एघारौं बान्तावा राष्ट्रिय कविता प्रतियोगितामा विष्णुकुमार राई उत्कृष्ट

भोजपुर, २०७२ फागुन २। बुङ्वाखा मासिक काठमाडौको एघारौ बार्षिकोत्सव तथा एघारौ बान्तावा राष्ट्रिय कविता प्रतियोगिता शनिबार दमकमा सम्पन्न भएको छ । प्रतियोगितामा भोजपुरका विष्णुकुमार राई प्रथम भएका छन् । 

सुनसरीकी इन्दिरा राई दोस्रो भएकी छिन् भने भोजपुरकै रामचन्द्र राजालिम तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने कविहरूलाई क्रमशः नगद रु. १०,०००, ६,००० र ४,००० सहित ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार– २०७२’बाट पुरस्कृत गरिएको छ । 

स्वर्गीय श्यामराज दुब्देङहाङका जेठी छोरी मीना राई र भतिजी छोरी अञ्जना राईले बुबा÷काकाको सम्झनामा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरेका थिए । देशभरबाट प्राप्त कविता मध्ये उत्कृष्ट ११ को छनौटमा परेका कविताहरुबीच प्रतिस्पर्धा भएको थियो । 

यसै कार्यक्रमको अवसर पारेर ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार–२०७२’ बाट भारत कालिम्पोङका रमेश तेन्चिपालाई सम्मान गरिएको छ । बान्तावा भाषामा लामो समयदेखि कलम चलाउदै आएका तेन्चिपालाई बान्तावा भाषाकै पहिलो खण्डकाव्य ‘हेच्छाकुवा’ कृतिको लागि सो पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कार पूर्व वागमती अञ्चलाधिश मकर बहादुर बान्तावा र उनकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उनीहरूको परिवारले स्थापना गरेको थियो । ताम्रापत्रसहित पुरस्कारको राशी २५,००० रुपैयाँ रहेको छ । २०७० सालमा स्थापना गरिएको पुरस्कार पहिलोचोटी अन्तर्राष्ट्रियस्तरमा प्रदान गरिएको हो ।

‘बुङ्वाखा सङ्गीत पुरस्कार–२०७२’ बाट युवा गायक सुरेशपायल राईलाई सम्मान गरिएको छ । यतिबेला पनि सङ्गीत साधनामै रहेका भोजपुर पात्लेपानीमा जन्मिएका उनले रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटामा आधा दर्जन बान्तावा गीतहरू गाएका छन् । कदरपत्रसहित रु. १५,००० राशीको पुरस्कारको संस्थापकहरू वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ र सङ्गीतकर्मी अशोक मुकारुङ रहेका छन् ।

‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार २०७२’ बाट बुङ्वाखाका पाँचथर सम्वाददाता राजकुमार इसारा राईलाई सम्मान गरिएको छ । बुङ्वाखा सल्लाहकार चन्द्र कुमार हतुवाली र उनको परिवारले आफ्ना स्वर्गीय बज्यै रनमाया राईको सम्झनामा स्थापना गरेको कदरपत्रसहित सो पुरस्कारको राशी रु. ६,००० रहेको थियो । 

झापाको दमकमा भएको कार्यक्रम देशभित्रका विभिन्न जिल्ला र भारतबाट आएका किरात राई समुदायको बाक्लो उपस्थितिका साथमा सफलतापुर्वक सम्पन्न भएको कार्यक्रम संयोजक एवम् बुङ्वाखाका सम्पादक पदम राईले जानकारी पठाएका छन्। (खबरसंसारबाट)

प्रकाशित मिति: Sunday, February 14, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।