जनहित विपरित व्यक्तिगत स्वार्थमा डुबाइएको नेपालको लोकतन्त्र

  • लोकनारायण सुवेदी 
२०७२ फागुन ५।  पुरानो परिभाषा जे भए पनि लोकतन्त्र आज व्यवहारमा बेग्लै रुपमा परिभाषित भइरहेको छ । हिजो जनताले, जनताका लागि जनताद्वारा शासन गरिने पद्धतिलाई लोकतन्त्र भनिन्थ्यो । यसै स्थापनालाई मूर्त रुप दिन विश्वमा ठूल्ठूला युगान्तकारी आन्दोलन भए । त्यसमा उल्लेखनीय फ्रान्सेली क्रान्ति, औद्योगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संंंग्राम, अक्टोबर समाजवादी क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम अनि चिनियाँ जनवादी क्रान्तिजस्ता विभिन्न देशमा भएका क्रान्ति र तिनले ल्याएका परिवर्तन यही परिभाषालाई मूर्त रुप दिने क्रममा विकसित भएको यथार्थ हामी तिनको अन्तर्यलाई केलाउँदा भेटाउँदछौं । वास्तवमा ती सबै परिवर्तनका आन्दोलन नागरिक स्वतन्त्रता र प्रगतिका निमित्त भएका थिए । तिनको मर्म भनेकै राजनीतिक, आर्थिक, सामाजिक तथा संस्कृतिक प्रगतिका बिघ्नबाधालाई पञ्छाएर सर्वतोमुखी समुन्नतिको दिशामा समाज, राष्ट्र र विश्वलाई अग्रगति प्रदान गर्नु थियो र हो । तिनै क्रान्तिहरुकै देन र योगदानले गर्दा आज विश्व विकासको माथिल्लो चरणमा पुगेको छ । विज्ञान र प्रविधिको विकासले आकाश–पाताल ढाकेको छ जसले गर्दा आज सारा संसार साँघुरिएर खुम्चिएर सानो भएको छ । 

तर आज लोकतन्त्र हिजोको परिभाषाअनुसार चल्न छाडेको छ । यो जनताका नाममा केही टाठाबाठाले सञ्चालन गर्ने शासन पद्धतिमा बदलिएको छ । निर्वाचनहरु त्यस्तै टाठाबाठाको सत्ता नवीकरण गर्ने माध्यम मात्र बन्ने गरेका छन् । लोकतन्त्र जनताका समस्या समाधान गर्ने माध्यम बन्न पाएको या बन्न सकेको छैन या बन्न दिइएको छैन । यो सत्ता संघर्षको एउटा निरन्तर चल्ने क्रमको रुपमा पथभ्रष्ट र विकृत भएको छ । त्यसैले गर्दा लोकतन्त्रले लोककल्याणको कुरा या त बिल्कुलै छाडेको छ या यसलाई विकृतीकरण गरेर थला पारेको छ । फलतः लोकतन्त्रमा पनि लोक अर्थात जनताको भलाइ हुन छाडेको छ । परिवर्तनपछि पनि जनताले दैनिक जीवनमा भावनात्मक रुपमा सम्म पनि राहत महसुस गर्न नपाउनुले यही यथार्थको पुष्टि गर्दछ । 

नयाँ शासक वर्ग पनि रातारात पुरानै शासक वर्गको चरित्र ग्रहण गर्न सफल भयो र विलाश र वैभवको बाटोमा छलाङ्ग मारेर अघि बढ्यो । राजनीतिक भाषामा भन्ने हो भने जनताले सामन्तवादपछि नवसामन्तवाद खोजेको अर्थ लाग्ने किसिमले हाम्रो राजनीतिक नेतृत्व हिँड्यो ।
लोकतन्त्रलाई जीवन पद्धति बनाउने कुरा यसरी धेरै टाढाको कुरा भइरहेको छ । लोकको हितबिनाको लोकतन्त्र वास्तवमा नराम्रोसँग संकटमा परेको एउटा रोगग्रस्त लोकतन्त्र हो ।

त्यसैले आजकल परिवर्तनको आन्दोलन र लोकतन्त्रबीच कुनै तालमेल र तादाम्यता पनि रहन छाडेको छ । ती दुई परस्पर साइनो र सम्बन्ध नभएका बेग्लाबेग्लै कुरा हुन् भन्ने जस्तो किसिमले अथ्र्याउन थालिएको छ । परिवर्तनले लोकतान्त्रिक संस्कृति र संस्कारको जुन नयाँ मूल्यमान्यता विकसित र स्थापित गर्दछ भन्ने पुरानो मान्यता हो, त्यो आज गुम भएको र लोकतन्त्रका सम्बाहक मानिएका दलहरुको व्यवहारले उनीहरुको अक्कल गुम भएको प्रतीत भइरहेको छ । फलस्वरुप एउटा जीवन्त प्रणाली बनेर राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र सांस्कृतिक गतिविधि लोकतन्त्रले ल्याउने नयाँ उन्नत संस्कारको विकास र त्यसलाई पोषण तथा मलजल गर्ने सार्थक परिवेश पटक्कै बन्न सकेको छैन । यसै आधारमा राजनीतिक दलहरु परिवर्तन ल्याउन त सक्छन् तर त्यसलाई व्यवहारमा अनुवाद गरेर अघि बढाउन या सञ्चालन गर्न सक्तैनन् भन्ने निष्कर्ष आजको विश्लेषकहरुले निकाल्न थालेका छन् । तर परिवर्तनकामी शक्तिहरुमा यस्तो स्थिति के कसरी सिर्जना भयो भन्ने कुरा ठम्याउनुपर्ने आवश्यकता भने तिनले महसुस गरेको या त्यतातिर ध्यान दिएको पाइँदैन । बरु त्यसको विपरीत हाम्रा विश्लेषकहरु पनि एक वा अर्को किसिमले यथास्थितिकै पक्षपोषक भएर देखापर्ने गरेका छन् । नयाँ सम्भावनालाई पनि यथास्थितिमै अँचेटर उनीहरुले पनि अर्थ्याउने गरेका छन् । लोकहित जुनसुकै स्तरमा र जहिले पनि लोकतन्त्रको न्यूनतम रुपमा अपरिहार्य तत्व हो भन्ने कुरामा उनीहरु पनि चुकिरहेको देखिन्छ । वास्तवमा यो पनि लोकतन्त्र संकटमा परेकै संकेत हो ।

वास्तवमा लोकतन्त्रको हाम्रो देशको अनुभव के हुँदै आएको छ भने यसले जनतालाई राष्ट्रिय भावधारामा जसरी समाहित गर्न र राष्ट्रिय क्षमता तथा आत्मविश्वास बढाउने बाटो लिन सक्नु पर्ने थियो त्यसो गर्न पटक्कै सकेको छैन । बरु जनतालाई उनीहरुका केही ज्वलन्त समस्या उठाइदिएपछि या तिनको समाधानको ’मृग मरीचिका’ देखाइदिएपछि आफ्नो शासन सत्ताको स्वार्थ फत्ते हुने मिथ्या जगमा लोकतन्त्रकालीन शासक वर्ग पनि निरन्तर खडा हुदै आएको छ । त्यसले गर्दा सर्वसाधारण जनताले हिजोका शासक वर्ग र परिवर्तित राजनीतिक चरणका शासक वर्गमा कुनै फरक देख्न पाएका छैनन् । बरु प्रत्यक्ष र आश्चर्यजनकरुपमा उनीहरुले पाएको कटु यथार्थ अनुभव के हो भने नयाँ शासक वर्ग पनि रातारात पुरानै शासक वर्गको चरित्र ग्रहण गर्न सफल भयो र विलाश र वैभवको बाटोमा छलाङ्ग मारेर अघि बढ्यो । राजनीतिक भाषामा भन्ने हो भने जनताले सामन्तवादपछि नवसामन्तवाद खोजेको अर्थ लाग्ने किसिमले हाम्रो राजनीतिक नेतृत्व हिँड्यो । यसबाट मुक्त भएर लोकतान्त्रिक मूल्य पद्धति र आचरणका आधारमा चल्ने कुनै चिन्ता र चासो उनीहरुमा पटक्कै देखा परेन । निर्वाचनलाई पनि एउटा यान्त्रिक र कर्मकाण्डीय साधनको रुपमा मात्र प्रयुक्त गरेको घटनाक्रमले प्रस्ट र पुष्टि गरिसकेको छ । 

राजनीतिक दलहरु परिवर्तन ल्याउन त सक्छन् तर त्यसलाई व्यवहारमा अनुवाद गरेर अघि बढाउन या सञ्चालन गर्न सक्तैनन् भन्ने निष्कर्ष आजको विश्लेषकहरुले निकाल्न थालेका छन् ।
वस्तुतः यी सबै गतिविधि र विकृत संस्कार र संस्कृतिका पछाडि पिछडिएको सामाजिक परिवेशलाई बदल्ने प्रस्ट, गहिरो र दूरदृष्टिकोण नहुनु मूख्य कुरा हो भने त्यसमाथि बाहिरबाट भूमण्डलीकरणका कारणले लादिएको तीब्र उपभोक्ताबादी संस्कृति समेतले यो नवसामन्ती संस्कृतिलाई ठूलो बल प्रदान गर्ने काम गरेको छ । तीब्र सत्ता लोलुपता, कुर्सीको छिनाझपटी, देशको अर्थ–राजनीतिले कतै समर्थन र आधार प्रदान नगर्ने आश्चर्यजनक जीवनशैली, जनतालाई नगन्ने ठालु चिन्तन यी सबै कुराले प्रस्ट संकेत गरेका छन् ः हाम्रो राजनीतिक नेतृत्व देश र जनताप्रति समर्पित, त्याग, निष्ठा र नैतिकताको आचरणबाट विमुख भएको छ । यो लोकतान्त्रिक संस्कृति र संस्कारविरुद्ध छ । यस गलत परिपाटीको समन नगरिएसम्म परिवर्तनको प्रवाहले सही बाटो समात्न र अघि बढ्न फेरि पनि सक्तैन । यो पटक पटक अनुभवसिद्ध भएको धु्रबसत्य कुरा हो ।

यसरी विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कारणले गर्दा लोकतन्त्र आज सर्वत्र संकटमा छ र नेपाललगायत विश्वका नव लोकतन्त्र स्थापित देशहरु पनि यस्तै प्रकृतिका गम्भीर समस्याका बीचबाट गुज्रिरहेका छन् । खासगरी पछिल्ला मध्य एसिया र कतिपय अफ्रिकी देशका राजनीतिक परिवर्तनपछिको अवस्थालाई हेर्दा यो कुरा एकदमै प्रस्ट हुन्छ । हाम्रो देशको भू–धरातलीय रणनीतिक अवस्थिति, यहाँको जैविक विविधता, उत्तरतर्फका उत्तंग हिमालका कारणले अजश्र जलश्रोत, दुर्लभ जडीबुटी, उर्बर जमिन, रमणीय र दर्शनीय पर्यटकीय स्थल सबैले जुन विकासको अत्यत्तै ठूलो सम्भावना दर्शाउदछन्, यो कुरा विश्वका विकसित देशहरुलाई धेरै राम्रोसँग अवगत छ । त्यसै कारणले नै उनीहरुले नेपालको राजनीतिमा गिद्दे आँखा लगाउने र अवाञ्छित हस्तक्षेप गर्ने गर्दै आएका छन् । यसलाई चिर्ने र नेपाली राजनीतिलाई आफ्नै धरातलमा खडा गर्ने दृढ राजनीतिक इच्छा शक्ति, संकल्प र साहस पुनर्निर्माण नगरिएसम्म नेपालको लोकतन्त्र जुन जनताको कल्याण गर्ने बाटोबाट अलग्याइएको छ र त्यसले गर्दा यो जुन संकट कालमा परेको छ त्यसबाट यसलाई मुक्त गर्न सकिने छैन र लोककल्याण पनि पटक्कै हुने छैन । हामीले २०४६ सालको परिवर्तनयता, खासगरी २०६३ सालको परिवर्तनपछिको स्थितिलाई वस्तुवादी भएर विश्लेषण गर्‍यौं भने यो प्रस्ट हुन्छ । यो यथार्थलाई आत्मसात गरेर जनताको अर्थ–सामाजिक परिवर्तनका आकांक्षा र अपेक्षालाई मूर्त रुप दिने राजनीतिक संस्कृति, शैली, आचरण र व्यवहारले मात्र त्यस्तो राष्ट्रिय र अग्रगामी विकासको जग बस्छ र लोकतन्त्रको जग पनि सबल बन्दछ । (इसमताबाट साभार) 

प्रकाशित मिति: Wednesday, February 17, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।