कप्तान लखन थापा मगरको जनविद्रोहको कथा

  • त्रिलोकसिंह थापा मगर। 
२०७२ फागुन २। जंगबहादुरको एकतन्त्रीय, निरंकुश तथा पारिवारिक शासन प्रणालीविरुद्ध १९२७ सालमै विद्रोहको शंखनाद गर्ने नायक हुन् लखन थापा (द्वितीय) मगर । 

उनले आफूले नेतृत्व गरेको विद्रोह एवं विरोधका लक्ष्य तथा उद्देश्य जनसमक्ष यसरी राख्ने गर्दथे : “जंगबहादुरले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राही त्राही पारिरहेछ । जंगेलाई हटाएर नेपालाई पापको बोझबाट हल्का पार्नु पर्दछ । नेपालमा सत्ययुग फिराउँ, जगदम्बा काली माताले मलाई वरदान दिएकी छन्, भाइ हो तयार होऔं (भीम भक्तमान, २००५) ।” 

जंगबहादुरको तानाशाही शासनविरुद्ध गरिएको सशस्त्र विद्रोहका उक्त उद्देश्य पूर्ण रुपमा राजनीतिक परिप्रेक्षमा रहेको देखिन्छ :

क) कप्तान लखन थापा मगरले त्यहीबेलादेखि नै विदेशी हस्तक्षेपको विरोध गरे ।

ख) जंगबहादुरको हुकुमी तथा पारिवारिक शासन प्रणालीबाट जनता त्राहीत्राही भइसकेको हुँदा सो प्रणालीमा आमूल परिवर्तन ल्याई ”सत्ययुग” अर्थात प्रजातान्त्रिक व्यवस्थाको सिर्जना गर्ने उद्घोष गरे ।

ग) नेपालमा नयाँ युगको स्थापना गर्न आव्हान गरे । 

मेरी लेकाम्ते टिलौइन भन्छिन्, “सन् १८५७ का भारतीय सिपाही विदोहीसँग सम्पर्क भएपछि उनले आफ्नो राजनीतिक मोडेल योजनाको तर्जुमा गरेका हुन् ।”

यी लक्ष्य प्राप्तिका लागि उनले मुख्यतः तीनवटा रणनीति प्रयोग गरे :
क) धर्म, पुनर्जन्म, तथा मनकामना देवीमाथि प्रगाढ तथा अटूट आस्था र निष्ठा राख्ने तत्कालीन जनता एवं समाजलाई आफ्नो आन्दोलनको पक्षमा परिचालन गर्न गराउन देवीमाताको वरदान प्राप्त भएको भनेर प्रचार गरे । फलस्वरुप जनताको स्वतःस्फूर्त सक्रिय सहयोग र सहायता प्राप्त गर्न उनी सफल भए ।

ख) जनताको सक्रिय सहयोग र सहायताको आधारमा ब्राम्हण, क्षेत्री, गुरुङ्ग, मगर तथा अन्य जातिका दुई हजार युवाको जनमिलिशिया, आफ्नै किल्ला, शस्त्र, खाद्यान्न तथा युद्धकलाको प्रशिक्षणको समेत व्यवस्था छोटो अवधिमा गर्न गराउन सफल भए ।

ग) हुकुमी एवं तानाशाही शासनलाई ध्वस्त पार्न राजनीतिक संगठनको पनि आवश्यकता पर्दछ भनेर जोसमनि सम्प्रदायलाई राजनीतिक संगठन र राजनीतिक दलको रुपमा परिचालन गरे, साथै राजनीतिक चेतना सिर्जना गरे ।
इतिहासकार प्रमोद शमशेर राणाका अनुसार “राणाहरुको विरुद्ध यो पहिलो विद्रोह थियो । यसभन्दा पहिले कसैले राणाहरुको विरुद्ध औंला उठाएको देखिएन (सन् १९९५) ।”

पहिलो विद्रोह
जंगबहादुरका छोरा पदमजंगले आफ्नो पुस्तकमा लेखेका छन्, “नेपालमा सुनौलो युग आरम्भ गर्ने लखन थापाको योजना थियो ।” लखन थापा द्वितीयलाई विद्रोही राजाको संज्ञा दिँदै फ्रान्सेली विद्वान् मेरी लेकाम्ते टिलौइन भन्छिन्, “सन् १८५७ का भारतीय सिपाही विदोहीसँग सम्पर्क भएपछि उनले आफ्नो राजनीतिक मोडेल योजनाको तर्जुमा गरेका हुन् ।”

त्यसो त लखन थापा मगरले नेतृत्व गरेको जनविद्रोहअघि र पछि पनि जंगबहादुरलाई मार्ने प्रयास भएको पाइन्छ । विशेष गरी सत्ताबाट च्युत भएका चौतरिया, काजी, भाइभरदारले पुनः सत्ता प्राप्त गर्न, बदलाको भावना, पारिवारिक, व्यक्तिगत रिसईबी र आवेशबाट जंगबहादुरको हत्या गर्ने गराउने असफल षडयन्त्र गरेका थिए । त्यस्तै जंगबहादुरकै भाइ बद्रिनरसिंह कुँवर, काकाका छोरा जयबहादुर कुँवरसँगै करवीर खत्री तथा भोटु सिंह बस्नेत आदिले पनि सत्ता प्राप्तिका लागि १९०७ सालमा उनको हत्या गर्ने असफल योजना र षड्यन्त्र गरेका थिए । छलकपटबाट जंगबहादुरको उदय हुनुका साथै उनीप्रति व्यक्तिगत विरोध, विद्रोह तथा षड्यन्त्र पनि सुरु भइसकेको थियो । ती विद्रोह र विरोध केवल सत्ता प्राप्तिका लागि थिए । त्यसको कुनै जनाधार र जनसहयोग थिएन ।

१९१४ सालमा फौजी अफिसरहरुलाई जंगबहादुर भड्काएको अभियोगमा जमदार काजीमान गुरुङ पक्राउ परेका थिए । जमदार गुरुङलाई उनकै पल्टनका सहयोगी सिपाहीद्वारा टँुडिखेलमा निर्ममतापूर्वक हत्या गर्न लगाइयो । यो घटना लखन थापा मगरको विद्रोहभन्दा केही वर्षअघिको थियो । जमदार गुरुङको विद्रोहको उद्देश्य प्रस्ट थिएन, जनताको सहभागिता तथा समर्थन पनि थिएन । पल्टनको घेराभित्र सीमित सो विद्रोह नितान्त व्यक्तिगत आवेशमा भएको पाइन्छ । यस घटनाको कुनै राजनीतिक आधार पनि देखिँदैन । तैपनि काजीमान गुरुङले देखाएको त्यस साहसको राज्यले उचित कदर गर्नुपर्दछ । 

लखन थापा मगरले नेतृत्व गरेको जनविद्रोहअघि र पछि पनि जंगबहादुरलाई मार्ने प्रयास भएको पाइन्छ । विशेष गरी सत्ताबाट च्युत भएका चौतरिया, काजी, भाइभरदारले पुनः सत्ता प्राप्त गर्न, बदलाको भावना, पारिवारिक, व्यक्तिगत रिसईबी र आवेशबाट जंगबहादुरको हत्या गर्ने गराउने असफल षडयन्त्र गरेका थिए ।
सुदूर पश्चिमाञ्चल अछाममा राणाकालीन कर्मचारीले विषेशतः ठकुरीहरुमाथि गर्दै आएको अत्याचारलाई साहेबज्यू बलदेव शाह उर्फ बाँकेवीरलाई खपी नसक्नु भयो । त्यसमाथि श्री ३ जंगबहादुर राणाले श्री ५ राजेन्द्रलाई बन्दीगृहमा राखी अड्कलेको माना खानुपर्ने व्यवस्था गरेबापत राजपरिवार तथा ठकुरीहरु राणाहरुसँग आगो भएका थिए । यसै सन्दर्भमा बाँकेवीरले राणाहरुको सैनिकमाथि लुकिछिपी आक्रमण गर्ने गरेका थिए । तर लुकिछिपी रहेका बाँकेवीरलाई जंगबहादुरको निर्देशनअनुसार १९०६ सालमा रुद्रसिंह स्वाँरले टाउको काटी हत्या गरे । यो घटना राणाहरुले राजपरिवार र ठकुरी रजौटालाई सताउने, दुःख दिने तथा होच्याउने व्यवहारबाट उब्जिएको थियो । पारिवारिक द्वन्द्व एवं व्यक्तिगत रिसईबीमा आधारित थियो । तैपनि बाँकेवीरले राणाको विरुद्ध देखाएको ठूलो साहसको कदर राज्यले गर्नपर्ने देखिन्छ ।

सन् १८५४ को मुलुकी ऐन लागू भएपछि जनजातिहरुको स्तर तल झरेको थियो । जनजातिहरु जंगबहादुरको पारिवारिक एवं तानाशाही व्यवस्थाबाट रुष्ट तथा असन्तुष्ट थिए । यसै क्रममा आदिवासी जनजातिका केही युवाबाट उनको शासनविरुद्ध सैनिकहरुलाई विद्रोह गर्न र जंगबहादुरको हत्या गर्दै सत्ता पल्टाउन असफल प्रयास भएको थियो । यसै क्रममा सुकदेव गुरुङ र श्रीपति गुरुङले १९३३ सालमा जंगबहादुरको हत्या तथा सत्ता पल्टाउन असफल प्रयास गरे । निरंकुश शासन एवं मुलुकी ऐनबाट रुष्ट र असन्तुष्ट जनजातिका युवाहरूको विद्रोह साहसिक थियो । तर त्यसमा संगठन, जनसहभागिता तथा स्पष्ट लक्ष्यको अभाव थियो । 

लखन थापा मगरको नेतृत्वमा सञ्चालित जनविद्रोह योजनाबद्ध, संगठित, जनसहभागितामा आधारित राजनीतिक लक्ष्य प्राप्तितिर उन्मुख थियो । जहानियाँ एवं निरंकुश शासनलाई हटाएर प्रजातन्त्रको स्थापना गर्नका लागि थियो । कुनै व्यक्तिगत, पारिवारिक, जातिगत, स्वार्थ, लोभ र लालचबाट प्रेरित थिएन ।
जनता सहयोगका अाधारमा विद्रोह
यी घटनासँग तुलना गरी हेर्दा लखन थापा मगरको नेतृत्वमा सञ्चालित जनविद्रोह योजनाबद्ध, संगठित, जनसहभागितामा आधारित राजनीतिक लक्ष्य प्राप्तितिर उन्मुख थियो । जहानियाँ एवं निरंकुश शासनलाई हटाएर प्रजातन्त्रको स्थापना गर्नका लागि थियो । कुनै व्यक्तिगत, पारिवारिक, जातिगत, स्वार्थ, लोभ र लालचबाट प्रेरित थिएन । लखन थापा मगर आफू राजा बन्ने चाहनाबाट पनि प्रेरित थिएनन् । जनताले नै उनलाई असिम माया गरेर राजाको रुपमा मान्न थालेका थिए । राजनीतिक पृष्ठभूमि तथा सैद्धान्तिक धरातलमा निरंकुश शासनविरुद्ध उठेको यो विद्रोह नेपालको इतिहासमा पहिलो जनविद्रोह थियो ।

दुई हजार युवाको जनमिलिशिया तयार गर्नु तथा राजनीतिक प्रशिक्षण दिनु त्यतिबेला सानो कुरा थिएन । जनताले लखन थापा द्वितीयलाई राजा सरह मान्न थालेका थिए । यसै सन्दर्भमा इतिहासकार डिआर रेग्मीका अनुसार, “लखन थापा द्वितीयको योजना राजा सुरेन्द्रद्रको कान्छो भाइको छोरालाई राजा बनाउने रहेको थियो । कालान्तरमा आफै राजा बन्ने पनि थियो (रेग्मी सन् १९८०) ।”

अहिले सेनामा ज्येष्ठता, शैक्षिक योग्यता, आन्तरिक वैदेशिक प्रशिक्षण, नेतृत्व र कार्य दक्षताका आधारलाई मूल्यांकन गरेर प्रायः पदोन्नति गर्ने चलन छ । जंगबहादुरको शासनमा भारदार खलकका बच्चा जन्मिँदै जर्नेल, कर्नेल तथा कप्तान हुन सक्ने चलन थियो । जंगबहादुर आफै कप्तान पदबाट प्रधानमन्त्री भएका हुन् । 

जनकलाल शर्माका अनुसार गोरखा जिल्लाको बुंकोट भन्ने ठाउँमा जोसमनि मतका साधु लखन थापा द्वितीयले जंगबहादुरको निरंकुश शासनको विरुद्ध संगठन गर्न थाले र सो संगठन निकै जोडतोडका साथ लागेको कुरा जंगबहादुरले पनि थाहा पाए । यस्तो संगठनलाई समयमा नरोके मेरो भविष्य राम्रो छैन भन्ने विचार गरेर रातारात जंगबहादुरले आठ पहरिया सिपाहीको दल गोरखातिर पठाए ।
कप्तान लखन थापा द्वितीय भारतको अलमोडामा प्रारम्भिक शिक्षा प्राप्त गरेका मगर जातिका युवक थिए । मगर पल्टनमा आफ्नो सामरिक क्षमता, योग्यता, अनुभवबाट उपयुक्त निर्णय तथा नेतृत्व गर्ने सीपको प्रदर्शन गरेको हुँदा १४ वर्षको छोटो अवधिमा एउटा सिपाहीबाट कप्तान हुन कुनै अप्ठेरो थिएन । हुकुमी शासनमा हुकुम नै पदोन्नतिको मुख्य आधार थियो । १९२० सालमा राजा सुरेन्द्रविक्रमका पालामा जंगबहादुर राणाले राजपुत र ठकुरीलाई प्रदान गरेको वित्तीय सुविधासम्बन्धी लालमोहरमा भनिएको छ :

“… सम्बत् १९११ मा तिब्बतसँगको युद्ध र १९१४ मा लखनौसँगको युद्धमा सहयोग गरे बापत खसलाई क्षेत्री सरह मगर र गुरुङलाई कर्नेल पदमा पदोन्नति गरिएको छ ।”

यसरी लखन थापाले आफ्नो जागिरको छोटो अवधिमै पदोन्नति पाएका थिए भनेर अनुमान गर्न सकिन्छ । घरबिदामा बसेर जनविद्रोहको योजना एवं रणनीति तर्जुमा गर्नु जनतालाई संगठित गर्न तथा आफ्नै किल्ला खडा गर्नु एउटा सिपाहीको लागी चानचुने कुरा थिएन । 

समानान्तर सरकार
आर्थिक तथा भौतिक साधनश्रोतको अभाव हुँदाहुँदै पनि छरछिमेक जिल्लाबाट ठूलो संख्यामा स्थानीय युवा जम्मा पारी अप्रिल १८७६ मा लखन थापा द्वितीयले जंगबहादुरको शासनविरुद्ध सशस्त्र विद्रोह गरे । जनकलाल शर्माका अनुसार गोरखा जिल्लाको बुंकोट भन्ने ठाउँमा जोसमनि मतका साधु लखन थापा द्वितीयले जंगबहादुरको निरंकुश शासनको विरुद्ध संगठन गर्न थाले र सो संगठन निकै जोडतोडका साथ लागेको कुरा जंगबहादुरले पनि थाहा पाए । यस्तो संगठनलाई समयमा नरोके मेरो भविष्य राम्रो छैन भन्ने विचार गरेर रातारात जंगबहादुरले आठ पहरिया सिपाहीको दल गोरखातिर पठाए ।

१९२७ सालमा जंगबहादुरको एकलौटी शासनविरुद्ध लखन थापा द्वितीयले नेपालको इतिहासमा पहिलो पटक समानान्तर सरकार खडा गरे । ब्राह्मण, क्षेत्री, मगर, गुरुङ्ग आदि जनजातिका मन्त्रीहरुको प्रतिनिधित्व रहेको पहिलो समावेशी मन्त्रीपरिषद् बनाइयो । त्यसको नेतृत्व स्वयं लखन थापा द्वितीयले गरे । जंगबहादुरका भाइ नेपाली सेनाका सेनापति धीर शमशेरलाई ती विद्रोहीसँग युद्ध जित्न हम्मेहम्मे परेको थियो ।

जनताबीच अझै लोकप्रिय
पाँच वा छ वर्षसम्म राणा शासनविरुद्ध भएको विद्रोहको नेतृत्व गरेका लखन थापा द्वितीयबारे इतिहासकार सूर्यमणि अधिकारी भन्छन्– ‘लखन थापा (द्वितीय) मगरलाई नेपालमा जागरणका अग्रणीका रुपमा प्रायः विद्वानहरुले स्वीकार गरेको पाउछौं (अधिकारी २०५४) ।’ वास्तवमा उनकै अगुवाइमा व्यक्तिगत रुपमा विरोध र विद्रोह गर्नुभन्दा पनि स्थानीय जनतालाई प्रभावित पारी संगठनात्मक तथा योजनाबद्ध रुपमा सत्ययुग ल्याउने लक्ष्यअनुरुप राजनीतिक रणनीति तयार पारी सशस्त्र युद्ध समेत गर्न गरिएको थियो । यसरी कयौं जनाले प्राण गुमाउन पुगेको विद्रोहका नायक लखन थापा (द्वितीय) मगर नेपालको प्रजातान्त्रिक आन्दोलनको पहिलो पटक सहादत प्राप्त गर्ने योद्धा र नायक हुन् ।

उनको निर्ममतापूर्वक हत्या गरिएपछि पनि उनका परिवार तथा समर्थकमाथि कठोर दमन, अत्याचार तथा हिंसाको क्रम चलाइएको थियो । तैपनि स्थानीय जनताले अत्यन्त श्रद्धा र भक्तिपूर्वक लखन थापा द्वितीयलाई पौष पञ्चमीका दिनभरि देउताको रुपमा पुज्ने चलन १३९ वर्षभन्दा पनि बढी समयदेखि जारी छ । यसैबाट पनि थाहा हुन्छ, लखन थापा जनताका माझमा कति लोकप्रिय थिए ।

राणा शासनविरुद्ध गरेको भन्दै जंगबहादुरले १९३३ साल फाल्गुण २ गते लखन थापा र जैसिङ्ग चुमी मगरलाई बुङ्गकोटको काउले भँगारमा खरीको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए । मृत्युदण्ड दिइएपछि उनीहरुको काजक्रिया नगर्न उर्दी जारी गरेका थिए । १३९ वर्षसम्म पनि काजक्रिया गर्न नपाएको उनीहरुका आफन्तजनको भनाइ छ । १८९१ सालमा जन्मेका लखन थापा त्यति बेला नयाँ गोरख गणमा कप्तान पदमा कार्यरत थिए । उनले सेनाको जागिरबाट बिदामा आएर गाउँमा राणा शासनविरुद्ध सशस्त्र युद्धको तयारी गरेको थाहा पाएर जंगबहादुरको सेनाले पक्राउ गरी हत्या गरेको थियो ।

राज्यबाट प्रथम सहिदको घोषणा
१३९ वर्षको संघर्षपछि बल्लतल्ल राज्यले २०७२ असोज ३ गतेमा लखन थापा (द्वितीय) मगरलाई नेपालको प्रथम सहिद घोषणा गरेको छ । नयाँ संविधान घोषणा गरिएको शुभ उपलक्ष्यमा (२०७२÷०६÷०३) कप्तान लखन थापा (द्वितीय) मगरलाई पनि राज्यले प्रथम सहिदको दर्जा दिएको छ । (साभार: इसमता)

प्रकाशित मिति: Sunday, February 14, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।