एनसेल 'एप' मार्फत लाखौं ठग्ने दुई पक्राउ, नाइके अझै फरार

रविन भट्टराई। 
२०७२ फागुन १०। विज्ञान प्रविधिको विकाससँगै ठगहरुले पनि नयाँ-नयाँ विद्या प्रयोग गर्न थालेका छन् । ताप्लेजुङमा दुईजना यस्तै ‘आधुनिक ठग’ समातिएका छन्, जसले एनसेलको एप प्रयोग गरेर लाखौं रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

एनसेल एपको प्रयोग गरी लाखौं रुपैयाँको ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह-९ का १८ वर्षीय प्रकाश दाहाल र मोरङको पथरी-९ निवासी ३२ वर्षीय मेघनाथ गिरी छन् । ठगीका मुख्य योजनाकार भारतको राजस्थान घर भएका सुमित शर्मा भने फरार छन् ।

पक्राउ परेका व्यक्तिहरुले एनसेल एप प्रयोग गरी एनसेलकै प्रयोगकर्ताहरुबाट लाखौं ठगी गरेको प्रमाणका आधारमा पक्राउ गरिएको पाँचथरका प्रहरी प्रमुख (डीएसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

एनसेलको पुरस्कार भन्दै झुक्याउँदै
डीएपी कोइरालाका अनुसार उनीहरुले आफ्नो मोवाइलमा एनसेल एप डाउनलोड गरी विभिन्न स्थानका एनसेल नम्बर इन्ट्री गरेर प्रयोगकर्ताले रिचार्ज गरेको मिति र मौजदात रहेको ब्यालेन्स आदि पत्तो लगाएका थिए । र, त्यसैका आधारमा फोन गर्दै ठगी गरेका थिए ।

एनसेल एप एनसेल मोबाइकै एउटा एप्लिकेसन हो । जुन मोवाइलमा डाउलोड गरेर कुनै पनि एनसेल नम्वर इन्ट्री गर्दा त्यो नम्वरमा ४ डिजिटको पिन नम्वर म्यासेज जान्छ । गोप्य राख्नु भनिएको उक्त पिन नम्वर प्रयोगकर्ताबाहेक कसैले थाहा पाए उक्त नम्बरको गोपनियता पनि पूर्णरूपमा भंग हुन्छ ।

एनसेलले आफ्नो नेटवर्कको सिम प्रयोगकर्तालाई सम्पूर्ण सुविधाको जानकारी दिन र आफ्नो र सेवा छिटो छरितो एवं सजिलो तरिकाले उपलब्ध गराउनका लागि विकास गरेको एनसेल एपको ठगहरुले दुरुपयोग गरेका हुन् ।

सोझासिधा व्यक्तिहरुलाई झुक्याई ठगी गर्ने गरेको उजुरी जिल्ला प्रहरी कार्यालय पाँचथरमा परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी अधिकृतसहितको टोलीले महानगरीय प्रहरी अपराध महाशाखा काठमाण्डौको टोलीसँग समन्वय गरेको थियो । यसैक्रममा फागुन ४ गते काठमाण्डौबाटै दाहाल र गिरीलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

मोवाइलमा एनसेल एप डाउनलोड गरेपछि ‘इन्टर योर मोबाइल’ भन्ने म्यासेज बक्स आउँछ । त्यहाँ जुन मोवाइल नम्बर हालिन्छ, त्यो मोवाइलमा ४ डिजिटको को पिन सहितको एनसेलको म्यासेज जान्छ ।

प्रहरीका अनुसार ठगी गर्ने व्यक्तिले उक्त मोवाइल धनीलाई फोन गरी तपाईलाई भर्खर एनसेलबा म्यासेज आएको छ भनी सोध्ने गरेका थिए । र, आएको छ भनेपछि पिन नम्बर कति हो मलाई दिनुहोस्, म एनसेलबाट बोलेको भन्दै पिन नम्बर मागेका थिए । र, सो पिन नम्बर आफ्नो मोबाइलको एपमा इन्ट्री गरेर उक्त नम्बरको ब्यालेन्स रिचार्ज हिस्ट्री हेर्ने गरेका थिए ।

त्यसरी हिस्ट्री हेरेपछि ‘तपाईको मोवाइलमा यति ब्यालेन्स छ’ भन्दै रिचार्ज गरेको रकम र मितिसमेत बताइसकेपछि सोझासीधा मानिसले सहजै विश्वास गर्ने गरेका थिए । त्यसपछि उनीहरुले ‘तपाईएलाई एनसेलमा पुरस्कार परेको छ’ भन्दै १ लाख परेकोलाई १३ हजार रुपैयाँ र २ लाख परेको भनिएकालाई २६ हजारको दरले कर बापतको रकम भन्दै आइएमईबाट पैसा पठाउन लगाएका थिए । त्यसरी कर तिरेमा पुरस्कार बापतको रकम पनि बाटै पठाउँछौं भन्दै उनीहरुले ठगी गरेका थिए ।

काठमाडौंमा बसेर पूर्वाञ्चलमा ठगी
पक्राउ परेका उनीहरुलाई काठकाडौंबाट फागुन ६ गते बेलुका जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याइएको थियो । उनीहरुले हालसम्म पाँचथर, ईलाम, झापा, मोरङ, पोखरा र स्याङजामा गरी १० जनालाई ठगी गर्न भ्याएका छन् ।

ठगहरुले मोरङको पथरी, बेलवारी र झापाको झिलझिलेका साथै काठमाण्डौको गौशाला, बानेश्वर, कोटेश्वर र बिजुली बजारको आइएमईबाट रकम निकालेको समेत खुल्न आएको छ ।

एनसेलका पूर्वकर्मचारी  नै ठगीका प्रमुख अभियुक्त
प्रहरीका अनुसार ठगी प्रकरणका प्रमुख अभियुक्त भारत राजसस्थानका सुमित शर्मा हुन् । पहिले एनसेल कम्पनीमै केही समय काम गरेका उनी यसअघि पनि ठगी प्रकरणमा जेल परिसकेका व्यक्ति हुन् ।

कम्प्युटर र प्रविधिमा राम्रो दख्खल राख्ने उनले नक्कली कागजात बनाएर दाहाल र कार्कीलाई प्रयोग गर्दै पैसा ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

जेलबाट निस्केपछि केही महिना यता उनी नेपाल र भारतको सीमावर्ती स्थानमा बसेर ठगी गरिरहेका छन् । ठगी प्रकरणका प्रमुख नाइके भनिएका शर्मा पक्राउ परेका छैनन् । उनलाई खोजी गर्न प्रहरी खटाइएको बताइएको छ । पक्राउ परेकामध्ये दाहालले विभिन्न स्थानका एनसेल नम्वरमा फोन गरेर पैसा पठाउन लगाउने गर्थे भने गिरी पैसा झिक्न जाने काममा खटाइएका थिए । पैसा झिकेपछि शर्मा, दाहाल र गिरीले भागवण्डा गरेर लिने गरेका थिए ।

दोषी सार्वजनिक गर्दागर्दै अर्को ठगी
पक्राउ परेका दोषीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा सार्वजनिक गर्दैगर्दा आइतबार दिउँसो पुन ताप्लेजुङ नगरपालिका ८ कि बर्षा शेर्पा पनि ठगको फन्दामा परेकी छिन् । उनले प्रयोग गर्ने नम्बरमा एउटा म्यासेज आयो र केही समयपछि एनसेल नम्बरबाट फोन आयो, जसमा भनियो, म एनसेलको कर्मचारी हुँ, तपाईको मोवाइलमा एउटा नम्बरबाट म्यासेज आएको छ, तपाईलाई दुई लाख उपहार परेको छ ।

यस्तो सुनेपछि बर्षा  उनलाई उक्त नम्बर दिइन् । केही समयपछि पुन फोन आयो । दिउँसो दुईबजेसम्म कर बापतको ३० हजार पठाउनुस् भनेपछि वर्षा शेर्पाले दाइहरुलाई पनि सुनाइन् र दाइहरुले पनि सोधेपछि सो फोन गर्ने मानिसले हो भन्यो । र, दाइहरुले सापट दिएपछि उनले सदरमुकाममा रहेको मौसम मनि ट्रान्सफरबाट सीताराम यादव मोरङका नाममा ३० हजार रुपैयाँ आईएमई गरिन् ।

आइएमई गरेको केही समयपछि रकम प्राप्त भयो, चारबजेसम्म तपाईलाई दुई लाख आईएमई गछौँ भन्ने फोन आयो । तर, बेलुकासम्म फोन आएन र त्यो फोन गर्ने नम्बर स्विच्ड अफ भयो ।

त्यसपछि पीडित वर्षाले जिल्ला प्रहरी कार्यालय पाँचथर र ताप्लेजुङमा घटनाबारे जानकारी गराइन् । बर्षालाई मुख्य अभियुक्तले नै ठगेको हुन सक्ने पाँचथर प्रहरी प्रमुख कोइरालाले बताए ।

सीम र पैसा झिक्न प्रयोग भएका कागजात सबै नक्कली
प्रहरी अनुसन्धानमा उनीहरुले एनसेलको सीमकार्ड झिक्न प्रयोग गरेको नागरिकतादेखि पैसा झिक्न प्रयोग गर्दै आएका नागरिकताहरु र लाइसेन्स सबै नक्कली भएको पुष्टि भएको छ । उनीहरुले एउटै फोटो प्रयोग गर्दै कहिले सुदेश कार्की त कहिले सञ्जय दाहालका नामबाट नक्कली लाइसेन्स बनाएर आइएमई र विभिन्न बैंकका काउण्टरबाट पैसा झिकेको पुष्टि भएको छ ।

उनीहरुले पहिलो चरणमा झापाको झिलझिले र मोरङको पथरी र त्यसपछि काठमाण्डौका विभिन्न स्थानबाट पैसा झिकेका थिए ।

को को ठगिए ?
प्रहरीका अनुसार उनीहरुले एक दिनमा एउटै मात्रै एनसेल नम्वर प्रयोग गर्ने गरेको खुलेको छ । उनीहरुले माघ १० देखि फागुन ४ गतेसम्म २८ वटा एनसेल नम्बर प्रयोग गरेर १० जनालाई ठगी गरेको पुष्टि भइसकेको छ । अन्य पीडितले जाहेरी दिने क्रम जारी रहेको छ ।
डीएसपी कोइरालाका अनुसार उनीहरुले छातेढुंगाका तारा सुनार र फिदिम १ का प्रेम तामाङबाट १६-१६ हजार, पोखराकी निमा लामाबाट ३६ हजार, बिर्तामोडका गोपाल ढकाल, गौरादहका पुण्यदेवी भट्टराई, गौरीमाया खड्का र इलामका विमल राईसहित ७ जनाबाट २६-२६ हजारका दरले ठगी गरेको पुष्टि भएको छ ।

आफुलाई एनसेलको कर्मचारी बताउँदै पैसा पठाउन लगाएर फोन स्विच्ड अफ गरेको भन्दै पीडितहरुले माघ १० गते पाँचथर प्रहरीमा जाहेरी दिएपछि पक्राउ परेका उनीहरुलाई आइतबार पाँचथर पुर्‍याएर प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । (अनलनइन खबरबाट)

प्रकाशित मिति: Monday, February 22, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।