सुरु भएमा अन्य प्राविधिक तथा प्रक्रियागत झन्झट नहुने उनले बताए ।
साभार: अनलाइन खबर ।

प्रकाशित मिति: Monday, November 09, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।