युवाशक्ति विदेशिदै गाउँको जमीन बाँझो बन्दै

जेठ–२९, वैदेशिक रोजगारीको सिलसिलामा युवाशक्ति विदेशिएपछि खोटाङका १४ प्रतिशत खेतीयोग्य जमिन बाँझिएको छ । जिल्ला कृषि विकास कार्यालय खोटाङले उपलब्ध तथ्याङ्क अनुसार सिँचित तीन र असिँचित ११ गरी जम्मा १४ प्रतिशत खेतीयोग्य जमिन बाँझिएको हो ।

कृषि कार्यालयका प्राविधिक सहायक रामभक्त अधिकारी भन्नुहुन्छ,–‘यहिक्रम चल्ने हो भने, जिल्लामा खेतीयोग्य जमिन चाँडै नै घाँसे मैदानमा परिनत हुनेछ ।’ अधिकारी थप्नुहुन्छ,–‘वैदेशिक रोजगारीले गर्दा जिल्लाका कृषकहरुले खेती गर्न छाडिसकेका छन् ।’ जिल्लाका अधिकांश युवाहरु रोजगाकारीको सिलसिलामा साउदी, कतार, मलेसिया, दुवाई, बहराईन, कुवेत, ईजरायल, ओमान, दक्षिणकोरिया लगायतका देशहरुमा जानेको गरेको सुरक्षित आप्रवासन सूचना केन्द्रले जनाएको छ । वर्षेनी झण्डै दश हजार जना युवा–युवतीले विदेश जानका लागि राहदानी लिने गरेको तथ्याङ्क जिल्ला प्रशासनले उपलब्ध गराएको छ । 

बढ्दो बेरोजगार र अशिक्षाका कारण युवाशक्ति विदेशिनेक्रम बढेको विज्ञहरु बताउँछन् । विज्ञका अनुसार ब्यवहारिक शिक्षा नभएकै कारण रोजगारी खोज्दै विदेशिनेक्रम दिनानुदिन बढ्दै गएको हो । जिल्लाका प्रत्येक घरका एकदेखि पाँच जनासम्म विदेशीएका छन् । घरमा छोरा मान्छे नभएपछि पूर्खौंदेखि भोकचलन गर्दै आएको जमिनसमेत बाँझो छाड्नुपरेको खार्मी–५ की बुद्धमायाँ राईले बताउनुभयो । उहाँ भन्नुहुन्छ,–‘पहिले त आफ्नो बारी बाँझो रहँदा सबैले खिसी गथ्र्ये, अहिले सबैको उस्तै भएको छ ।’ 

उमेरले ४० नाघेकी बुद्धमायाँको तीन छोरा र श्रीमान विदेशमा छन् । उहाँ भन्नुहुन्छ,–‘श्रीमान त पहिले नै विदेश गएका थिए, छोराहरुले पनि कुनै जागिर नपाएपछि विदेश नै गएका छन् ।’ बुद्धमाया त जिल्लाका एउटा पात्र हुन् । जिल्लाका अधिकांश परिवारको कथा उही छ । उनीहरु भन्छन्,–‘वर्षभरी गरेको खेतीभन्दा घरैमा हरेक चिज आएपछि केका लागि खेती गर्नुप¥यो ।’ 

सडक सञ्जाल बिस्तारपछि घरघरमा चामल, दाल, नुन, तेलजस्ता दैनिक उपभोग्य वस्तु पुगेको छ । उनीहरु भन्छन्,–‘विदेशबाट पैसा आइहाल्छ, नत झरीपानीमा रुझ्नुप¥यो, नत मौषमलाई नै दोष दिनु, आरामले जीन्दगी चलेको छ ।’ कृषि विज्ञहरु भने, जिल्लामा खेतीयोग्य जमिन बाँझिदै गएकोप्रति दुखेसो पोख्छन् । उनीहरु भन्छन्,–‘विदेशमा बगाउने पसिना स्वदेशमै लगानी गरे सबैथोक यही छ ।’ 

साभारः हाम्रो खोटाङ डटकम

प्रकाशित मिति: Thursday, June 12, 2014

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।