अढाई घण्टासम्म पनि जीवित थिए विमान चालक, समयमै हेलिकप्टर पुगेको भए बाँच्थे : उद्धारकर्मी

२०७२ फागुन ४। चालक दलका एक सदस्यको विमान भित्रै तथा अर्का व्यक्तिको दुर्घटना भएको अढाई घण्टापछि मृत्यु भएको उपचारमा संलग्न चिल्खाया स्वास्थ्य चौकीका अहेव जङ्गबहादुर रावलले जानकारी दिएका छन्  । 

“एक जनाको विमानमै मृत्यु भइसकेको थियो, च्याप्पिएर रहेका कारण बाहिर निकाल्न सकिएन” – अहेव रावलले भने । चालक दलका अर्का सदस्यको विमान दुर्घटनाको अढाई घण्टापछि मृत्यु भएको उनले बताए ।

“बाहिर निकालेको एक घण्टासम्म दुख्यो दुख्यो भनेर कराइरहनु भएको थियो,” अहेव रावलले भने – “हामीले सक्दो उपचार ग¥यौँ तर बचाउन सकिएन । समयमै हेलिकप्टर पुग्न सकेको भए सायद बाँच्थे कि ।”

विमान दुर्घटनाको खबर पाएपछि गाउँदेखि आधा घण्टा टाढा रहेको स्वास्थ्य चौकीबाट रावलसहित स्वास्थ्य सहायक किशोर श्रेष्ठ, अर्का अहेव कमलबहादुर शाही र कार्यालय सहायक रनबहादुर खत्री दगुर्दै घटनास्थल आइपुगेका थिए ।

चारैजना स्वास्थ्यकर्मीले घाइते यात्रुको खेतमै उपचार गरेका थिए । घाइते नौ जनामध्ये पाँच पुरुष, तीन महिला तथा एक नाबालक रहेका छन् । घाइतेमध्ये जुम्ला पटमाराका लक्ष्मण खड्काको अवस्था चिन्ताजनक रहेको अहेव रावलले बताए ।

अन्य यात्रुहरु जुम्ला चन्दननाथ नगरपालिका– ६ का जगदम्बा खत्री गिरी, उनका एक वर्षीय छोरा अनिल गिरी, चन्दननाथ नगरपालिका– ८ कार्कीवाडाकी लक्ष्मी सुनार, चन्दननाथ– ५ का गणेश भट्टचन, उनकी छोरी सोनाली भट्टचन, चन्दननाथ– ६ का मेघराज गिरी, चन्दननाथ– ५ का धनञ्जय केसी तथा नुवाकोट थान्सिङ गाविस– ३ घर भई हाल काठमाडौँ स्वयम्भू बस्दै आएका धु्रवप्रसाद भण्डारीको अवस्था खतरामुक्त रहेको छ ।

“सबै जना होसमै छन्” – उपचारमा संलग्न अहेव रावलले भने। घटनास्थलमा तीन घण्टा टाढाको पादमघाट प्रहरी चौकीबाट चार जना प्रहरी आएका छन् । घाइते यात्रुका अनुसार विमानमा खराबी आएपछि चालकले विमानको अवस्था ठीक नभएको भन्दै सबै यात्रुलाई सचेत गराएका थिए ।

“जहाजको अवस्था ठीक छैन, तपाईहरु नआत्तिनुस्, सुरक्षित ठाउँमा विमान अवतरण गराउँछौँ, हामी मरे पनि तपाईहरुलाई बचाउँछौँ” – घाइतेलाई उद्धृत गर्दै अहेव रावलले भने । चालकले यात्रुलाई सचेत गराएको केही मिनेटमै विमान खेतमा अवतरण त भयो तर विमानको अघिल्तिरको भाग खेतमा धस्सिँदा चालक दलका दुवै सदस्यले ज्यान गुमाउनु प¥यो ।

एअर काष्ठमण्डपको नाइनएनएजेविको विमान नेपालगन्जबाट नौ जना यात्रु लिएर आज दिउँसो जुम्लाका लागि उडेको थियो । (रातोपाटीबाट) 

प्रकाशित मिति: Friday, February 26, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।