बुङ्वाखा सम्मान तथा पुरस्कार सार्वजनिक

काठमाडौं। बुङ्वाखा मासिकले आफ्नो एघारौं बार्षिकोत्सव तथा एघारौ बान्तावा राष्ट्रिय कविता प्रतियोगिताको अवसरमा प्रदान गरिने सम्मान तथा पुरस्कृत हुनेहरुको नाम सार्वजनिक गरेकाे छ। 

‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार– २०७२’ बाट भारत कालिम्पोङका रमेश तेन्चिपालाई प्रदान गरिने भएको छ । तेन्चिपा बान्तावा भाषामा लामो समयदेखि कलम चलाउदै आएका छन्। उनलाई बान्तावा भाषाकै पहिलो खण्डकाव्य ‘हेच्छाकुवा’ कृतिको लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कार पूर्व वागमती अञ्चलाधीश मकर बहादुर बान्तावा र उनकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उनीहरूको परिवारले स्थापना गरेको हो । 
रमेश तेन्चिपा
ताम्रापत्रसहित पुरस्कारको राशी पच्चीस हजार रुपैयाँ रहेको छ । २०७० सालमा स्थापना गरिएको सो पुरस्कार पहिलोचोटी अन्तर्राष्ट्रियस्तरमा प्रदान गर्न लागिएको हो । ‘बुङ्वाखा सङ्गीत पुरस्कार– २०७२’ भने युवा गायक सुरेशपायल राईलाई प्रदान गरिने भएको छ ।

सङ्गीत साधनामै रहेका भोजपुर पात्लेपानीमा जन्मिएका राईका रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटामा आधा दर्जन बान्तावा गीतहरू रेकर्ड भएका छन् । कदरपत्रसहित रु. पन्ध्र हजार राशीको सो पुरस्कारको संस्थापकहरू वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ र सङ्गीतकर्मी अशोक मुकारुङ रहेका छन् ।

सुरेश पायल राई
त्यस्तै, ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार २०७२’ बुङ्वाखाका पाँचथर सम्वाददाता राजकुमार इसारा राईलाई प्रदान गरिने भएको छ । बुङ्वाखा सल्लाहकार चन्द्र कुमार हतुवाली र उनको परिवारले आफ्ना बज्यै रनमाया राईको सम्झनामा स्थापना गर्न लागेको कदरपत्रसहित सो पुरस्कारको राशी रु. छ हजार रहेको छ । यसैबीच कविता प्रतियोगितामा सामेल भएका मध्ये उत्कृष्ट ११ को छनौट भएको छ । 

राजकुमार इशारा
उत्कृष्ट कवितालाई आउदो फाल्गुन १ गते झापाको दमकस्थित किरात भवनमा बाचन गराइने भएको छ । प्रतियोगितामा उत्कृष्ट तीन प्रतियोगीलाई ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार– २०७२’बाट पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई क्रमशः रु. १०,०००, ६,००० र ४,०००  नगद पुरस्कार प्रदान गरिनेछ । श्यामराज दुब्देङहाङका जेठी छोरी मीना राई र भतिजी छोरी अञ्जना राईले बुबा/काकाको सम्झनामा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरेको हो । 

बुङ्वाखा सल्लाहकार जय सिवाहाङ, कार्यक्रम संयोजक/सम्पादक पदम राई र सह–सम्पादक निराजन राई ‘बतास’ रहेको छनोट उपसमितिले पुरस्कृत हुने व्यक्तित्वहरुको चयन गरेको हो । बुङ्वाखा पुरस्कार छनौट उपसमितिको बैठक माघ १३ गते बसेको थियो । 

आमन्त्रित सदस्यको रुपमा सह–सम्पादक दीपक बान्तावा तथा अक्षयकोषदाताहरूको तर्फबाट राजेन्द्र बान्तावा र अशोक मुकारुङको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Tuesday, February 02, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।