२३ वर्षपछि नेपाललाई साग फुटबलमा स्वर्ण पदक

भारतीय भूमिमा नेपाली फुटबलले रच्यो इतिहास 

२०७२ फागुन ३। एक सून्यले पछि परेको स्थिति उल्टाउँदै नेपालले २३ वर्षपछि १२ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको उपाधि जितेको छ। भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमवार भएको साग पुरुष फुटबलको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी आयोजक राष्ट्र भारतलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 
भारतले खेलको ३२ औैं पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। तर खेलको ६५ औँ मिनेटमा नेपालका लागि प्रकाश बुढाथोकीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको ५ मिनेटपछि नै खेलको ७० औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाका थिए। 

बाँकी समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल नेपालले २–१ गोल अन्तरले जितेको हो। जितसँगै नेपालले २३ वर्ष पछि साग फुटबलमा स्वर्ण जित्दै इतिहास रचेको छ। 

यसअघि नेपालले अघिल्लो महिना बंगलादेशको ढाकामा भएको बंगबन्धु गोल्डकपको उपाधि जित्दै फुटबलमा २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो। 

 नेपालले यसअघि सन् १९८४ र १९९३ को दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) मा स्वर्णपदक जितेको थियो । (सेतोपाटीबाट)

प्रकाशित मिति: Monday, February 15, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।