जानुका राईको गीति एल्बम ‘थिबिया’ सार्वजनिक

२०७२ मंसिर ६ । गायिका जानुका राईको पहिलो गीति एलबम तथा भिडियो ‘थिबिया’ सार्वजनिक भएको छ । सभामुख ओनसरी घर्ती मगरले शनिबार राजधानीमा  सुम्निमा कल्चर एकेडेमीद्वारा आयोजित समारोहमा सार्वजनिक गरेकी हुन् । एलबममा किराती मिथक तथा मुन्धुम कथामा आधारित चारवटा गीत रहेका छन् । 

‘ए थिबिया,’ ‘ओ तोरेम्पा’, ‘हेच्छाकुप्पा’ र ‘तान धागो तुनेर’ बोलका गीत रहेका छन् । कपिल राईद्वारा निर्माण गरिएको उक्त एलबममा समेटिएका गीतको रचना क्रमश: खुक्सङ खम्बु, टीका चाम्लिङ, भूपाल राई र बीरेन्द्र राईको रचना रहेका छन् । त्यसैगरी मनोज साङ्सोन, शान्तिराम राई, जितेन राई र सरेश अधिकारीले संगीत दिएका छन् भने भिडियो निर्देशन रोशन राई, जनक राई, भुपेन्द्र पुमा राईको रहेको छ । पूर्वको विभिन्न किराती थलोमा छायाङ्कन गरिएको भिडियो नायिका पशुपति राई, प्रविण पुमालगायतले अभिनय गरेका छन् ।

आदिम मानव उत्पत्ति, सभ्यता र विकासको क्रमलाई गीतमा उनिएको छ । मुन्धुममा सिकारी युगका किरातीहरु बँदेल र चराचुरुङ्गीको सिकार खेल्दै जीवन गुजारेको कथालाई अभिनयसहित प्रस्तुत गरिएको छ ।‘किराती जातिको लोपोन्मुख मुन्धुमी लोकलय र मिथकीय मान्यता, कला परम्परालाई जगेर्ना गर्ने प्रयास गरिएको छ,’ एकेडेमीका अध्यक्ष डीबी सरोज राईले भने, ‘पहिचानको जगेर्ना गर्न यो एलबमले सहयोग पुग्ने विश्वास गरेका छौं ।’ धामीझाक्री परम्परासमेत गीत संगीत तथा भिडियोमा समेटिएको छ । 

सभामुख मगरले विगतमा राज्यले विधितापूर्ण संस्कृति परम्परालाई आत्मसाथ गर्न नसकेको र अब नयाँ संघीय संविधानले सबै जातजाति, भाषाभाषीका संस्कृति परम्परालाई विभेदरहित ढंगले स्वामित्व ग्रहण गर्ने बताइन् । ‘नयाँ संविधान जारी भएसँगै नयाँ अध्याय सुरु भएको छ,’ उनले भनिन्, ‘हामी नेपाली बीचको एकता कायम गर्दै विकासको अभियानमा अघि बढ्नु छ । हाम्रा कला, संस्कृतिलाई राष्ट्रले पूँजीका रुपमा बचाइ राख्ने छ ।’

त्यसैगरी सूचना, तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले नयाँ संविधानले जाति, भाषा, संस्कृति, भुगोललाई एकताको जगमा समेटेको उल्लेख गरे । ‘नेपाल स्वतन्त्र राष्ट्र र राष्ट्रिय एकता कायम गर्दै नयाँ सविधान जारी गरेका छौं,’ नयाँ संविधान संशोधनीय भएको उल्लेख गर्दै उनले भने, ‘अब कार्यान्वयनको पक्षमा हामी सबै एकजुट हुनुपर्छ । त्यसनिम्ति कलाकर्मीहरुको सहभागिता महत्वपूर्ण हुनेछ ।’ आयोजक संस्थाका सचिव तथा निर्देशक जनक राई किरात राई जातिको सांगीतिक पक्षबारेमा चर्चा गरेका थिए । 
सौजन्य: इकान्तिपुर ।




प्रकाशित मिति: Sunday, November 22, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।