टेरिया डिआइडी लिटिल मास्टर्सको उपाधि उचाल्न सफल

असार–८, रुपन्देहीकी बालिका टेरिया मगरले भारतीय टेलिभिजन च्यानल  जीटिभीको रियालिटी शो डान्स इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर्स–३ को उपाधि जितेकी छन् ।

शनिबार राती भएको फाइनलमा ११ वर्षकी टेरियाले अरु तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । अडिसन राउण्डदेखि नै उत्कृष्ट नृत्य गर्दै आएकी रुपन्देहीकी उनले १४ वर्षसम्मका ४० हजार बालबालिकालाई पछि पार्दै दर्शकबाट सबैभन्दा धेरै भोट पाएर उपाधि जितेकी हुन् । उपाधिसँगै उनले एउटा कारका साथ ५० लाख भारतीय रुपैयाँ  जितेकी छन् ।

रुपन्देही रुद्रपुरको पिसल्याण्ड भूपू सैनिक विद्यालयमा ५ कक्षामा अध्ययन गर्ने टेरियाले बुटवलको बागेश्वरी संगीतालयमा ५ वर्षदेखि नृत्य सिक्दै आएकी थिइन् । प्रतियोगितामा नेपाली मूलकी भारतीय बालिका ८ वर्षकी अनुष्का क्षेत्री दोश्रो हुन सफल भइन् । भारत बेंगलोरका १० वर्षका सद्विन सेट्टी तेश्रो र मुम्बईका १२ वर्षका हार्दिक रुपारेल चौथो भए ।

भारतका बिभिन्न प्रतियोगिताहरुमा नेपाली मूलका भारतीयले सफलता पाए पनि नेपालमा नै जन्मिएर डिआइडी लिटिल मास्टर्सको उपाधि हात पार्ने टेरिया पहिलो नेपाली हुन् । कार्यक्रममा नेपाली परम्परागत पोशाकमा टेरियाका बाबु, आमा र अरु धेरै नेपालीहरु पुगेका थिए । टेरियाले फाइनलमा १७ लाखभन्दा बढी भोट पाइकी थिइन् । टेरियालाइ जिताउन धेरै नेपालीले अनलाइन र टेलिफोन मार्फत भोट दिएका थिए ।
टेरियाकी आमा रुपन्देही रुद्रपुरको पिसल्याण्ड भूपू सैनिक विद्यालयमा क्यान्टिन सञ्चालन गर्नुहुन्छ भने बुबा रोजगारीका क्रमम संयुक्त अरब इमिरेट्सको दुबइमा हुनुहुन्छ ।

प्रकाशित मिति: Sunday, June 22, 2014

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।