पर्यटनमन्त्रीको ८ जहाज किन्ने योजना, युरोपसम्म सिधै उडान भर्ने

'वायुसेवा निगमको व्यवस्थापन नेपालीले नै गर्न सक्छन्'
२०७२ मंसिर २ । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले राष्ट्रिय ध्वजावाहक जहाज दोब्बर बनाउने योजना सार्वजनिक गरेका छन् ।

मन्त्री पोखरेलले नेपाल वायुसेवा निगममा आन्तरिक र बाहृय उडान गर्ने ४/४ वटा जहाज थप्ने योजना सार्वजनिक गरेका हुन् । अहिले निगमले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान चार चार ओटा विमानबाट भर्दै आएको छ । मन्त्री पोखरेलले पारदर्शी प्रक्रियाबाट यो संख्या आठ आठ पुर्‍याउने बताए ।

‘मुलुकमा पर्यटक आगमन बढाउन पनि पर्याप्त राष्ट्रिय ध्वजावाहक जहाज चाहिन्छ’ मन्त्री पोखरेलले भने- ‘निगमलाई जहाज खरिद गर्नका लागि अब कसैले पनि रोक्न सक्दैन ।’ निगमले जहाज खरिद गर्ने प्रकृया अगाडि बढाउने वित्तिकै विभिन्न अवरोधहरु आउने गरेका छन् । यही कारण सञ्चालनमा आएको लामो समय वितिसक्दा समेत निगमले आवश्यक जहाज थप्न सकेको छैन् ।

दुईवटा बोइङ ७५७ उडाउँदै आएको निगमले २७ वर्षपछि दुईवटा एयरबस ३२० भित्र्याएको छ । जहाजको अभाव हुँदा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न नसकेको बताउँदै मन्त्री पोखरेलले ‘वाइड बडी’ जहाज किनेर युरोपसम्म सेवा विस्तार गर्ने योजना रहेको सुनाए ।

निगम सञ्चालक समितिले पनि ८ वटा नयाँ जहाज खरिद गर्न प्रकृया अगाडि बढाउने निर्णय गरेको छ । जसमध्ये अन्तर्राष्ट्रिय उडानका लागि २ वटा वाइड बढी र २ वटा न्यारो बडी जहाज हुनेछन् । बाँकी चारवटा जहाज आन्तरिक उडानका लागि ल्याइने छ ।

‘जहाज किन्न अवरोध पुर्‍याउने सबैलाई प्रधानमन्त्रीको नेतृत्वमा बैठक बसालेर एकै ठाउँमा प्रतिवद्धता जाहेर गर्न लगाउँछु’ मन्त्री पोखरेलले भने- ‘तालुक मन्त्री भएको नाताले पनि राष्ट्रिय ध्वजावाहक जहाज बढाएर पर्यटन विकास गर्ने मेरो जिम्मेवारी हो ।’

अहिले निगमको महाप्रबन्धकमा सुगतरत्न कंशाकार छन् । यसअघि निगमको महाप्रबन्धक भएको बेला वाइड बडी जहाज खरिद प्रकृया अगाडि बढाउँदा अख्तियारबाट अवरोध सिर्जना भएको थियो । ‘कंशाकार अनुभवी हुनुहुन्छ, उहाँले जहाज किन्ने बेलामा झमेला पनि झेलिसक्नु भएको छ, त्यसलाई अनुभव बनाएर जहाज खरिद प्रकृया अगाडि बढाउनुहुनेछ’ मन्त्री पोखरेलले भने- ‘उहाँलाई सरकारले पत्याएर ल्याएको हो, जुन प्रतिवद्धता लिएर आउनुभएको छ, त्यसलाई पुरा गर्न काम थाल्नुस् ।’

जहाज किन्न आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै मन्त्री पोखरेलले निगममा जसरी पनि जहाज ल्याउनुपर्ने बताए । उनले अख्तियार,सार्वजनिक खरिद अनुगमन कार्यालय सबैलाई एकै ठाउँमा राखेर पारदर्शी प्रक्रियाबाट जहाज खरिद गरिने बताए । उनले निगममा राजनीतिक हस्तक्षेप नगरी व्यवस्थापन चुस्त बनाउन सहयोग बन्ने प्रतिवद्धता समेत जनाए । कर्मचारीको मनोभावना बुझेर उनीहरुलाई काम गर्न प्रोत्साहित गर्ने उनले बताए ।

व्यवस्थापन आफै गर्नुपर्छ
मन्त्री पोखरेलले निगमको व्यवस्थापन आफै सम्हाल्नुपर्ने बताएका छन् । निगमको कुशल व्यवस्थापन गर्न नेपालीहरु पनि सक्षम रहेको उनको भनाई छ । व्यवस्थापन सम्हाल्न विदेशी साझेदार भित्राउने प्रकृया अगाडि बढिसकेका बेलामा मन्त्रीको यस्तो धारणा आएको हो ।

‘निगममा विदेशी साझेदार भित्राउने विषय कल्पना पनि गरेको छैन, मुलुकको एकमात्र राष्ट्रिय ध्वजावाहक सरकार आफैले चलाउनुपर्छ भन्ने मेरो धारणा हो’ मन्त्री पोखरेलले भने- ‘हामी आफूलाई कमजोर नठानौं, हामी आफै कुशल व्यवस्थपन गर्न सक्छौं ।’

तत्कालै विदेशी साझेदार भित्राउन आफ्नो दिमागले नमान्ने उनको भनाई छ । राज्यको स्वामित्वमा रहेको सम्पत्तीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउँदै उनले भने- ‘आनन्द पोखरेल भन्छ, वी क्यान ।’ ‘संकटको बेलामा निगमले हवाई इन्धन ओसारेर आन्तरिक उडान सुचारु राख्न सहयोग पुर्‍याएको छ’ उनले भने- ‘यदी निजी कम्पनी हुन्थ्यो भने यसरी सस्तोमा राष्ट्रको हित सोँचेर इन्धन बोकिदिने थिएन ।’

यस्तो संकट पटक पटक आउन सक्ने बताउँदै उनले भू्परिवेष्ठित मुलुकको भरपर्दो साधन हवाई सेवालाई निजीकरण गर्न नहुने स्पष्ट पारे । राज्य संकटमा पर्दा आवश्यक सहयोगका लागि पनि आफ्नै स्वामित्वको जहाज चाहिने उनको भनाई छ । साभार: अनलाइन खबर।

प्रकाशित मिति: Wednesday, November 18, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।