दिल्ली भ्रमण : नेपाल थप एक कदम पछाडि

मोदीले बोल्ने शब्द ओलीले बोलेपछि 

२०७२ फागुन ८। नयाँ दिल्ली । शनिबार दिउँसो हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने- ‘मेरो भ्रमणको मुख्य उद्देश्य भारत र नेपालवीचको असमझदारी हटाउने हो, जुन पछिल्लो केही महिनायता उत्पन्न भएको थियो ।’ 

प्रधानमन्त्री ओलीले आफू ‘गलतफहमी’ हटाउन दिल्ली आएको र यो भ्रमण ‘उपलब्धिपूर्ण’ एवं ‘उत्पादक’ भएको दाबी गरे पनि मोदीमा रहेको नेपालबारेको ‘मिस अण्डस्ट्यानिङ’ हैदरावाद हाउसमै प्रकट भयो । 

प्रधानमन्त्री ओलीले संकेत गरेको भारत-नेपालवीचको ‘मीस अण्डस्ट्याण्डिङ’ के हो ? पक्कै पनि ओलीको विचारमा त्यो भनेको भारतले नेपालको संविधान बुझेन भन्ने नै हो । 

तर, ४० मिनेटभन्दा बढी प्रधानमन्त्री ओलीले मिस अण्डस्ट्याण्डिङ हटाइसकेपछि पनि मोदीले हैदरावाद हाउसको गोप्य कोठाबाट निस्केर पबरकारहरुसँग नेपालको संविधानबारे उनी पुरानै कुरो दोहोर्‍याए । मोदीले नेपालको संविधानलाई एउटा महत्वपूर्ण उपलब्धि भन्दाभन्दै पनि मधेसी मोर्चालाई समेत चित्त बुझाउन सबै वर्गका मुद्दाहरु समेटिनुपर्ने बताए । 

नेपालको संविधानबारे मोदीको यस्तो भनाइले अझै पनि नेपाल र भारतवीच ‘असमझदारी’ कायमै छ र ओलीले हैदरावाद हाउसभित्र गरेको वार्ताबाट पनि यो असमझदारी हटेन भन्ने स्पष्ट भएको छ ।

हो, केपी ओलीको साटो नरेन्द्र मोदीले चाँहि ‘नेपाल-भारतवीच केही असमझदारी थिए’ भनेको भए चाँहि मोदीभित्र रहेको ‘गलतफहमी’ हटेछ भनेर मान्न सकिन्थ्यो ।

किनभने नेपालले आफ्नो संविधान बनाएको हो, र यसवापत नाकाबन्दी लगाएर भारतले आफ्नो अस्पष्टता र बेवकुफी प्रकट गरेको हो । यसमा नेपालले केपी ओलीको शैलीमा हामीवीच ‘असमझदारी थियो’ भनेर आत्मालोचना गरिरहन जरुरी थिएन । यो मोदीले बोल्नुपर्ने विषय थियो, ओलीले होइन ।

अब के होला ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्ता र समझदारीबाट सबै वर्ग समुदायलाई समेट्न आग्रह गर्ने तर हालै कमल थापाको नेतृत्वमा गठन गरिएको सीमांकन टुंगो लगाउने समितिमा मधेसी मोर्चाका नेताहरुले नबस्ने घोषणा गर्नुले फेरि पनि नेपाल र भारतवीचको असमझदारी कार्यमै रहेको देखाएको छ ।

मोर्चाले फेरि आन्दोलन चर्काउने बताइरहेका बेला भारतले पुनः नाकाबन्दी गर्छ या गर्दैन भन्ने पनि प्रष्टरुपमा बाहिर आएको छैन । यो स्थितिमा केपी ओलीको दिल्ली भ्रमण ‘एक कदम अगाडि, दुईकदम पछाडि’ जस्तै बन्न पुगेको छ । (अनलाइन खबरबाट साभार)

प्रकाशित मिति: Saturday, February 20, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।