जिल्ला टुक्राउनु पर्ने कांग्रेसको निष्कर्ष

२०७२ कात्तिक १८ । कांग्रेसमा मधेस आन्दोलनलाई समाधान गर्न पूर्वमा मोरङ र सुनसरी तथा पश्चिममा कैलाली र बर्दिया नफुटाई सम्भव नहुने भन्दै त्यसका लागि तयार हुनुपर्ने धारणा आएको छ।

पार्टीको केन्द्रीय समितिको मंगलबारको बैठकमा बोल्ने सदस्यले मधेसको समस्या समाधान गर्न कांग्रेसले नै नेतृत्व गर्नुपर्ने धारणा पनि आएको छ। 'सुनसरी र मोरङ तथा कैलाली र बर्दिया नजोडी मधेसी दलहरू मान्दैनन्,’ बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने।

अर्का केन्द्रीय सदस्य विमलेन्द्र निधिले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण संविधानमै नगरेर ठूलो भूल भएको धारणा व्यक्त गरेका थिए। ‘मधेसमा हाम्रो प्रभाव शून्य हुँदैछ,' निधिले भने, 'जनसंख्याका आधारमा निर्वाचन क्षेत्रमा लबिङ गर्ने हो भने केही सुधार गर्न सकिन्छ।' निधिले पहाडमा केपी ओलीको र मधेसमा सीके राउतको अतिवादी सोचले मुलुक समस्यामा फसेको बताए।

बैठकमा केन्द्रीय सदस्यहरूले संसद्को पहिलो र दोस्रो पार्टीसँगै सत्तामा बस्न नहुने भन्दै अहिलेको गतिविधिले केही हानि नहुने धारणा व्यक्त गरेका थिए। 'सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा शपथमा समेत सहभागी नभएको एमालेसँग गठबन्धन गरेर हामीलाई फाइदा हुँदैन थियो,' केन्द्रीय सदस्य शेखर कोइरालाले भने, 'अब मधेसमा पार्टी गतिविधि बढाउनुपर्छ।' 

केन्द्रीय सदस्य खाँडले भने अहिले पनि दक्षिणको समर्थन ओलीलाई भएको भन्दै प्रधानमन्त्री निर्वाचनमा कांग्रेस उपयोग भएको दाबी गरेका थिए। 'शक्ति केन्द्रहरू कांग्रेसमा प्रवेश गरेर सत्ताबाट पनि बाहिर गराए र गठबन्धन पनि तोड्यो,' खाँडले भने, ‘ओलीलाई महाकाली सन्धिदेखि नै दक्षिणको साथ छ।'

बैठकमा केन्द्रीय सदस्यहरू निधि, खाँड, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सूर्यमान गुरुङ, नवीन्द्रराज जोशी, केशवकुमार बुढाथोकी, गुरुराज घिमिरेलगायतले आफ्ना धारणा राखेका थिए। केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्नेछ। अन्नपूर्णपोष्टमा खवर छ ।

प्रकाशित मिति: Wednesday, November 04, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।