राज्यबाट कस्तो सुविधा पाउँदैछन् पूर्वराष्ट्रपति, उपराष्ट्रपति र सभामुख ?

२०७२ कात्तिक १५ । निवर्तमान राष्ट्रपति डा. रामवरण यादवसहित अवकाशप्राप्त विशिष्ट व्यक्तिलाई सरकारले विशेष निर्णय गरी सुविधा दिने तयारी गरेको छ । गृह मन्त्रालयको छलफलमा पूर्वराष्ट्रपतिलाई मात्र निवास सुविधा दिने तय भएको छ ।

पूर्वराष्ट्रपति डा. यादव, उपराष्ट्रपति परमानन्द झा, पूर्वसभामुख सुवास नेम्वाङलाई विशेष निर्णय गरी सुविधा दिन लागिएको हो । गृहको प्रस्तावमा पूर्वराष्ट्रपति डा. यादवलाई निवास निर्माण नभएसम्म घरभाडा, एउटा गाडी, मासिक दुई सय लिटर इन्धन, गाडी मर्मत खर्च, मसलन्द तथा अतिथि सत्कार खर्च दिने उल्लेख छ ।

त्यस्तै, निजामती कर्मचारीबाट एक अधिकृत, एक नासु र दुई कार्यालय सहयोगी पूर्वराष्ट्रपतिको निवासमा खटाइनेछ । अतिथि सत्कार खर्च कति दिने भन्ने निश्चित भइसकेको छैन । डा. यादव बिहीबार नै शीतलनिवासबाट बागडोल सरिसकेका छन् । निवर्तमान उपराष्ट्रपति परमानन्द झालाई अवकाशपछि घर मर्मत खर्च, गाडी, मसलन्द खर्च, मासिक एक सय ७५ लिटर इन्धन सुविधा दिने प्रस्ताव गृहको छ ।

त्यस्तै, एक अधिकृत र एक कार्यालय सहयोगी खटाइनेछ । पूर्वसभामुख सुवास नेम्वाङलाई पनि एउटा गाडी, मासिक एक सय ७५ लिटर इन्धन, केही अतिथि सत्कार खर्च, गाडी मर्मत खर्च दिने प्रस्ताव गरिएको छ । पूर्वसभामुखका लागि पनि एक नासु र एक श्रेणीविहीन कर्मचारी खटाइनेछ । नेम्वाङलाई मात्र यो सुविधा दिने प्रस्ताव गृहले अघि बढाउन लागेको छ ।

पूर्व विशिष्ट व्यक्तिको सुविधासम्बन्धी कानुन नभएकाले तीनजनाको सुविधाका लागि विशेष प्रस्ताव मन्त्रिपरिषद् लैजान लागिएको गृहका एक अधिकारीले बताए । निवर्तमान राष्ट्रपति डा. यादव बिहीबार नै शीतलनिवासबाट बागडोल सरिसकेका छन् । बागडोलमा भाडाको घरमा उनी बस्नेछन् । सरकारले गत वर्ष विशिष्ट व्यक्तिको सुरक्षा तथा सुविधासम्बन्धी अध्यादेश पारित गरी कार्यान्वयन गरेको थियो । तर, पछि संसद्बाट अनुमोदन पनि भएन । अनुमोदनका लागि सरकारले संसद्मा दर्ता गरे पनि धेरै सुविधा दिन लागिएको भन्दै विवादमा परेपछि गृहमा फर्काइएको थियो । सोही अध्यादेशमै भएको प्रावधानअनुसार अहिले विशेष प्रस्ताव मन्त्रिपरिषद्मा लैजान लागिएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: Sunday, November 01, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।